Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

३२ वर्षे उमेर हद कार्यान्वयन गर्न माग

बुधबार, ०६ कार्तिक २०७६

काठमाडौं - ३२ वर्ष उमेर हद कार्यान्वयन गर्न माग गर्दै नेपाल विद्यार्थी संघका विधान पक्षधर विद्यार्थीले नेपाली कांग्रेसका केन्द्रिय नेताहरुको ध्यानाकार्षण गराएका छन् । ६ महिना देखि नेतृत्व विहीन भएको संघको १२ औं महाधिवेशन कहिले गर्ने भन्ने पार्टिले टुङ्गो नलाईरहेको अवस्थामा नेतृत्वबाट लोकतान्त्रिक मूल्य र मान्यतालाई ध्वस्त पारी विधान विपरित संघको तदर्थ समिति गठन गर्ने प्रयास भएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरुले संघलाई वृद्ध संघ बनाउने चेष्टा गरेको आरोप समेत लगाएका छन् । 

नेविसंघका निवर्तमान केन्द्रिय सदस्य नवराज त्रिपाठीले विधान बमोजिम नै संघको तदर्थ समिति बनाउनु पर्ने आफूहरुको मुख्य माग रहेको बताए ।

‘हाम्रो पार्टीका सभापति शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री बन्दा ४९ वर्षको हुनुहुन्थ्यो' उनले भने 'तर अहिले नेविसंघको तदर्थ समितिको नेतृत्व ५० वर्ष नाघेको व्यक्ति बनाउन खोज्नु गलत हो ।’ 

नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति सचिव योगेन्द्र रावलले नेतृत्वको तयारी आफूहरुलाइ अमान्य रहेको बताउँदै उक्त कार्य उर्जाशील विद्याथीमाथिको अपमान भएको दावी गरे । 

पार्टि सभापति देउवाले गत आइतबार रामचन्द्र पौडेल सहितका नेताहरूसँगको  छलफलमा झण्डै ५० वर्ष उमेरका सुनसरीका राजीव ढुंगानाको नाम प्रस्ताव गरेका थिए ।  उनको प्रस्तावमा नेता रामचन्द्र पौडेलले असहमति जनाए पनि उनले प्रस्ताव गरेका मनोजमणि आचार्यको उमेर समेत ४० वर्षभन्दा माथि छ । नेताहरुका यस्ता छलफल पछि संघका विधान पक्षधर कार्यकर्ताले आपत्ति जनाउँदै आएका छन् । 

'नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संशोधन २०७५ को भाग २, धारा ५ को उपधारा ५ मा भएको ‘३२ वर्ष उमेर पूरा भएको व्यक्ति नेपाल विद्यार्थी संघको सदस्य हुन पाउने छैन’ भन्ने व्यवस्था बमोजिम १६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको, ४० जिल्लामा तल्लो तहको अधिवेशन सम्पन्न भैसकेको र बाँकी २१ जिल्ला अधिवेशनउन्मुख रहेको वर्तमान परिप्रेक्ष्यमा नेपाली कांग्रेस नेतृत्वबाट नेपाल विद्यार्थी संघलाई नेपाल बृद्ध संघ बनाउने चेष्टा गर्नु लोकतन्त्रको उपहास हो भन्ने ठहर गरेका छौं ।’ विधान पक्षधर विद्यार्थीहरुद्वारा जारी विज्ञप्तीमा भनिएको छ,

संघको विधानमा व्यवस्था भएको ३२ वर्ष उमेर हद कार्यान्वयन गरी नेविसंघ तदर्थ समिति गठन गर्नुपर्ने उनीहरुको माग छ । विधानअनुसार तदर्थ समिति गठन नभए नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपामा आमरण अनशन सुरु गर्ने पनि उनीहरुको चेतावनी छ । 

निर्वाचित अध्यक्ष नैनसिंह महरले राजीनामा दिएको ६ महिना पछि कांग्रेस सभापति देउवाले ६ महिना भित्र महाधिवेशन गर्ने गरी तदर्थ समिति गठनको गृहकार्य थालेका छन् । 

प्रतिक्रिया