Edukhabar
शनिबार, २२ बैशाख २०८१
खबर/फिचर

शिक्षक नियुक्तिमा रोक लगाए पनि खुल्यो विज्ञापन

सोमबार, ०४ कार्तिक २०७६

लम्जुङ् - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारलाई सामुदायिक विद्यालयमा शिक्षक नियुक्त गर्न रोक लगाएको एक साता पनि नबित्दै मध्यनेपाल नगरपालिका भोर्लेटारले शिक्षकको विज्ञापन खोलेको छ । प्रस्तावित माध्यमिक विद्यालयमा करारमा शिक्षक नियुक्ति गर्नु पर्ने भएकोले विज्ञापन खोलेको नगरपालिकाले जनाएको छ । मावि तहको गणित विषयका लागि ३, विज्ञान विषयका लागि २, नेपाली विषयका लागि १ र नेपाली विषयकै निमावि तहका लागि १ जना गरी ७ पदमा विज्ञापन गरिएको हो ।  

माविका लागि सम्बन्धित विषयमा स्नातक र निमाविका लागि कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हुनु पर्ने भन्दै गरिएको उक्त विज्ञापनमा अध्यापन अनुमति पत्र अनिवार्य योग्यता उल्लेख गरिएको छ ।  माविका लागि ३५ हजार ९ सय ९० र निवाविका लागि २८ हजार २ सय तलब स्केल सहित गरिएको सो विज्ञापनमा उक्त श्रोत यस बर्षको लागि विनियोजित रकमबाट व्यवस्थापन गर्ने उल्लेख छ । 

आगामी आर्थिक बर्षको असार सम्मका लागि एक बर्षे करारमा नियुक्त गरिने उक्त पदमा कात्तिक १८ गते भित्र आवेदन दिन भनिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयको आधारमा भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति नगर्न भन्दै गत असोज २९ गते देशभरका पालिकालाई परिपत्र गरेको थियो । 

पर्साको जगरनाथ गाउँपालिकाद्वारा राहत शिक्षक र बालविकास केन्द्रमा सहयोगी नियुक्ति गरेको विरुद्धमा अख्तियारमा परेको उजुरीका सम्बन्धमा भएको निर्णयलाई आधार मान्दै मन्त्रालयले उक्त निर्देशन दिएको थियो । 

पढ्नुहोस् : स्थानीय सरकारलाई शिक्षक नियुक्ति गर्न रोक, अख्तियारको निर्णय देखाएर संघीय मन्त्रालयको परिपत्र

संविधानले विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत हुने व्यवस्थाको विरुद्ध हुने गरी मन्त्रालयले गरेको  उक्त परिपत्र स्थानीय सरकारको अधिकार कटौती गर्ने प्रपञ्च भएको भन्दै आलोचना भईरहेको छ । 

प्रतिक्रिया