Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

छापामा शिक्षा : प्रवेश परीक्षाको नतिजा टुंगो नलाग्दा बिदेशिए विद्यार्थी

शुक्रबार, ०१ कार्तिक २०७६

काठमाडौं १ कात्तिक / एमबिबिएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको २५ दिनसम्म पनि काउन्सिलिङको टुंगो नलाग्दा विद्यार्थीहरू अध्ययनका लागि बिदेसिन थालेका छन् । दसैँयता सयभन्दा बढी विद्यार्थी एमबिबिएस पढ्न बिदेसिए शिर्षकमा नयाँ पत्रिकामा अर्जुन अधिकारीले लेखेको खबर अनुसार  मेडिकल शिक्षामा देखिएको विवाद र अन्योलका कारण विद्यार्थीहरू अध्ययनका लागि धमाधम बिदेसिन थालेको नेपाल मेडिकल काउन्सिलको तथ्यांकले देखाएको छ । दसैँयता मात्रै एक सयको संख्यामा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले लिएको प्रवेश परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरू एमबिबिएस अध्ययन गर्न बिदेसिएका छन् । 

काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माका अनुसार काउन्सिलबाट स्वीकृत लिने अधिकांश विद्यार्थी अध्ययनका लागि बंगलादेश गएका छन् । सरकारी तथा सामुदायिक कलेजमा ७५ प्रतिशत छात्रवृत्ति अनिवार्य लागू गर्नुपर्ने विषयले पनि काउन्सिलिङमा ढिला भएको सरकारी अधिकारीहरूले बताएका छन् । चिकित्सा शिक्षा आयोगले ७५ प्रतिशत छात्रवृत्ति दिन आधिकारिक पत्र पठाउन ढिला गरेकाले समस्या आएको आइओएम स्रोतले जनाएको छ । 

एमबिबिएस अध्ययनमा समस्या देखिन थालेको भन्दै प्रवेश परीक्षामा एक सय नम्बरभित्र परेका विद्यार्थीले नै विदेश जान काउन्सिलको स्वीकृत लिएका छन् । काउन्सिल सदस्य डा. कालुसिंह खत्रीका अनुसार दैनिक २० देखि २५ जना विद्यार्थीले स्वीकृति लिन थालेका छन् । आइओएमले तत्काल काउन्सिलिङ नगरे यो संख्या अझ तीव्र रूपले बढ्ने उनीहरूको भनाइ छ । 

आइओएमका डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालका अनुसार नौ हजार विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएकोमा चार हजार तीन सय पास भएका थिए । विद्यार्थीको काउन्सिलिङ नहुँदा मेडिकल कलेजको सिट निर्धारणसमेत रोकिएको छ । गत ३ असोजमा लिएको परीक्षाको नतिजा ६ गते सार्वजनिक भएको थियो । डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले काउन्सिलिङको मिति चाँडै तय गर्ने बताए । ‘मेडिकल कलेजहरूको सिट दसैँअगाडि नै तोक्नुपर्ने थियो, तर आन्तरिक कारणले काउन्सिलिङ रोकिन पुग्यो,’ उनले भने । 

प्रतिक्रिया