Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

विदेश पढ्न जाने विद्यार्थीलाई सुविधा : अनलाइनबाटै एनओसी

विहीबार, ३० असोज २०७६

काठमाडौं ३० असोज / वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीले अनलाइनबाटै नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पाउने भएका छन् । हरेक वर्ष विदेश पढ्न जाने विद्यार्थीको संख्या बढ्दै गएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन माध्यमबाट अनुमतिपत्र दिन लागेको हो ।

आगामी मंसिर पहिलो सातादेखि अनलाइनबाट वैदेशिक अध्ययन अनुमतिपत्र दिइने मन्त्रालयका उच्चशिक्षा महाशाखाका सहसचिव रामशरण सापकोटाले जानकारी दिए । अहिले एनओसी लिन मन्त्रालयको एनओसी शाखामा लाम लाग्नुपर्ने बाध्यता छ । आवेदन दिने सबैले एनओसी पाउँदैनन् । सापकोटाले भने, ‘विद्यार्थीले अनलाइनबाटै अनुमतिपत्र पाउँछन् ।’ अनलाइनमार्फत पाएको अनुमति प्रिन्ट गरेर विद्यार्थीले आफ्नो प्रयोजनका लागि सम्बन्धित निकायमा बुझाउन सक्नेछन् ।

दस्तुरसमेत बैंकबाटै बुझाउने व्यवस्था गरिने भएको छ । शुल्क बुझाएको बैंक भौचर, आवेदन, शैक्षिक प्रमाणपत्र, अफर लेटरसहितका आवश्यक कागजात विद्यार्थीले अनलाइनबाटै शाखामा पठाउनुपर्नेछ । राष्ट्रिय परीक्षा बोर्ड र विश्वविद्यालयमा समेत सफ्टवेयर लिंक गरेर शैक्षिक प्रमाणपत्रको जाँचलगायत परीक्षण गरिने शाखाले जनाएको छ ।

कान्तिपुरमा प्रकाशित खबर अनुसार  

प्रतिक्रिया