Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

विद्यार्थीलाई १ लाख रुपैयाँसम्मको नि:शुल्क उपचार सुविधा

आइतबार, २२ मंसिर २०७६

काठमाडौं २२ मंसिर / त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना विद्यार्थीलाई १ लाख रुपैयाँसम्मको नि:शुल्क उपचार सुविधा दिने भएको छ । विद्यार्थीलाई १ लाखको उपचार शिर्षकमा कान्तिपुरमा प्रकाशित खबर अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पोखरा, धवलागिरि अञ्चल अस्पताल बागलुङ, प्रदेश अस्पताल सुर्खेत र भेरी अञ्चल अस्पताल नेपालगन्जबाट त्रिविले यस्तो सुविधा दिनेछ । 

हालै बसेको त्रिवि सभा (सिनेट बैठक) ले प्रतिविद्यार्थी दिइँदै आएको ५० हजार रुपैयाँसम्मको नि:शुल्क उपचार सुविधा बढाएर १ लाख पुर्‍याएको हो । त्रिविले ती अस्पतालसँग विद्यार्थीलाई नि:शुल्क उपचार सेवा दिने सम्झौतागरिसकेको छ । सम्झौताअनुसार अस्पतालले विद्यार्थीलाई प्रयोगशाला परीक्षण र नि:शुल्क रूपमा बेड उपलब्ध गराउनेछन् ।

त्रिविले विद्यार्थीबाट उपचार खर्चबापत प्रतिविद्यार्थी ५ सय रुपैयाँ शुल्क लिँदै आएको छ । आव ०७३/७४ देखि विद्यार्थीको स्वास्थ्योपचार कोष खडा गरी त्यसैबाट नि:शुल्क उपचार सेवा दिन थालेको हो । अन्य अस्पतालबाट समेत विद्यार्थीलाई उपचार सुविधा दिने गृहकार्य भइरहेको त्रिवि स्रोतले जानकारी दिएको छ । सम्बन्धनप्राप्त कलेजका विद्यार्थीलाई समेत उपचार सुविधा थप्ने तयारी त्रिविको छ । त्रिविमा ६२ आंगिक र एक हजार सम्बन्धन प्राप्त कलेज छन् ।

त्रिविले आफूसित सम्बन्धन लिएका कलेजलाई समेत अनिवार्य १० प्रतिशत विद्यार्थीलाई पूर्ण नि:शुल्क छात्रवृत्ति दिन निर्देशन दिएको छ । यसअघि त्रिविका आंगिक कलेजमा मात्र विद्यार्थीले छात्रवृत्ति पाउँदै आएका थिए । त्रिविले छात्रवृत्तिका लागि ३ करोड ७१ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । 

प्रतिक्रिया