Edukhabar
बुधबार, ०२ जेठ २०८१
खबर/फिचर

विद्यालय सुधार्ने शिक्षककै उपाय : २/२ बर्षमा आफ्नै सरुवा

विहीबार, २८ कार्तिक २०७६

सुनसरी - कम्तिमा पनि २/२ बर्षको अन्तरालमा शिक्षकको सरुवा गर्ने हो भने सामुदायिक विद्यालयको शिक्षण सिकाइ सुधार हुने शिक्षक स्वयंले बताएका छन् । ईनरुवा नगरपालिका क्षेत्र भित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरु  बीच बुधबार भएको छलफलमा उनीहरुले स्थायी शिक्षकका रुपमा एक पटक जागिर खाए पछि कसले निकाल्न सक्छ र ? भन्ने दम्भले गर्दा शिक्षण सिकाइ सुधार हुन नसकेको निष्कर्श सुनाएका छन् ।

स्थायी शिक्षकका रुपमा एक पटक सेवा प्रवेश गरे पछि शिक्षकहरु मलाई कसले के गर्छ ? भने जस्तो गरी  दादागिरी शैलीमा समूह नै बनाएर उत्रने गर्दा सामुदायिक विद्यालयको सुधार हुन नकसकेकोले सरुवाको विकल्प नभएको नगरपालिकाको शिक्षा समितिका सदस्य समेत रहेका शारदा माविका प्रधानाध्यापक तिर्थराज भट्टराईले बताए ।

'आफ्नै साथीहरुको कुरा काटे जस्तो हुन्छ तर, यो विद्यालयको यो शिक्षक भन्नै पर्दैन, नगरपालिका क्षेत्र भित्रका सामुदायिक विद्यालयका अधिकाँश स्थायी शिक्षकमा दादाागिरी शैली हावी छ' उनले भने 'शिक्षकलाई दुःख नदिने मनशायले हरेक २ २ बर्षमा सरुवा गर्ने हो भने आधा समस्या हल हुन्छ ।'

अर्का प्रधानाध्यापक नारायण मेहताले पनि एक पटक स्थायी भएपछि जागिरबाट कसले निकाल्न सक्छ ? भन्ने भावना विद्यालय सुधारको बाधक भएको दावी गरे ।

जन एकता आधारभुत विद्यालयका प्रधानाध्यापक बोधराज घिमिरेले देशको व्यवस्था र अवस्था परिवर्तन भए पनि शिक्षकहरुमा समयानुकुल क्षमता अभिवृद्धि गर्ने चासो र ईच्छा शक्ति नभएकाले सुधार नभएको तर्क गरे । त्रिभुवन माविका प्रधानाध्यापक जागेश्वर साहले विज्ञान प्रयोगशाला लगायताक प्रविधि प्रयोगमा शिक्षकहरु अपग्रेड हुन जरुरी हेको बताए । जनता आधारभूत विद्यालयका प्रअ राजेश ढुङ्गेलले विद्यालय प्रति जनप्रतिनिधिको चासो कम भएकाले समस्या बढेको तर्क गरे । पभगवती माविकी प्रधानाध्यापक गंगा पौडेलले शिक्षकहरु माथिको लगानीमा राज्यले ध्यान नदिदाँ यो अवस्था आएको बताईन् । बालमन्दिर माविका प्रअ सत्यनारायण मेहता सामुदायिक विद्यालय भद्रगोल हुनुका पछाडी अरुलाई दोष दिने काण रहेको बताए । सबैले आआफ्नो काम गर्ने हो भने सुधार हुने बताउँदै उनले जनप्रतिनिधि, कर्मचारी र शिक्षकका सन्तान सामुदायिक विद्यालयमा पढाउने व्यवस्था गर्ने हो भने मात्रै पनि विद्यालय प्रति चासो बढ्ने र सुधार हुन दावी गरे ।

यूनेस्को लगायतका विकास साझेदार संस्थाहरुको सहयोगमा विदेह फाउण्डेशनले गरेको उक्त कार्यक्रममा अधिकाँश शिक्षकहरुको एउटै तर्क थियो स्थानीय सरकारले शिक्षा भन्दा धेरै चासो भौतिक निर्माणमा दिदाँ पनि समस्या बढ्दै गएको हो । सार्वजनिक विद्यालय सुधार गर्ने हो भने लगानी वृद्धि र उचित व्यवस्थापनमा ध्यान दिन स्थानीय सरकार गम्भिर हुनु पर्ने उनीहरुको सुझाव  छ ।  नगरपालिका भित्र ३२ सामुदायिक विद्यालय छन् ।

कार्यक्रममा विदेहका कार्यकारी प्रमुख राघव प्रताप ठाकुरले विद्यालय सुधारको मुख्य जिम्मा शिक्षककै भएको र संविधानले विद्यालय तह सम्मको शिक्षाको अधिकार स्थानीय सरकार अन्र्तगत गरेको सन्दर्भमा दुई पक्ष बीचको समन्वयबाट मात्रै सुधार सम्भव हुने बताए । शिक्षकहरुको उक्त सुझावहरुलाई निकट भविष्यमै जनप्रतिनिधिहरुसँग हुने छलफलमा प्रस्तुत गरी स्थानीय सरकारलाई सुरक्षित सिकाइ वातावरण सुनिश्चत गर्ने गरी नीतिगत पहल गर्न सघाउने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया