Edukhabar
विहीबार, ०६ बैशाख २०८१
अन्तैवाट

एक वर्ष पहिले नियुक्ति लिएका शिक्षकद्वारा विद्यालय नपुगी तलब !

बुधबार, १८ मंसिर २०७६

काठमाडौं १८ मंसिर / डोल्पाका अधिकांश विद्यालयमा नयाँ स्थायी नियुक्ति बुझेर पदस्थापन भएका शिक्षकले आफूले पढाउने विद्यालय नै नपुगी तलब बुझेका छन्। नागरिकमा डोल्पाका नयाँ शिक्षकद्वारा विद्यालय नपुगी तलब शिर्षकमा विष्णुप्रसाद देवकोटाले लेखेको खबर अनुसार एक वर्षपहिले शिक्षा सेवा आयोगको परीक्षामा उत्तीर्ण भई सिफारिस भएका ६७ मध्ये अधिकांश शिक्षकले आफू पदस्थापन भएको विद्यालयमा नै नपुगी तलबभत्ता बुझेका हुन्।

गत वर्ष कात्तिक २४ गते स्थायी नियुक्ति लिएका उनीहरू विद्यालय जान छाडेर घरतिर लागेको खुलेको छ। विद्यालय नपुगी तलब खानेहरूमा प्राथमिक तहका शिक्षक धेरै रहेका छन्। कात्तिक २५ गतेदेखि लागू हुनेगरी २०७७ वैशाखसम्मको तलबभत्ता बुझेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ डोल्पाले जनाएको छ। उपल्लो डोल्पाका विभिन्न विद्यालयमा पदस्थापन भएका १८ जना शिक्षक विद्यालय नपुगी नै नियुक्तिका साथै तलबभत्ता बुझेर घरतिर लागेका हुन्।

अत्यधिक जाडोका कारण उत्तरी सीमा क्षेत्रमा रहेका तीन स्थानीय तहका सम्पूर्ण विद्यालय बन्द भएक छन्। ती विद्यालयमा पदस्थापन भएका शिक्षक सदरमुकाम दुनैमा रहेका गाउँपालिकाको सम्पर्क कार्यालय र शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयमा एकमुष्ट हाजिर गरेर घरतिर लागेको शिक्षा समन्वय एकाइ प्रमुख सिंहराज डाँगीले बताए। उपल्लो डोल्पामा रहेका डोल्पोबुद्ध, छार्काताङसोङ र सेफोक्सुन्डो गाउँपालिकाका विद्यालयमा कात्तिकको दोस्रो सातादेखि नै अत्यधिक चिसोले विद्यालय बन्द हुने गर्छ। जसकारण शिक्षकहरू विद्यालय नपुगेरै घर लागेका हुन्। नियुक्ति लिनुअघि नै से–फोक्सुन्डो गाउँपालिकाको तापरिचा मावि बन्द भइसकेकाले शिक्षा समन्वय एकाइमा हाजिर गरेर तलबभत्ता बुझेको शिक्षक लोकेश खत्रीले बताए। उपल्लो डोल्पामा रहेका २३ वटा विद्यालयका शिक्षकले वर्षभरि ६ महिना मात्र पढाउने गर्छन्। जिल्लाबाहिरका शिक्षक मात्र होइनन्, स्थानीय शिक्षकले पनि विद्यालय नगएरै तलबभत्ता बुझ्ने गरेका छन्। शिक्षक संघसंगठनमा आबद्ध शिक्षक राजनीतिक दबाबमा शिक्षा समन्वय एकाइलाई प्रभावमा पारेर भए पनि विद्यालय नगई घरमै बसेर तलबभत्ता बुझ्दै आएका छन्। मध्यडोल्पामा घर भएका तर उपल्लो डोल्पामा पर्ने सेफोक्सुन्डो र छार्काताङसोङ गाउँपालिकामा दरबन्दी भएका स्थानीय शिक्षक विद्यालय पढाउने समयमा ठेक्कापट्टा व्यापार र राजनीतिक गर्ने गरेको भए पनि राजनीतिक दलहरूको संरक्षणका कारण सम्बन्धित तालुकदार कार्यालय मुकदर्शक भएर रमिते बनिरहेको नागरिक समाज डोल्पाका शिक्षाप्रेमी टीकादत्त न्यौपाने बताउँछन्।

विद्यालय नगई बर्सेनि तलबभत्ता बुझ्दै आएका ११ जना शिक्षकविरुद्ध कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परे पनि कारबाही भएको छैन। विभिन्न समयमा आर्थिक अनियमिततासम्बन्धी छानबिन तथा अनुगमन गर्ने नाममा अख्तियारको टोलीले डोल्पा आएर औपचारिकता मात्र निभाउने गरेपछि झनै शैक्षिक अनियमितता बढ्दै गएको छ। नपढाएरै राजनीतिक दबाब र आर्थिक प्रलोभनमा पारेर तलबभत्ता बुझिरहेका शिक्षकको मनोबल बर्सेनि बढ्दै गएकाले अख्तियारले कारबाहीलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताउँछन् नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढा। ‘प्रत्येक वर्ष अख्तियार डोल्पा आउँछ तर अहिलेसम्म डोल्पामा भएको आर्थिक अनियमितता तथा शैक्षिक अनियमिततासम्बन्धी उजुरीमा कारबाही भएको सुनिएको छैन,’ बुढाले भने, ‘विद्यालय नगएरै तलबभत्ता बुझ्दै आएका एकाध शिक्षकले उल्टै शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख प्रजिअलाई खटनपटन हिमझिम गर्छन् भने कसले कारबाही गर्ने।’ स्थानीय शिक्षकको लापरबाहीकै कारण उपल्लो डोल्पाको शैक्षिक स्तर खस्कँदै गएको अध्यक्ष बुढाको निष्कर्ष छ।

प्रतिक्रिया