Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

विद्यालय सुधारका लागि योजना निर्माण

विहीबार, २८ कार्तिक २०७६

सुनसरी - आगामी शैक्षिक बर्षका लागि रामधुनी नगरपालिकाले बनाउने विद्यालय सुधारका योजनाको प्रस्तावित खाका तयार पारिएको छ । नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष सहित कार्यपालिकाा सदस्य, शिक्षा क्षेत्रमा संलग्न विभिन्न संघसंस्थाका प्रतिनिधि र व्यक्तिहरु बिच मंगलबार र बुधबार सञ्चालित कार्यक्रमका आधारमा उक्त खाका तयार पारिएको हो ।

यूनेस्को लगायतका विकास साझेदार संस्थाहरुको सहयोगमा विदेह फाउण्डेशनले गरेको सुरक्षित सिकाइ वातावरण निर्माण सम्बन्धी २ दिने कार्यक्रममा भएको छलफलका आधारमा तयार उक्त योजनाको प्रस्तावित खाकालाई नगरपालिकाले आवश्यक थप प्रकृयागत कार्य गरेर अन्तिम रुप दिने छ ।  

उक्त खाकामा विद्यालयमा बालबालिका भित्र्याउने उपाय देखि उनीहरुलाई सुरक्षित तवरले गुणस्तरीय शिक्षा प्रदान गर्न सम्बन्धित सरोकारवालाको भूमिका किटान गरिएको छ । शिक्षण सिकाइ सुधारका लागि शिक्षकको भूमिका , शिक्षक व्यवस्थापन, विद्यालय व्यवस्थापनमा स्थानीय सरकारको भूमिका लगायतका महत्वपूर्ण कामको जिम्मा कसको हुने, कहिले सम्म सक्ने र अपेक्षित उपलब्धि के हुने जस्ता कुरा किटान गरिएको छ ।

यसरी किटान गरिएको विषयमा पालिकाले गर्नु पर्ने नीतिगत तयारी, अभिभावकको भूमिका, उनीहरुलाई सचेतना वृद्धिमा गर्नु पर्ने ध्यान, विद्यालय भर्ना देखि उनीहरुलाई सुरक्षित तबरले सिकाइ गर्न आवश्यक भौतिक संरचनाको पर्याप्तताका विषय पनि समेटिएका छन् । सरोकारवालाको सहभागितामा भएको छलफलका आधारमा तयार उक्त खाकाका आधारमा पालिकाले नीति निर्माणमा अग्रसरता लिने मेयर जयप्रकाश चौधरीले प्रतिवद्धता व्यक्त गरे ।

'हामीले गर्नु पर्ने काममा संघ संस्थाले यसरी अग्रसरता लिईदिदाँ नीति निर्माणमा सघाउ पुगेको छ' उनले भने 'हामीले हाम्रा गाउँमा काँधको छाला गईञ्जेल सम्म खाँबा बोकेर बनाएका विद्यालय आज खस्कदैं गएका छन् तीनीहरुको सुधारमा हामी केन्द्रित हुन्छौं ।' 

उपमेयर सविना कुमारी चौधरीले आफूहरु निर्वाचित भएको ३ बर्ष पुग्न लाग्दा समेत अलमल भएको भन्दै अब नगरे जनताले नपत्याउने भएकाले देखिने गरी शिक्षा सुधार गर्नुको विकल्प नभएको बताईन् ।

'२ बर्ष सकिएर तेश्रो बर्ष लागिसक्यौं, अब पनि सिकेरै बस्ने बेला छैन अब त गर्ने बेला वितिसक्यो' उनले भनिन्, 'जनप्रतिनिधिले केही पनि गरेनन् भन्ने कुरा आइरहेको बेला नीतिगत निर्माणका लागि सरोकारवालाहरु बचि बसेर तयार खाकाले सुधारको मार्गमा लैजाने अपेक्षा गरेको छु ।'

कार्यक्रममा वडाध्यक्षहरुले पनि सामुदायिक विद्यालयमा विद्यार्थी खोज्न जानु पर्ने अवस्था बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै कार्ययोजना सहितको कार्यान्वयनमा आफूहरु प्रतिवद्ध रेहको बताए ।

पूर्व शिक्षक, विभिन्न संस्थाका प्रतिनिधि सहितको उक्त छलफल पछि तयार खाका माथि आवश्यक थप कार्य गरेर अन्तिम रुप दिने नगर शिक्षा संयोजक राजन गेलालले प्रतिवद्धता जनाएका छन् । फाउण्डेशनका कार्यकारी प्रमुख राघव प्रताप ठाकुरले पालिकाका जिम्मेवार व्यक्तिहरुले  जनाएको प्रतिवद्धताले सुरक्षित सिकाइ वातावरण निर्माणका लागि मार्ग प्रसस्त गरेको बताए ।  

फाउण्डेशनका परामर्शदाता सन्तुप्रसाद यादवले शिक्षाको विकास, स्थानीय सरकार र शिक्षकसँगै अन्य सरोकारवालाको सकारात्मक सहकार्यले मात्रै सम्भव हुने उल्लेख गरे ।

यूनेस्कोका फिल्ड कोअर्डिनेटर सत्यनारायण चौधरीले सुरक्षित सिकाइ वातावरण निर्माणका लागि नगरको आवश्यकता र अबको बाटो बारे जनप्रतिनिधिहरुको प्रतिवद्धताले चाँडै सुधार सम्भव हुने अपेक्षा गरे ।  

कार्यक्रममा एडुखबरका सम्पादक श्रीधर पौडेलले विद्यालय तह सम्म सञ्चालनको संबैधानिक अधिकार सँगै संविधानले गरेको समाजवाद उन्मुख समाज निर्माणका लागि स्थानीय सरकारका अघिल्तिर ठूलो मौका आएकाले नीतिगत व्यवस्था सहित काम गर्न आवश्यक रहेको चर्चा गरे । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका निर्देशक वसन्त कोइरालाले शिक्षण सिकाइ सुधारका बारेमा गर्नु पर्ने काम सहित संसारका अन्य देशले अपनाएको विधिका बारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया