शिक्षक उत्साहित र जाँगरिलो भए पो शैक्षिक स्तरीयता


निराशा कदापि राम्रो होइन । निराशाले आलस्य वृद्धि गर्दछ । रुचि घटाउँछ । जाँगर मार्न थाल्छ । उत्साहलाई बन्धक बनाउँछ । सारमा कामको गति अवरुद्ध हुन्छ । सबै विषय र क्षेत्रमा निराशा हुनु भनेको गम्भीर क्षति हो । विकासको बाधक हो । खासगरी शिक्षा क्षेत्रमा प्रायः निराशा र कुण्ठामात्र सुन्न पाइन्छ । यो दुर्भाग्य हो । सकारात्मक खोज्नैपर्ने र नकारात्मको पहाड पन्छाएर नसकिने भएको छ । राज्यको लगानी व्यापक छ । उपलब्धि अपेक्षित भएन । गुनासो धेरै छ । सुनुवाई अर्थपूर्ण देखिएन ।

शिक्षक उत्साहित र जाँगरिलो भए पो शैक्षिक स्तरीयता हुन्छ ।

सधैं निराशा र समस्यामा जकडिएको प्राणी नै शिक्षक बनेको छ । समस्या हल होइन, थप बल्झिएका छन् । जो कक्षा कोठामा प्रत्यक्ष विद्यार्थीसँग शिक्षण क्रियाकलाप गराउने हुन्छ, उसलाई नै समस्यामा पारेर निरुत्साहित बनाएर अनेक बेठिक गर्न बाध्य बनाएर शैक्षिक स्तरीयताको खोजी स्वयंमा मूर्खपन नै भन्नुपर्छ । शिक्षकमा देखिएको विद्यमान निराशाको अन्त्य नै अपेक्षित शैक्षिक उपलब्धिको प्रारम्भ हुनसक्छ ।

१. शिक्षक सधैं दूधले धोएको विशुद्ध प्राणी हो भनेर यहाँ वकालत गर्न पटक्कै खोजिएको होइन । बेठिक कर्म गर्नेलाई प्रोत्साहन रोक्नुपर्छ, दण्ड दिनुपर्छ, सेवाबाट मुक्त गर्नुपर्छ । शिक्षक स्वयं पनि निराशा उत्पन्नमा कारक बनेको यहाँ छिपेको छैन । पेशागत संस्था मार्फत् नै किन नहोस् बारम्बार आफ्नो खुट्टा आफैं काटेर फन्दामा परेको उदाहरण धेरै छन् । शिक्षक बनेर राष्ट्रका महत्वपूर्ण ओहदामा निर्णायक पदमा पुगेकाले आफ्नो धरातल बिर्सिएको वर्तमान यथार्थमा शिक्षक गम्भीर बन्नैपर्छ । पेशागत दक्षताको सबाल प्रमुख पक्ष हो ।

अधिकारका प्रसंग उठाइरहँदा कर्तव्यलाइ पटक्कै भुल्न मिल्दैन । हाम्रा पाइलाहरु कर्मसँग जोडिनैपर्छ । शिक्षकले शिक्षककै खिलाफमा उत्रिएर पेशागत वृत्ति विकास सम्भव छैन । हामीले धेरै आन्दोलन ग¥यौं, हे¥यौं, परिवर्तनमा सहभागी भयौं मात्र भनेर नपुग्ने रहेछ, त्यसको अनुभूति गर्नेले मात्र वास्तविकता बुझेर निर्णय लिन सक्छ, कतिपय कागजमा सिमित भएका छन् । नीति, नियम, निर्दशिकामा मात्र सिमित कुराले व्यवहारमा परिवर्तन भएन । व्यक्तिको फेरबदल ठूलो कुरो होइन, अवस्थाको परिवर्तन अहम् पक्ष हो । एकाध खराबलाई मिल्काएर राम्राको संरक्षण र मर्यादा गर्नुपर्नेमा त्यो हुन नसकेकाले शिक्षकमा निराशा उत्पन्न भएकै हो ।

२. शिक्षकलाई पेशागत वृत्ति विकासमा ठूलो अन्याय गरिएको छ । शिक्षकले योग्यता र क्षमता भएकाको हकमा तहगत प्रमोशनको माग गरे, जुन न्यायिक र यथार्थ हो । सरकारले बर्षौं पुरानो श्रेणीगत अत्यन्त अवैज्ञानिक बढुवा लादेर हेप्ने काम गरकै छ । श्रेणीगत बढुवाको कुनै अर्थ छैन । पुराना शिक्षकको तल्लो श्रेणीको ग्रेडको कारणले माथिल्लो श्रेणीको शिक्षकको सुविधा उस्तै हुन आउँछ । कोटा तोकेर श्रेणीमा खुम्च्याउने धृष्टता नै शिक्षकमा निराशाको अर्को कारण बनेको छ । क्षमतावान, योग्य र दक्षलाई मापदण्डका आधार बनाएर प्रोत्साहन गर्ने, प्रमोशन गर्ने, उत्साह बढाउने काम गर्नु पर्नेमा अपारदर्शी मापदण्ड राखेर मनोमालिन्यमा रम्दै आएको सरकारी परम्पराको अन्त्य अविलम्ब हुनैपर्छ ।

३. शिक्षकहरु राजनीतिक नेतृत्वको दुरुपयोग हुने अंग होइन । विगतमा सिंगै देशको शासकीय प्रणाली परिवर्तनका लागि प्रत्यक्ष अप्रत्यक्ष व्यापक योगदान गरेको शिक्षक वर्गलाई वर्तमान अवस्थामा दुरुपयोग र प्रभावित पार्ने काम कहिँ कतैबाट पनि उपयुक्त हुँदैन । पेशागत कर्तव्यमा अविचलित हिँडाउने काम राज्य संयन्त्रको पनि हो । राज्य संयन्त्र अर्थात् शिक्षाका कर्मचारीले हेप्ने, अपमानित गर्ने वर्ग शिक्षक कदापि होइन । हामी मात्र जाँच दिएर आएका हौं, शिक्षक सबै भनसुनमा जागिरे बनेका छन्, त्यसैले यी मास्टरलाई देख्ने वित्तिकै हेप्नुपर्छ, खेद्नुपर्छ र अपमान गर्नैपर्छ भन्ने संस्कार बोकेका शिक्षा प्रशासनको मानसिकतामा परिवर्तन हुनु जरुरी छ ।

स्वाभिमानी र इमान्दार शिक्षकको मर्यादामा ठेस पुग्ने व्यवहार अर्को निराशाको कारण बनेको छ । बारम्बार जाँच दिएका, परीक्षाबाट उत्तीर्ण भएका र आफ्नो जिम्मेवारीलाई उच्च महत्व दिनेहरुको मनोवल गिराउने प्रशासकहरु रहेसम्म समस्या रहिरहन्छ । शिक्षकको भूमिकालाई कम आँक्ने र आफैंमात्र सर्वेसर्वा ठान्नेहरुबाट प्रोत्साहन दुर्लभ नै हुन्छ । शिक्षा प्रशासन र शिक्षक भनेका एकै सिक्काका दुई पाटा हुन् । दुबै मिलेर हार्दिकता पूर्वक गतिशील बन्नुपर्छ । एउटा पक्ष सधैं दमन गर्न खोज्ने, अर्को पीडित र निरिह बनेर कसरी जाँगरिलो बन्नसक्छ ? हालको शासन प्रणालीमा यो पटक्कै नसुहाउने अवस्था हो ।

४. कतिपयले शिक्षकको कुरा यसरी काट्छन् कि यी मास्टरले कर्मचारीजस्तो बाह्य आय स्रोत केही हुँदैन, सिमित पारिश्रमिकले यिनलाई जीवन निर्वाह जटिलै छ । जोसँग पैसा पर्याप्त हुँदैन, आवश्यकता पूरा गर्न सक्दैन, त्यस्ता निरिह वर्ग मास्टरलाई अपमानित गर्नैपर्छ भन्ने परम्परागत मान्यता समुदायमा व्याप्त छ । मास्टर भनेर थोरै भए पनि हिनताबोध गर्ने शब्दहरु प्रहार गर्ने र सो व्यवहार देखाउँदा म ठूलो देखिन्छु भन्ने भाव कतिपय बुज्रुकमा पाइन्छ । यो बुझाई र व्यवहारले शिक्षकमा नैराश्यता उत्पन्न गरेको छ ।

शिक्षकहरु पैसाको भोको होइन, उपयुक्त मर्यादित वातावरणको अपेक्षा गर्दछन्, त्यो अपराध चाहिँ होइन । निजामती सेवाको एउटा खरदारको सामुन्ने माध्यमिक विद्यालयको प्रधानाध्यापक सधैं लज्जित बन्नुपर्ने, बनाइने हाम्रो सामाजिक वातावरणलाई सूक्ष्म विश्लेषण गर्न जरुरी छ । विद्यालयमा पढ्न, सिक्न आउने बालबालिका त्यो क्षेत्रको समग्र प्रतिनिधित्व हो । समुदायमा भएका, बोलिएका, शिक्षक प्रति गरिएका व्यवहारको प्रत्यक्ष छाप ती बाल मस्तिष्कमा पर्छ नै । सो को प्रतिविम्बनले शिक्षण संस्थामा अनुशासनहीनता, अराजकता सँगै विकृति, विसंगति वृद्धि भई सिकाइको स्तर खस्कने, ओझेल पर्ने स्थिति बनेको छ । समुदायले बेठिकलाई काखी च्याप्न जरुरी छैन । विद्यालयको स्वामित्व लिनुपर्छ । जनप्रतिनिधिले पनि शासक हौं भन्ने घमण्ड त्याग्नु पर्छ । मर्यदित र अनुशासित सामुदायिक वातावरण हाम्रो अभिभारा हो ।

५. मुखले राम्रो गर्छु भन्ने व्यवहारमा प्रयत्न पनि नदेखिँदा स्वभाविक निराशा र कुण्ठा उत्पन्न हुन्छ नै । हामी उन्नत र समृद्ध समाजको पक्षमा छौं । शिक्षलाई समग्र पूर्वाधारको पनि पूर्वाधार भनेर वकालत गर्नेहरुले देखिने र सान्दर्भिक काम गरेर सिद्ध गर्न जरुरी छ । अरुलाई मानमर्दन र होच्याएर मात्र समृद्धि यहाँ आउँदैन । सबै निर्देशक बन्न होडबाजी गर्ने संस्कार राम्रो होइन । ठिक मान्छे, ठिक स्थानमा हुनुपर्छ भन्ने आवाज धेरै पहिलेदेखि उठेको हो । जिम्मेवारी र कामको प्रकृतिसँग मेल खाने सक्षम दक्ष तथा योग्य व्यक्ति बन्दी बनिनु हुन्न । राज्यले उपयोग गर्न सक्नुपर्छ । उच्च ओहदामा रहेकाले काम र व्यक्तिको सामञ्जस्यता खोज्नैपर्छ । तब पो समृद्ध नपालको सपना साकार हुन्छ । नेतृत्वमा रहने अर्थात् उच्च निर्णायक पदमा बसेकाले सधैं आफ्ना वरिपरिका गणेश प्रवृत्तिकालाई मात्र देख्ने, दूरदराजमा ती नेतृत्वको मर्यादा, प्रतिष्ठा वृद्धिमा ज्यान फालेर खटिरहनेलाई सम्झन मात्र नसक्नेहरुबाट राष्ट्रको विकासको कल्पना गर्न सकिँदैन ।

भनिन्छ कात्रोमा खल्ती हुन्न ! तर, व्यवहारमा त्यो विरलै देख्न पाइन्छ । राम्रा काममात्र स्मरणमा हुने हो । अरु त आगोको ज्वालासँग वा चिहानमा विलय हुने वास्तविकतालाई गहिरोसँग बुझ्न जरुरी छ । हाम्रो समाजको वास्तविकता शिक्षा मार्फत् खोजिएको रुपान्तरण मेल खानुपर्छ । वातावरण, सन्दर्भ र सामुदायिक चेतनाको स्तर सबैभन्दा बढी महत्वपूर्ण मानिन्छ । हामीले सतहबाट मात्र हेर्ने होइन, गहिराईसम्म पुग्ने प्रयत्न गर्नैपर्छ ।

६. प्रत्येक घटना र परिणामको पछाडि कुनै न कुनै कारण हुन्छ नै । अपेक्षित नतिजा भएन भन्दैमा समग्र शिक्षकको मनोबल गिराउने, निराशा बनाउने व्यवहार गर्नुपहिले त्यस भित्रका कारण र तथ्यको पहिचान गर्नुपर्छ । जबसम्म रोग चिनिँदैन, तबसम्मका सबै उपचार निरर्थक बन्छ नै । एउटामात्र कारण नहुन सक्छ । सतहमा केही कारण देखिएला, मुख्य रहस्य धेरै भित्र हुनसक्छ । तसर्थ, शिक्षकका निराशा, कुण्ठा, आलस्यताको पछाडिका रहस्य खोतल्ने प्रयत्न गर्नुपर्छ । यो सधैं यस्तै हो, भइरहन्छ, चलिरहन्छ, केही हुँदैन जस्ता यथास्थितिवादी भनाईलाई बिसाउनै पर्छ । अग्रगामी र प्रगतिशील चिन्तनबाट मात्र समस्याको निदान हुनसक्छ । विद्यमान समस्याको समाधान असम्भव होइन, इच्छा शक्ति देखिनु पर्छ । जब शिक्षक स्वयंमा ऊर्जावान बनेर जाँगर देखाएर कक्षा कोठामा आफ्नो कला प्रदर्शन गर्छन्, तब हामीले अपेक्षा गरेको शैक्षिक स्तर नजिकिन्छ ।