Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

विद्यालय हिँडेकी छात्राको गुमे दुवै खुट्टा

सोमबार, २३ मंसिर २०७६

काठमाडौं २३ मंसिर / बाँकेमा आइतबार स्कुल जाँदै गरेकी एक बालिकालाई ट्रकले किचे पछि उनका दुवै खुट्टा गुमेको छ । स्थानीय त्रिभुवन माविमा सात कक्षामा पढ्ने १२ वर्षीया प्रकृति चन्दलाई  ट्रकले ठक्कर दिएपछि ट्रकको पछाडिको चक्काले पेल्दा उनको दुवै खुट्टा काट्न परेको हो । घटनाको विरोधमा उत्रिएका साथी, शिक्षक र स्थानीयमाथि प्रहरीले उल्टै दमन गर्दा आइृतबार कोहलपुर तनावग्रस्त बनेको खबर काठमाडौंबाट प्रकाशित सबै जसो दैनिक पत्रिकाको मुख्य विषय बनेको छ । 

नयाँ पत्रिकाले विद्यार्थीमाथि प्रहरीले  चलायो सय राउन्ड गोली शिर्षकमा लेखेको खबर अनुसार स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएर घाइते बनाएपछि आन्दोलित विद्यार्थी र स्थानीयलाई नियन्त्रण गर्न प्रहरीले बाँकेको कोहलपुरमा करिब सय गोली चलाएको छ । भिडतर्फ रबरका ५० गोली प्रहार गरेको प्रहरीले करिब ५० हवाई फायर गरेको हो । ५० भन्दा बढी अश्रुग्यास पनि प्रहार गरेको छ । 

स्कुलनजिकै दुर्घटना भएकाले तत्काल अन्य विद्यार्थीले थाहा पाए । विद्यार्थी र स्थानीय घटनास्थलमा जम्मा भए । प्रकृतिलाई उपचारका लागि कोहलपुर अस्पताल पुर्‍याइयो । घटनास्थलमा भने केहीबेरमै विद्यार्थी र अभिभावकले विरोध सुरु गरे । 

विद्यार्थी र अभिभावकको आक्रोश बढ्दै गर्दा प्रहरीले सजगता अपनाउन सकेन । विद्यार्थीले ठक्कर दिने ट्रकमा आगजनी गरे । प्रहरी थप गम्भीर हुनुपर्ने थियो, तर दमनको बाटो रोज्यो । स्कूलमै गएर दुई विद्यार्थी र एक शिक्षकलाई पक्राउ गर्‍यो । प्रहरीले लाठीचार्जसँगै अश्रुग्यास पनि प्रहार गर्न थाल्यो । भिड झन् आक्रोशित बन्यो, थप तोडफोडमा उत्रियो । प्रहरीले हवाई फायर खोल्यो । संयमता गुमेपछि भिडले स्कुल बससहित १३ सवारीसाधन तोडफोड गरे, प्रहरीले ५० हवाई फायर र करिब ५० रबरका गोली प्रहार गर्‍यो । दुवैतर्फबाट ढुंगा हानाहान भयो । आन्दोलित भिडले इलाका प्रहरी कार्यालय परिसरमा रहेको क्यान्टिनमा समेत आगजनी गर्‍यो । 

कान्तिपुरले दुई वटै जुत्ता सडकमै अलपत्र परेको फोटो सहित सडकमै छुटे जुत्ता शिर्षकमा लेखेको खबर अनुसार कक्षा ७ की छात्रा हुन् प्रकृति चन्द । बाँकेकी यी ११ वर्षेको स्कुल ९त्रिभुवन नमुना मावि० कोहलपुर चोक नजिक राजमार्ग छेवैमा छ । आइतबार पनि उनी सधैंझैं स्कुल पुग्ने तर्खरमा थिइन् । उनलाई स्कुटरमा पुर्‍याउन आएका थिए बुबा नगेन्द्रबहादुर ।

घरदेखि स्कुटरमा ल्याएका नगेन्द्र छोरीलाई राजमार्गको जेब्राक्रससम्म पुर्‍याएपछि वारिबाटै फर्कंदै थिए । अचानक उनको कानमा दुर्घटनाको कर्कश आवाज पर्‍यो । छोरीलाई क्षणभरमै ट्रकले घिसार्दै पर पुर्‍याइसकेको थियो । तत्काल त उनले त्यो दृश्य पत्याउनै सकेनन् । कोहलपुर चोकदेखि केही मिटर परको त्यो दुर्घटनाका प्रत्यक्षदर्शी सबै स्तब्ध भए ।

‘प्रकृतिका जोर जुत्ता बीच सडकमै थिए,’ एक प्रत्यक्षदर्शीले भने, ‘दुवै खुट्टा किचिसकेपछिट्रकले उनलाई घिसार्दै परसम्म पुर्‍याएको थियो ।  

पढाइसँगै प्रकृति विद्यालयका अतिरिक्त क्रियाकलापमा पनि सक्रिय रहन्थिन् । सामाजिक विषयकी शिक्षिका अम्बिका कँडेलका अनुसार कक्षाको पहिलो बेन्चमा बस्न रुचाउने प्रकृतिको पढाइमा विशेष रुचि छ ।
आइतबार बिहान १० बजे स्कुल पुग्न नपाउँदै कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले प्रकृतिलाई ठक्कर दिएको हो । साथीलाई ठक्कर दिएपछि विद्यार्थीले मन थाम्न सकेनन् । उनीहरूले ट्रकमा आगो लगाइदिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर ओलीले स्थानीय आक्रोशित भएपछि दंगा सुरु भएको बताए ।

‘प्रदर्शनकारीले ढुंगामुढासहित प्रहरी कार्यालयमा आक्रमण गर्न खोजेपछि स्थिति नियन्त्रण गर्न प्रहरीले केही गोली फायर गर्न बाध्य भएको हो,’ उनले भने ।

कोहलपुर मेडिकल कलेजका प्रशासन अधिकृत सञ्जय पन्थीका अनुसार प्रकृतिलाई बिहान १० बजे अस्पताल पुर्‍याइएको थियो । ‘उनलाई यहाँ रगत नियन्त्रण गर्न खुट्टामा सामान्य उपचार गरेर राखिएको थियो,’ पन्थीले भने, ‘दिउँसो ३ बजेमात्रै काठमाडौंबाट हेलिकप्टर आयो । त्यतिन्जेलसम्म प्रकृति अचेत अवस्थामै थिइन् । आमाबुबासँगै जान नसकेपछि छिमेकी वैकुण्ठ गिरीका साथ उनलाई हेलिकप्टरमार्फत राजधानीस्थित बीएन्डबी अस्पताल पुर्‍याइएको थियो ।

राति ९ बजे प्रकृतिलाई अपरेसन थिएटरमा लगिएको गिरीले बताए । उनका अनुसार अत्यधिक रगत बगेकाले हेमोग्लोविन कम भएको चिकित्सकले बताएका छन् । ‘पिसाब फेर्न नसकेकाले किड्नीमा पनि समस्या देखियो । दुवै खुट्टा किचिएकाले काट्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘डाक्टरले स्थिति नाजुक छ भनेका छन् । रगत धेरै बगेकाले समस्या भएको छ ।’

नेपाल समाचार पत्रले एकाएक रणभूमि बन्यो कोहलपुर शिर्षकमा लेखेको खबरमा दुर्घटनालाई लिएर बाँकेको कोहलपुर आइतबार दिनभरि रणभूमि बनेको छ। विद्यार्थीले शुरू गरेको आन्दोलनले उग्ररूप लिएपछि तोडफोड, आगजनी, गोली प्रहारदेखि निषेधित क्षेत्रसम्म घोषणा गरिएको उल्लेख छ। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले कोहलपुर आसपासमा निषेधित क्षेत्र घोषणा गरिएको बताउनुभयो। कोहलपुरमै बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले शान्ति सुरक्षा कायम राख्न पहल गर्ने, घाइतेको उचित उपचारका लागि काठमाडौं पठाउने, तोडफोड भएका साधनको क्षतिपूर्तिका लागि सरकारसँग पहल गर्ने निर्णय गरेको नेकपाका जिल्ला सचिव अशोक कोइरालाले जानकारी दिनुभयो।

कोहलपुरलाई शान्त बनाउन जिल्लाबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। 

प्रतिक्रिया