Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

उत्तरपुस्तिका साटफेर गरेको अभियोग, विद्यार्थी सहित ४ जना विरुद्ध मुद्दा

आइतबार, २२ मंसिर २०७६

काठमाडौं - परीक्षा केन्द्र बाहिर लेखिएका उत्तर पुस्तिकाहरु साटफेर गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ विद्यार्थी सहित त्रिभुवन विश्वविद्यालयका २ कर्मचारी विरुद्ध मुद्दा दायर गरेको छ । उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटकी परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस, गाईघाटकै हिरा कटुवालको उत्तर पुस्तिका साटफेर गर्न सघाएको अभियोगमा दुई विद्यार्थी सहित विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय, बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहाल र त्रियुगा जनता बहुमुखी क्याम्पस गाइघाटका प्रशासन सहायक तेजनारायण चौधरी विरुद्ध मुद्दा दायर गरिएको हो । 

उनीहरुले परीक्षार्थीहरुसँग रकम लिई उत्तरपुस्तिकाको प्राप्तङ्क फेरबदल, साटासाट तथा उत्तरपुस्तिका परिक्षण गर्ने शिक्षकलाई प्रभावमा पारी लेखिएको उत्तर पुस्तिकाको बाहिरी कभरपेज उही राखी भित्री पानाहरु घर लगेर विज्ञहरुलाई लेख्न लगाई फेरी साटफेर गरेको उजुरी माथि  अनुसन्धान हुँदा उक्त तथ्य पुष्टि भएको अख्तियारले जनाएको छ । परीक्षार्थीहरु आलेमगर र कटुवालका परीक्षा केन्द्र बाहिर लेखिएका उत्तरपुस्तिकाहरु चौधरीमार्फत लिई साटफेर गरीएको अख्तियारको दावी छ । उक्त कार्यमा परीक्षा नियन्त्रण कार्यालय, बल्खुका लेखा अधिकृत दाहालको समेत मिलेमतो देखिएपछि चारै जना विरुद्ध मुद्दा दायर गरिएको हो । 

'आलेमगर र कटुवाललाई परीक्षा केन्द्र बाहिर अर्को उत्तरपुस्तिकामा लेख्न लगाई परीक्षा केन्द्र बाहिर लेखिएका उत्तरपुस्तिकाहरु निजहरुबाट आफूले लिई कमलप्रसाद दाहाललाई दिई उत्तरपुस्तिकाहरु साटफेर गरी परीक्षाको परिणाममा फेरबदल गरिएको' अख्तियारको दावी छ । 

अख्तियार दुरुपयोगको कार्यमा मतियार भई संलग्न भएकोले दुई विद्यार्थी विरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् । 

 

प्रतिक्रिया