कक्षा ११ नतिजाको संकेत, पूरक परीक्षाको नाटक किन ?


गत वैशाख २९ गतेबाट सुरु भई जेठ ८ गते सकिएको कक्षा ११ को वार्षिक परीक्षाको नतिजा परीक्षा सकिएको १ सय २५ औं दिनमा अर्थात् गत असोज ७ गते सार्वजनिक गरियो । त्यसो त विगत वर्षका तुलनामा राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनको कामलाई ढिलो नगरी सम्पन्न गर्ने क्रम शुरु गरेको छ । तर, यो अवधि घटाएर ३ महिना भित्रमा नतिजा प्रकाशन गर्नु आवश्यक छ । नतिजा प्रकाशनको अवधि कति हुनु पर्ने भन्ने बारेमा अरुनै सन्दर्भमा चर्चा गरौंला । यस आलेखमा भने कक्षा ११ को नतिजा विश्लेषणको प्रयत्न गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेबमोजिम नियमित परीक्षार्थी ३ लाख ४९ हजार  ६ सय ३ जना, ग्रेड वृद्धि तर्फ १ लाख ४२ हजार ३ सय ४५ जना र आंशिक अङ्काङ्कनका १७ हजार १ सय ४ गरी यो परीक्षामा कूल ५ लाख ९ हजार ५२ जना परीक्षार्थी सहभागी थिए ।

१. कूल नियमित परीक्षार्थी ३,४९,६०३ मध्ये ३.६१ देखि ४.० जीपीए ल्याउने विद्यार्थी मात्र २ हजार ३ सय १९ जना अर्थात् ०.६६ प्रतिशत हुनुले हाम्रो शैक्षिक स्तरीयता छर्लंग गर्दछ । यो ए प्लस ल्याउने संख्या हो । सँगै ३.२१ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी १३ हजार ७ सय ७२ जना अर्थात् ३.९३ प्रतिशत मात्र हुनु थप दयनीय स्थिति स्पष्ट छ । यो संख्या ए ग्रेढमा उत्तीर्ण हुने संख्या हो । यो संख्याले विज्ञानका विद्यार्थीसमेत कमजोर रहेको तथ्य स्पष्ट हुन्छ नै । वाणिज्यका र शिक्षाका विद्यार्थी त प्रायः यो ग्रेडमा सपना समेत देख्दैनन् । त्यस्तै २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने संख्या ३२ हजार २ सय ५३ अर्थात् ९.२१ प्रतिशत मात्र हुनु अझ लज्जाको विषय बनेको छ । झनै २.४१ देखि २.८ जीपीए ल्याउने विद्यार्थी ५४ हजार ८ सय १६ जना अर्थात् १५.६८ प्रतिशत हुन आउँछ । यस समूहमा बी ग्रेडका परीक्षार्थी अटाएका छन् । यो तथ्यांक सकारात्मक भन्न सकिँदैन । यसले शैक्षिक स्तरियता झनै टाढा बनाएको छ ।

२. परीक्षा बोर्डको सूचना अनुसार २.०१ देखि २.४ जीपीए ल्याउने विद्यार्थी ८४ हजार २ सय ३९ जना रहेको र यो प्रतिशत २४.१ देखिन्छ । यो उत्तीर्ण विद्यार्थीको संख्या हो । राम्रो श्रेणी नदेखिएको तर, औसत उत्तीर्ण भएका परीक्षार्थी यो समूहमा पर्दछन् । त्यस्तै १.६१ देखि २.० जीपीए भएका विद्यार्थी ८९ हजार ६ सय ५० जना अर्थात् २५.६४ प्रतिशत देखिन्छ । यो मात्र उत्तीर्ण समूह हो । सबै कमजोर विद्यार्थी यसमा पर्दछन् । बाँकी ७२ हजार ५ सय ५४ जना विद्यार्थी १.६ जीपीए भन्दा कम भएका अत्यन्त कमजोर समूहमा पर्दछन् । नियमित तर्फका ३ लाख ४९ हजार ६ सय ३ मध्ये २ लाख ७७ हजार ४९ जना १.६१ जीपीएदेखि ४.० जीपीए भित्र पर्दछन् । २.४१ देखि ४.० जीपीए ल्याउने जम्मा परीक्षार्थी १ लाख ३ हजार १ सय ६० जना, जुन २९.५ प्रतिशत हुन्छ । यो समूहलाई राम्रो नतिजा भन्न सकिन्छ । बाँकी ७०.५ प्रतिशत विद्यार्थी मध्ये कमजोर र ज्यादा कमजोर हुनुले हाम्रो कक्षा ११ को नतिजा सन्तोषजनक नभएकै हो ।

३. कक्षा ११ मा ४.० जीपीए नआउने ज्यादा चर्चाको विषय नबन्ला । तर, औसत विद्यार्थीको नतिजाले भने शिक्षा सरोकारवर्गको गम्भीर ध्यानकर्षण गरेको हामीले नजरअन्दाज गर्न मिल्दैन । विज्ञान तथा वाणिज्य संकायका विद्यार्थीको नतिजा ३.० जीपीए नाघ्न जरुरी छ । जब कि यी विषयमा राम्रा भनिएका विद्यार्थी भर्ना हुन्छन् । यो नतिजामा ५ प्रतिशत विद्यार्थीले पनि ३.० जीपीए कटाएको पाइँदैन । यस सम्बन्धमा परीक्षा बोर्डको जिम्मेवारी भिन्न होला, तर शिक्षा मन्त्रालयको अभिभाराले सिधा सम्बन्ध राख्दछ । शिक्षा तथा मानविकी संकायमा जाने विद्यार्थी भनेका अन्य संकायको ढोका बन्द भएकाले मात्र हो । उनीहरुको पृष्ठभूमि नै कमजोर हुने हुनाले राम्रो नतिजाको अपेक्षा गर्न सकिँदैन । एसईई उत्तीर्ण झण्डै १० प्रतिशत विज्ञानमा, ३० प्रतिशत वाणिज्यमा र शिक्षा तथा मानविकीमा लगभग ५० प्रतिशत तथा बाँकी प्राविधिक शिक्षामा प्रवेश गर्ने विद्यार्थीको यो तहको नतिजा सुधारको लागि ठोस र वस्तुगत कारण पहिल्याउन जरुरी छ ।

नतिजा सन्तोषजनक नहुनाका कारण

एउटै कारणले मात्र नतिजा राम्रो नभएको भन्न सकिँदैन । एक दुई मूल कारण र अरु धेरै सहायक कारणले प्रभाव पारेको हुनसक्छ । लेटर ग्रेडिङ प्रणालीको दुरुपयोग पहिलो कारण हुनसक्छ । जब सी ग्रेड भन्दा तलका विद्यार्थीलाई कक्षा प्रमोशन गर्ने भनियो, तब यो समस्या झन् गहिरियो । पाठ्यक्रमले निर्धारण गरेको तोकिएको कक्षाका सबै विषयमा कम्तिमा सी ग्रेड प्राप्त गरेकालाई मात्र कक्षा प्रमोशन गर्ने विधि कार्यान्वयन गर्नैपर्छ । चीन, जापान, कोरिया आदि राष्ट्रमा कक्षा वृद्धि हुन विद्यार्थीले पूर्णाङ्कको ५० प्रतिशत अंक कम्तिमा ल्याउनै पर्छ । कतिपयमा त ६० प्रतिशत भन्दा तल अंक प्राप्त गर्नेलाई कक्षा चढाइँदैन । यसो गर्दा विद्यार्थीको सिकाइ प्रति लगाव बढ्ने, मैले पनि गर्नै पर्छ भन्ने प्रेसरले पनि सिकाइ स्तरलाई राम्रो बनाउन सकिन्छ । हालको सिकाइ स्तरमा शून्य प्रेसर नतिजा बिग्रनुको मूल कारण मानन सकिन्छ । विद्यार्थीमा गणित, विज्ञान तथा सामाजिक र भाषा विषयमा पटक्कै रुचि छैन । गणित प्रति त झन टाढा हुन खोज्ने, यो नपढे÷नसिके पनि कक्षा प्रमोशन हुन्छ भन्ने सोचले विद्यार्थीमा मेहेनत गर्ने बानि खस्केको तथ्य स्वीकार्नै पर्छ ।

सँगै अर्को कारण प्रयोगात्मक अंक पनि हो । शिक्षकबाट सतही रुपमा औपचारिकता पूरा गर्ने परम्परा भएको यी प्रयोगात्मक अभ्यासको कार्यान्वयन पटक्कै भएन । अंक पूरा दिने, सिकाइ शून्य हुने कारणले विद्यार्थी मेहेनतबाट झनै भागिरहेका छन् । मूल्यांकनमा सैद्धान्तिक नै प्रमुख आधार बनाउनु पर्छ । प्रयोगात्मक सहित जोड्दा आजको अवस्था आएको हो । २५ अंक प्रयोगात्मक हुने हुँदा सद्धान्तिकमा कतिपय हचुवामा खाली ठाउँ भर्ने, जोडा मिलाउने, ठिक–बेठिक गर्ने आदिबाट ५ अंक थपिने वित्तिकै जम्मा अंक ३० हुने र यो डी प्लस भए पछि कक्षा चढ्ने यस्तो स्तरहीन, पढ्न/सिक्न नपर्ने मूल्यांकन प्रणालीको परिणाम हो, यो नतिजा । विगत भन्दा आजको शैक्षिक स्तर खस्केकै हो भन्दा प्रतिगामी भइने, तर यथार्थमा आज स्नातक तहका विद्यार्थीलाई ‘भञ्ज्याङ्ग’ शुद्धसँग लेख्न आउँदैन भन्दा नतमस्तक बन्नुपर्ने स्थिति छ ।

पूरक परीक्षाको नाटक किन ?

हिजो पास, फेल हुन्थे । कुनै एक विषयमा नजिक पुगेर फेल हुँदा मौका परीक्षाको कारणले एक वर्ष पर्खिनु पर्दैनथ्यो । आज फेल नहुने परीक्षा हुन्छ । ग्रेडमा तल–माथि मात्र हो । ग्रेड प्रमोशनको अवसरले नतिजा प्रभावित भएको छ । ५ विषयमा दुई विषय मौका दिन पाउने, बढे राम्रै भो नबढे पनि पहिलाको भन्दा घट्दैन । यस्तो खालको नाटक शिक्षामा भए पछि विद्यार्थीले मेहेनत गर्ने किन ?

एसईईको मौका परीक्षा र मूल परीक्षामा फरकै भएन । पूरक अर्थात् मौका परीक्षाको हदै उपहास भएको महसुस गरिएको छ । ग्रेडिङ प्रणालीमा यस प्रकारको परीक्षाको खासै अर्थ रहँदैन । कक्षा ११ को नतिजासँग आगामी कात्तिक ३० गते र मंसिर १ गते मौका परीक्षा तोकिएको छ । शिक्षाका विज्ञहरु यो प्रकारको मौका परीक्षा अर्थहीन भएको टिप्पणी गरिरहेका छन् । राष्ट्रिय परीक्षा बोर्डले यस्ता विषयको सूक्ष्म विश्लेषण गर्न जरुरी छ । किन गर्ने र गर्नै पर्दा कसरी गर्ने भन्ने सवालमा राम्रै बहस र अन्तरक्रिया हुनुपर्छ । तथ्य र वास्तविकतालाई अध्ययन नगरी सतहमा केही मान्छेलाई विजनेश दिन धेरैको समय र साधन खर्च गर्नु उपयुक्त होइन ।

अन्तमा, परीक्षा धेरै भए । नतिजा पनि धेरै हेरियो । अझ धेरै परीक्षा हुनेछन् । कतिपय प्रयोगबाट सिक्ने हो भने कतिपय असल अभ्यास गरेका अन्य मुलुकबाट पनि सिक्न सकिन्छ । गर्न राम्रो खोज्ने हो भने थप अनुसन्धान, विश्लेषण गर्नै पर्छ । सधैं बिरालो बाँध्ने श्राद्ध गरेर मात्र नतिजा राम्रो हुँदैन । हामी शिक्षामा कहाँ पुग्नुपथ्र्यो, अहिले कहाँ छौं, कारण के के हुनसक्छन् ? सँगै उपायहरु हामीले अवलम्बन ग¥यौं कि छैन ? यी सबालमा फुर्सद लिएर सूक्ष्म विश्लेषण गर्नैपर्छ । अन्यथा हालको शिक्षा अवस्था, मूल्यांकन प्रणाली, परीक्षा, नतिजा तथा मौका परीक्षा जस्ता महत्वपूर्ण विषयलाई सधैं परम्परागत विधिमा लागू गर्नाले अपेक्षित नतिजा प्राप्त नहुने तथ्य प्रमाणित भइसकेको छ ।