Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

दिनहुँ प्रदर्शन

सोमबार, २५ कार्तिक २०७६

काठमाडौं २५ कात्तिक / चिकित्सा शिक्षाका वेथिती विरुद्ध सत्याग्रहमा उत्रिएका प्रा.डा. गोविन्द केसीका पक्षमा दिनहुँ प्रदर्शन जारी छन् । उक्त घटनाका बारेमा काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाले विभिन्न कोणबाट खबर छापेका छन् ।

नागरिकमा डा. केसीका पक्षमा दिनहुँ प्रदर्शन शिर्षकमा पुष्कर भण्डारी ले लेखेको खबर अनुसार सरकारसँग सात बुँदे माग राख्दै एक सातादेखि डडेल्धुरामा १७ औं सत्याग्रह थालेका डा. गोविन्द केसीले सरकारले दम्भ देखाउँदा चिकित्सा क्षेत्रमा सुधार हुन नसकेको बताएका छन। सञ्चारकर्मीले आइतबार राखेको जिज्ञासामा उनले यस्तो बताएका हुन्। सरकारले माग पूरा गर्नुको साटो जबरजस्ती गर्दै आएको आरोप लगाउँदै उनले चिकित्सा क्षेत्रमा देखिने सुधार नगरे अझै कडा माग राख्ने जानकारी पनि गराए। स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई अनशनस्थलबाट डडेल्धुरा अस्तालमा लगिएको छ।

केसीले प्रत्येक नागरिकले शिक्षा र स्वास्थ्य निःशुल्क रूपमा पाउनुपर्ने बताउँदै जनताको मालिक होइन, सेवक भएर सरकार चलाउन जनताले नेकपालाई भोट दिएको स्मरण गराए। उनले भने, ‘तर जनअपेक्षाविपरीत कम्युनिस्ट सरकार माफियाहरूसँग मिलेको छ।’

केसीका सबै माग सरकारले तत्काल पूरा गर्नुपर्ने भन्दै नागरिक समाजको अगुवाइमा विभिन्न संघ–संस्था तथा डडेल्धुरावासीले ६ दिनदेखि प्रदर्शन गर्दै आएका छन। चिकित्सा शिक्षा क्षेत्रमा सुधार एवं सरकारले आफूसँग विगतमा गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने मागसहित केसीले १७ औं सत्याग्रह डडेल्धुराबाट थालेका हुन।

केसीले सत्याग्रह थालेको आइतबार सात दिन पुगेको छ। उनका माग जायज रहेको र सरकारले पूरा गर्नुपर्ने भन्दै डडेल्धुरास्थित संघ–संस्था, समाजसेवी अगुवाहरूले सत्याग्रहप्रति समर्थन जनाउँदै आएका छन। माग सम्बोधनका लागि सरकारले कुनै प्रतिक्रिया नदिएको भन्दै डडेल्धुरा सदरमुकाममा ६ दिनयता लगातार प्रदर्शन हुँदै आएको छ।

केसीले आमरण अनशनप्रति सरकारले कुनै प्रतिक्रिया नजनाएपछि जिल्ला सदरमुकाम बागबजारमा आइतबार झुरो (दियालो) जुलुस निकालिएको छ। विद्युत नभएका बेला सुदूरपश्चिमवासीले झुरो बालेर उज्यालो बनाउँथे। सल्लाको रुखबाट निकालिने झुरो उज्यालोका लागि प्रयोग गरिन्छ। सरकार अध्याँरोमा सुतेकाले ब्युँझाउन झुरो बालेर जुलुस निकालिएको नेपाल चेम्बर अफ कमर्सका सुदूरपश्मिच प्रदेश संयोजक प्रकाश साउदले बताए।

प्रतिक्रिया