Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

शिक्षा मन्त्रालयको आवेदन आह्वान, एमयूमा आवेदक त्रिविका

बुधबार, २० कार्तिक २०७६

काठमाडौं २० कात्तिक / मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को उपकुलपतिका लागि उक्त विश्वविद्यालयका चार जनाले मात्र आवेदन दिएका छन् । शिक्षा मन्त्रालयले कात्तिक ९ मा आवेदन आह्वान गरेकोमा २७ जनाले आफ्नो विवरण पेस गरेका छन् । कान्तिपुरमा एमयूमा आवेदक त्रिविका शिर्षकमा छापिएको खबर अनुसार तीमध्ये अधिकांश त्रिभुवन विश्वविद्यालयका रहेको मन्त्रालयले जनाएको छ ।

एमयूका प्राध्यापकहरू केशरसिंह राना, दीपबहादुर रावल, खोपीराम लम्साल र अनन्तप्रसाद घिमिरेले आवेदन दिएका छन् । यीमध्ये विश्वविद्यालय सेवा आयोगका सदस्य राना र अनुसन्धान केन्द्रका निर्देशक रावलले विद्यावारिधि गरेका छन् । दुवै जना विश्वविद्यालयका पूर्वडिन हुन् । प्राध्यापक लम्साल मानविकी तथा सामाजिकशास्त्र र सहप्राध्यापक घिमिरे इन्जिनियरिङ संकायका डिन छन् । हालका निमित्त उपकुलपति तथा व्यवस्थापन संकायका डिन रहेका त्रिविका सहप्राध्यापक मस्तबहादुर गरंजा र विज्ञान संकायका डिन देवबहादुर खड्काले पनि आवेदन दिएका छन् ।

मन्त्रालयका शाखा अधिकृत विश्वास रोकामगरका अनुसार त्रिविका नन्दबहादुर सिंह, विजय सिलवाल, बालमुकुन्द भण्डारी, प्रल्हाद कार्की, पर्शुराम मिश्र, यादव लामिछाने, विष्णुराज तिवारी, केशवराज पाण्डे, गोविन्द सुवेदी, विनयकुमार मिश्र, मोदराज बगालेलगायतले आवेदन बुझाएका छन् । आवेदनसाथ थुप्रै डकुमेन्टसमेत आएकाले विवरण तयार गर्न केही दिन लाग्ने उनले बताए ।

८ वर्षअघि स्थापना भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका महत्त्वपूर्ण पदाधिकारीमा एमयूबाहिरका जनशक्तिको बाहुल्यता रहँदै आएको छ । उनीहरू काजमा आउने गर्छन् । निमित्तसमेत गर्दा हालसम्म चारजना उपकुलपति, तीनजना रजिस्ट्रार र १५ जना डीन गरी २२ जना व्यक्ति पदाधिकारी नियुक्त भएकामा एमयूका ६ जना मात्रै परेका छन् । अहिले पनि निमित्त उपकुलपतिमा त्रिविका गरंजा र निमित्त रजिस्ट्रारमा त्रिविकै यामबहादुर कार्की छन् ।

प्रतिक्रिया