Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षा सुधारमा प्रतिवद्धता, सार्क स्तरीय बैठक नेपालमा गर्ने प्रस्ताव अनुमोदन

विहीबार, २३ असोज २०७६

काठमाडौं - शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षाका साझा सवालमा सार्क स्तरीय सामूहिक प्रयास प्रति नेपाल निरन्तर लागि रहने प्रतिवद्धता जनाएका छन् । माल्दिभ्सको राजधानी मालेमा बिहीबार सम्पन्न सार्क स्तरीय शिक्षा मन्त्रीहरुको तेस्रो बैठकमा सम्बोधन गर्दै मन्त्री पोखरेलले दक्षिण एशियाको विविधताको विषय उल्लेख गर्दै उच्च शिक्षाको सुधार र गुणस्तरका लागि साझा प्रयास आवश्यक पर्ने बताए ।

इञ्चोन घोषणा यताका करीव चार बर्षमा भएका प्राविधिक अभ्यास र छलफलका उपलब्धिहरुको प्रसंशा गर्दै आगामी दिनमा शिक्षाका साझा सवालमा  सामूहिक प्रयासमा नेपाल निरन्तर लागि रहने उनको प्रतिवद्धता छ । नेपालको संविधानले गरेको शिक्षा सम्वन्धी अधिकार, साक्षरता अभियान, सार्वजनिक शिक्षालयहरुको रुपान्तरण दशकका विषयमा नेपालले अघि सारेका नीतिगत विषय र अनिवार्य तथा निशुल्क शिक्षा सम्वन्धी ऐनले गरेको ब्यवस्थाको उनले चर्चा गरेका थिए । वर्तमान सरकारले लिएको समृद्ध नेपाल खुशी नेपालीको अभियान सहित शिक्षामा नेपालले चालेका सुधारका प्रयत्नहरुको विषयमा उनले आफ्ना धारणा व्यक्त गरेका उनको सचिवालयले जनाएको छ ।

बैठकले दिगो विकासका लागि सार्क राष्ट्रहरुको कार्य ढाँचा अनुमोदन गर्दै सर्वव्यापी प्राथमिक शिक्षा, शिक्षामा सबै प्रकारका लैङ्गिक विभेदको उन्मुलन सबै तहको शिक्षामा गुणस्तर सुधार लगायतका विषयमा पुनः प्रतिवद्धता जाहेर गरेको छ । बैठकले यो सहित दिगो विकासको लक्ष्य ४ अर्थात् सन् २०३० सम्मको शिक्षाका लक्ष्यहरुको प्राप्तिका लागि सदस्य राष्ट्रहरु बीचको सहकार्यलाई सुदृढ वनाउँदै सार्क फ्रेमवर्क फर एक्सनलाइ प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने सहितका १० बुँदे माले घोषणा पत्र जारी गरेको छ ।

बैठकको पूर्व सन्ध्यामा विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष र सो सरहका पदाधिकारीहरुको प्राविधिक बैठक बुधबार मालेमा नै सम्पन्न भएको थियो । उक्त बैठकले सार्क फ्रेमवर्क फर एक्सनलाइ अन्तिम रुप दिइ आवश्यक निर्णयका लागि मन्त्रीस्तरीय बैठकमा पठाउने निर्णय गरेको मन्त्रीका स्वकीय सचिव पुरण केसीले जानकारी दिए ।

यसै बीच मन्त्री पोखरेलले गरेको आगामी सार्क शिक्षा मन्त्रीहरुको चौथो बैठक नेपालमा गर्ने प्रस्ताव सर्वसम्मतले अनुमोदन गरेको छ । समय तालिका भने सार्क सचिवालयसँग समन्वय गरेर तय हुने केसीले जानकारी दिए ।

फोटो : शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्माको फेसबुकबाट

प्रतिक्रिया