Edukhabar
शनिबार, १५ बैशाख २०८१
अन्तैवाट

निरक्षर हुुनुको पीडाले जीवनमा धेरै लखेट्यो

बुधबार, २७ कार्तिक २०७६

काठमाडौं २७ कात्तिक / “निरक्षर हुुनुको पीडाले जीवनमा धेरै लखेट्यो, पसल थाप्यो, सामानको नाम चिनेर बेच्न नसक्ने, बल्लतल्ल सामान बेच्यो, सामानको बिल बनाउन ग्राहकलाई नै गुहार्नुपर्ने, जहाँ गयो त्यहीँ साक्षर नहुनुको समस्याले मुटुमा घोचिरह्यो । ” यी भनाइ हुन् गठ्ठाघरस्थित आस्था महिला विद्यालयमा अध्ययनरत शारदा खड्काका ।

गोरखापत्रमा ‘नपढेर बाहिरी आँखाले मात्र देख्नुको अर्थ रहेनछ’ शिर्षकमा शिवा तामाङले लेखेको खबर अनुसार व्यावहारिक जीवनमा आएका यी समस्याबाट पार पाउन खड्काले पढ्ने अठोट गर्नुभयो । उहाँको पढ्ने रहरलाई गठ्ठाघरस्थित आस्था महिला विद्यालयले साकार पार्न सहयोग गरेको छ । “नपढेर बाहिरी आँखाले मात्र दुनियाँ देख्नुको केही अर्थ रहेनछ भन्ने निष्कर्षसहित आस्था महिला विद्यालय टेकेको दिन म निकै फुरुङ्ग भएँ”, उहाँले भन्नुभयो । मनैदेखि मेहनत गरी पढ्ने सङ्कल्पसहित क, ख, ग देखि नै पढ्न थाल्नुभएका खड्का अहिले कक्षा १० मा अध्ययन गर्नुहुन्छ ।

चार दशक पार गर्नुभएकी खड्का सधैँ पहिलो नम्बरमा हाजिरी कायम गर्न सफल हुनुहुन्छ । ध्यान दिएर पढ्ने बानीले उहाँ पढाइमा अब्बल हुनुहुन्छ । उहाँका दुई छोराले उच्च शिक्षा पूरा गर्न लाग्दा उहाँ कक्षा १० मा पढ्दै हुनुहुन्छ । उहाँको अठोट छ– पढाइलाई निरन्तर अगाडि बढाउने ।

आफूलाई पढ्न प्रेरित गर्ने घटनाहरू सम्झँदै उहाँ भन्नुहुन्छ, “सहकारीमा ऋण लिन जाँदा फाराम भर्न लगाए । लेख्न जान्दिनँ भन्दा मान्छे स्मार्ट देखिनुहुन्छ त पढेको छैन ? भन्ने प्रश्नले मुटु नै छियाछिया परेको अनुभवले शिक्षाको उज्यालोको महŒव बुझ्ने चासो बढायो । ”

त्यस्तै अहिले ५२ वर्ष पुग्नुभएका गोमा बस्नेतको पढाउने सर्तमा विवाह भएको थियो । पढ्न जाँदा सासूआमाले पढाउन ल्याएको कि काम गर्न भन्ने बचन लगाउनुभयो । छिट्टै गर्भ पनि रह्यो । तिनै कारणले पढाइ बीचैमा छुट्यो । पाँच छोरी र एक छोरा हुर्काएँ । बाँकी जीवन आफ्ना लागि जिउँछु भन्ने सोचले पढ्ने धोको पूरा गर्न आस्था महिला विद्यालयमा भर्ना हुनुभएको छ ।

प्रवेश परीक्षा दिएर ६ मा पढ्न थालेँ, उहाँ भन्नुहुन्छ । आफ्ना नाति नातिनालाई धेरै दिनका लागि मामाघर नपठाउनु, मेरो गृहकार्य गर्नुपर्छ भन्नसमेत उहाँ पछि पर्नुहुन्न ।

सिन्धुपाल्चोककी २५ वर्षीया रोशनी दोङ विदेशमा ६ वर्ष बसेर आउनुभयो । नेपाल फर्केपछि आस्था महिला विद्यालयमा भर्ना भएर आफ्नो पढाइ पूरा गर्न थाल्नुभएको छ । यसरी विविध कारणले पढाइलाई निरन्तरता दिन नसकेका महिलालाई पढाइ अगाडि बढाउन महिला विद्यालयले सहयोग गर्दै आएको छ । यस्ता विद्यालयले लाखौँ महिला तथा किशोरीको शिक्षा प्राप्त गर्ने सपना साकार पार्न अवसर प्रदान गरेको छ । विभिन्न पेसा व्यवसाय गर्दै, घरपरिवार सम्हाल्दै शिक्षित हुने रहरलाई पूरा गर्न उक्त विद्यालयहरू सारथि बनेको छ ।

महिलालाई शिक्षित बनाउने लक्ष्यका साथ खुलेका सो स्कुलमा हाल १४ वर्षदेखि माथिका गृहिणी, विविध पेसा व्यवसायमा आबद्ध दुई सय महिला पढ्दै छन् । त्यस्तै, सोह्रखुट्टेस्थित नमुना महिला विद्यालयमा एक सय जना अध्ययरत छन् ।

आस्था स्कुलका संस्थापक प्रधानाध्यापक पार्वती ज्ञवालीले औपचारिक शिक्षाको ज्ञान र प्रमाणपत्रको अभावमा कतिपय महिला दिदीबहिनी अवसरबाट वञ्चित हुनुपरेको पीडालाई ध्यानमा राखेर विद्यालय खोलेको अनुभव सुनाउनुभयो । उहाँले सातदोबाटोमा रहेको प्रेरणा महिला विद्यालयमा आएका विद्यार्थीको ठूलो सङ्ख्या देखेर विद्यालय खोल्न प्रेरित भएको बताउनुभयो ।

त्यसपछि उहाँले बुटवलमा साधना महिला विद्यालय स्थापना गर्नुभयो । पछि काठमाडौँ आएपछि भक्तपुर गठ्ठाघरमा आस्था महिला विद्यालयको स्थापना गरेको उहाँ बताउनुहुन्छ । बुटवलमा साधना र गठ्ठाघरको आस्था महिला विद्यालय सफलताका साथ चलिरहेका छन् ।

आस्थाका प्रधान अध्यापक वीणा देउजाका अनुसार महिला विद्यालयमा पढ्न आउने सबै विद्यार्थी पढ्नमा तेज छन् । एसईईमा बी प्लस ग्रेडमा उत्तीर्ण हुन्छन् । पहिले एसएलसी हुँदा पनि पहिलो, दोस्रो श्रेणीमै विद्यार्थी उत्तीर्ण हुन्थेँ ।

गत वर्ष १७ जनाले एसईई परीक्षा दिएकोमा सबै उत्तीर्ण भएको जानकारी दिनुभयो । त्यस विद्यालयबाट हालसम्म १३० जनाले एसईई परीक्षा उत्तीर्ण गरिसकेका छन् । त्यसैगरी विगत १३ वर्षदेखि महिला दिदीबहिनीको पढ्ने सपना पूरा गर्न साथ दिँदै आएका नमुना विद्यालयमा हाल एक सय जना अध्ययनरत छन् । पुरुषले हामीलाई पनि पढाइदिनुप¥यो भन्न आउँछन् ।

पुरुषका लागि पनि यस्तै स्कुलको अवधारणा ल्याउनेबारे सोच्नुपर्ने हो कि ? उहाँ प्रश्न गर्नुहुन्छ । सातदोबाटोस्थित प्रेरणा महिला माध्यमिक विद्यालय, सोह्रखुट्टेस्थित नमुना महिला विद्यालय, चाबहिलस्थित ज्ञानज्योति माध्यमिक विद्यालय, गोँगबुस्थित चेतना महिला विद्यालयलगायत देशभर अनौपचारिक पौढ विद्यालयको सङ्ख्य १७३ वटा स्थापना भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक दिनेश घिमिरेले जानकारी दिनुभयो ।

उहाँले यस्ता विद्यालयले साक्षरको सङ्ख्या वृद्धि गर्नुका साथै महिलाले साक्षर भएर पेसा व्यवसाय सफलताका साथ चलाउन विशेष योगदान पु¥याएको बताउनुभयो ।

प्रतिक्रिया