Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

कक्षाकोठा अभावमा एउटै कोठामा दुइटा कक्षा सञ्चालन

आइतबार, १५ मंसिर २०७६

काठमाडौं १५ मंसिर / कक्षा ३ मा विद्यार्थीलाई शिक्षकले पढाउँदै गर्दा कक्षा ४ का विद्यार्थी हल्ला गरिरहेको देखिन्थ्यो। सिन्धुलीको कमलामाई नगरपालिका–३, जलकन्यास्थित हायुडाँडामा रहेको प्रावि प्रतापेभञ्ज्याङमा कक्षाकोठा अभावमा एउटै कोठामा दुइटा कक्षा सञ्चालन गर्नुपरेपछि शिक्षक–विद्यार्थी दुवैलाई समस्या भएको छ।

नागरिकमा अनिल भण्डारीले दुइटा कक्षाका विद्यार्थी एउटै कोठामा पढाउनुपर्ने बाध्यता शिर्षकमा लेखेको खबर अनुसार कक्षा १ र २ एउटै कोठामा सञ्चालन गरिएको छ। यस्तै कक्षा ३ र ४ पनि एउटै कोठामा सञ्चालन गरिएको शिक्षक कुमार चौलागाईंले बताए। चौलागाईंले कक्षा ३ मा पढाइरहँदा त्यही कोठाको अर्को कुनामा रहेका कक्षा ४ का विद्यार्थी हल्लाह गरिरहेका थिए। कोठा अभावमा दुइटा कक्षाका विद्यार्थीलाई एउटा कोठामा राखेर पढाउनुपर्दा असहज भएको शिक्षकको गुनासो छ। २०७२ को भूकम्पबाट पूर्ण रुपमा क्षतविक्षत यो विद्यालयमा अस्थायी रुपमा कक्षाकोठा सञ्चालन गर्न (टिएलसी) निर्माण गरिएको थियो। सोही टिएलसी र दुईकोठे एउटा भवनबाहेक अन्य भवन नभएको विद्यालयले जनाएको छ। कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयको भवन भूकम्पले भत्काइदिएपछि कक्षा कोठाको समस्या उत्पन्न भएको हो।

भूकम्पपछि एक गैरसरकारी संस्थाले दुइटा टिएलसी बनाइदिएको थियो। दुइटा टिएलसीमा चार कोठा छन्। जसमध्ये एउटा कोठा गोदाम बनाइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कायान्वयन एकाइ (शिक्षा) ले बनाइदिएको दुईकोठे भवनको एउटा कोठामा कार्यालय र अर्कोमा कक्षा ५ को पढाइ सञ्चालन हुँदै आएको छ। अब दुई कोठे भवन बनाउन सके पठनपाठनमा सहजता आउने चौलागाईंले बताए। विद्यालयमा दरबन्दीका तीन शिक्षक, एक कर्मचारी र एक बालविकास शिक्षक गरी पाँचजना कार्यरत छन्। ४७ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ।

एउटै ठाउँमा धेरै विद्यालय सञ्चालन गर्नुको सट्टा नजिकको माविमा गाभेर स्कुल व्यवस्थापन गरे खर्च जोगिने र अन्य समस्या पनि समाधान हुन सक्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख शिव सापकोटा बताउँछन्। ‘एउटै गाउँमा धेरै विद्यालय चलाएर काम छैन,’ उनले भने, ‘विद्यार्थी संख्या थोरै भएका प्राविलाई नजिकको माविमा गाभ्ने हो भने पूर्वाधार निर्माण र शिक्षकको खर्च जोगिन्छ।’

प्रतिक्रिया