Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

कलेजबाट फर्किंदा गोली

मंगलबार, २४ मंसिर २०७६

काठमाडौं २४ मंसिर / कोहलपुरको बालविद्या उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत महेश आचार्य आइतबार बिहान ९ बजे विद्यालयबाट घर फर्कंदै थिए। उनीसँगै सहपाठी खुमबहादुर मगर, विवेक मगर र सुशील थापा पनि थिए। कलेजबाट एक किलोमिटर अगाडि बढेपछि अचानक गोली चलेको आवाज आयो। महेश अत्तालिए, साथीभाइ भाग्न थाले। भाग्दाभाग्दै सुशील र महेशको खुट्टामा गोली लाग्यो। 

नागरिकमा शिवहरी घिमिरेले कलेजबाट फर्किंदा सीधै गोली हान्यो शिर्षकमा लेखेको खबर अनुसार उनीहरु ढले। पछिपछि दौडिँदै गरेका साथीलाई पनि प्रहरीको गोली लाग्यो। ‘हामी कलेज सकेर घर फर्कंदै थियौं। अलि पर पुगेपछि प्रहरीले केही दाइहरुलाई लखेट्दै आएको देखियो। दाइहरु दौडिरहेका थिए। हामी पनि दौडिन थाल्यौं, त्यसपछि प्रहरीले टाउको र खुट्टामा गोली हान्यो,’ काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत महेशले भने। सशीलको पनि टाउकोमा गम्भीर चोट लागेको छ। भिडियो एक्सरे गर्दा उनको टाउको र पाखुरामा गोलीको छर्रा देखिएको छ। हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका उनी बोल्न सक्ने अवस्थामा छन्। ‘मैले प्रायः प्रहरीलाई चिनेको छु, कतिलाई त सर भन्दै कलेजबाट फर्कंदा नमस्कार पनि गरेका थियौं, तिनैले गोली हाने,’ उनले सुनाए, ‘तिनलाई कारबाही हुनुपर्छ।’

प्रहरीको गोली लागेर गम्भीर घाइते भएका अर्का निर्दोष व्यक्ति हुन् ललित बढुवाल। उनी कोहलपुर बसपार्कभित्र बस समितिमा काम गर्थे। सडकका होहल्ला सुनेपछि उनी के भएछ भनेर समितिको कार्यालयबाट बाहिर निस्के। उनको पाखुरामा प्रहरीले गोली ठोक्यो। भिडियो एक्सरे गर्दा उनको पाखुरामा गोली छिरेको देखिएको छ। ‘प्रहरीले जहाँ पायो त्यहीं हान्यो, निर्दोष र दोषी मान्छे कोहो भन्ने पनि ख्याल गरेन,’ बढुवालले सुनाए, ‘मेरा अरु साथीलाई पनि प्रहरीले सीधै गोली हान्यो।’

प्रहरीको गोली लागी घाइते भएका नौजनालाई आइतबार बेलुकी हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। उनीहरुको टिचिङ हस्पिटलमा उपचार भइरहेको छ। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ। गम्भीर घाइते कोहलपुरकी १० वर्षीया प्रकृति चन्दको पनि टिचिङमै उपचार भइरहेको छ।

कोहलपुरको त्रिभुवन माविअगाडि ट्रकले प्रकृतिलाई ठक्कर दिएको थियो। कक्षा सातमा अध्ययनरत उनी गम्भीर घाइते भएपछि नेपालगन्ज कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीसहित २० जनाभन्दा बढी घाइते भएका छन्।

प्रतिक्रिया