Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

व्यवस्थापिकाको उच्च ओहोदामा पूर्व 'हेडसर'

मंगलबार, ०७ माघ २०७६

काठमाडौं - शिक्षकका पूर्व नेता समेत रहेका सत्तारुढ दल नेकपाका स्थायी कमिटि सदस्य अग्नि प्रसाद सापकोटा नेपालको संसदीय ईतिहासका आठौं  सभामुख हुने पक्का भएको छ । शनिबार हुने सभामुख निर्वाचनका लागि मंगलबार तोकिएको उम्मेद्वारी दर्ताको अवधिमा उनको मात्रै उम्मेद्वारी परे सँगै कुनै बेलाका विद्यालयका 'हेडसर' (प्रधानाध्यापक) सापकोटा राज्यको मुख्य तीन अँग मध्ये व्यवस्थापिकाको उच्च ओहोदामा पुग्ने पक्का भएको हो । सिन्धुपाल्चोकको साँगाचोकको जनजागृति माध्यमिक विद्यालयमा ७ वर्ष प्रधानाध्यापक भएका तिनै अग्नि सर अब देशको कानून निर्माण हुने व्यवस्थापिकाको नेतृत्वमा आईपुगेका छन् ।

२०४८ सालमै शिक्षकबाट राजिनामा गरेर पूर्णकालिन कार्यकर्ता भई राजनीतिमा होमिएका अग्नि सरले यस बिचमा व्यवस्था परिवर्तनका लागि आन्दोलन मात्रै गरेनन्, नयाँ राजनीतिक व्यवस्थामा विभिन्न ओहोदामा बसेर राज्य  सञ्चालनको थुर्पै अनुभव समेत हासिल गरिसकेका छन् । पहिले शिक्षण गरेर अहिले राजनीतिमा लागेका समकालिन नेताहरुको संख्या ठूलै छ । तर, अग्नि सरको सन्दर्भमा कुरा बेग्लै छ, किन भने जुन व्यवस्था र समाज निर्माणका लागि भनेर हुँदा खाँदाको जागिर छाडेर जनयुद्धमा होमिए आज त्यही व्यवस्था कार्यान्वयनका लागि आवश्यक नीति निर्माण गर्ने ठाउँको उच्च ओहोदामा उनी पुगेका छन् ।

देशको बदलिएको व्यवस्था, संरचना र नयाँ संविधानले निदृष्ट गरेको शिक्षाका अधिकार कार्यान्वयनका लागि आवश्यक नीतिगत निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह हुने ओहोदामा उनी पुगे सँगै केही पेचिला प्रश्नको सपाट उत्तर खोज्ने तर्फ केन्द्रित हुन जरुरी छ ।

संविधानले शिक्षालाई मौलिक हक अन्र्तगत व्यवस्था गरेको छ, र आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने ग्यारेण्टि गरेको छ । यो अधिकार आम नागरिकका सन्तानले उपभोग गर्नको लागि आवश्यक नीतिगत संरचना निर्माण र कार्यान्वयनको काम अझै बाँकी छ । उनको दलको घोषणा पत्र र संविधानमा समेत व्यवस्था भएको शिक्षाको अधिकार कार्यान्वयनको सन्दर्भमा नीति नियम बनाउने थलोको नेतृत्व गर्दै गर्दा अग्नी सरले ध्यान दिनु पर्ने कुरा निकै पेचिला छन् । संविधानमा उल्लेख उक्त अधिकार कार्यान्वयन गर्ने खास ढाँचा सहितको ऐन निर्माण उनकै अध्यक्षतामा बस्ने संसद बैठकले निकट भविष्यमै गर्ने छ । विद्यालय शिक्षामा जारी निजी लगानीको विषय सपाट निक्र्यौलमा नपुर्याई संविधानको उक्त व्यवस्था कार्यान्वयन हुन नसक्ने स्पष्ट छ ।

विद्यालय शिक्षामा निजी लगानी गर्नेहरुको प्रभाव र लविङ्मा उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले बुझाएको प्रतिवेदन सरकारले वेपत्ता बनाएको सन्दर्भ उनले पक्कै विर्सने छैनन् । किन भने समानता र अधिकारको राजनीतिक दर्शन उनका दलको दस्तावेजमा उल्लेख विषय हुन् । शिक्षा भनेको हुँदा खाने र हुने खानेका सन्तानका लागि फरक हो भन्ने प्रभावबाट मुक्त हुन नसकेको सरकारले संसदमा ल्याउने विधेयकमा उनी चनाखो हुन सकेनन् भने ती दस्तावेज काला अक्षर मात्रै हुन् भन्ने पक्का हुनेछ, संविधानमा लेखिएको शिक्षाको मौलिक हकको अर्थ अक्षरमा मात्रै सिमित हुने छ । शिक्षाका नामबाट जारी विभेद र व्यापार युगौं सम्म कायम रहने त छ नै, समानता र अधिकारका लागि भन्दै गरिएका भाषणले सपनामा पनि तर्साउन छाड्ने छैनन् ।

अग्नि सरका सन्दर्भमा शिक्षासंग जोडिएको अर्को पक्ष पनि निकै महत्वपूर्ण छ । राजनीतिक अधिकार प्राप्तिका लागि संगठित शिक्षकहरुको आन्दोलनमा सकृयतापूर्वक लागेका अग्नि सर यतिखेर प्राप्त भएको राजनीतिक अधिकार कार्यान्वयनको मार्ग प्रसस्त गर्ने स्थानको उच्च ओहोदामा पुगेका छन् । पूर्व शिक्षा मन्त्री देवी ओझा नेपाल राष्ट्रिय शिक्षक संगठनको तेश्रो कार्यसमितिको अध्यक्ष हुँदा महासचिव समेत भएका अग्नि सरलाई शिक्षाका विषयमा गर्नु पर्ने धेरै कुराको हेक्का पक्कै पनि छ । पछिल्लो समय संसदीय समितिमा पनि शिक्षाका विषय हेर्ने समितिमा रहेर उनले काम गरेका आधारमा शिक्षाका समकालिन विषयमा उनी अपडेट छन् भन्ने आधार बाँकी नै छ । 

शिक्षाका सवालमा शिक्षकको भूमिकाका बारेमा ब्याख्या गरिरहनु पर्ने विषय नै हैन । शिक्षाको जग विद्यालय शिक्षा, विद्यालय शिक्षाको मियो शिक्षक, शिक्षकका अधिकार र शिक्षाको विकासका लागि होमिएका अग्नि सर कानून बनाउने थलोको उच्च ओहोदामा !

सत्तारुढ नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले आईतबार अग्नि सरलाई सभामुख बनाउने तय गरेसँगै आफ्ना पूर्व महासचिव सभामुख भएकोमा शिक्षकका नेताहरुले सामाजिक सञ्जाल मार्फत् बधाई ज्ञापन गरिरहेका छन् ।  

यी सन्दर्भकै नेरोघेरोबाट हेर्दा – केही पेचिला बनेका विषयलाई अग्नि सरले आफ्नो पदीय क्षेत्रबाट पर्गेल्न आवश्यक छ । विद्यालय तहसम्मको शिक्षा सञ्चालनको अधिकार स्थानीय सरकार मातहत हुने संवैधानिक व्यवस्थाका विरुद्धमा उनको पूर्व संगठनमा आवद्ध सहित अन्य दलका शिक्षक नेताहरु एक ढिक्का भएर विरोधमा उत्रिएका छन् । नजिकको सरकारले गर्ने अनुगमनबाट 'छलछाम' गर्न नसक्ने पक्का भए पछि उनीहरुको विरोध शुरु भएको आलोचनाका बिचमा निकट भविष्यमै संसदमा ल्याउने तयारी गरिएको शिक्षा विधेयकमा अग्नि सरको ध्यान जान जरुरी छ ।  

समाज कस्तो बनाउने भन्ने कुरा शिक्षामा राज्यको बुझाई र दृष्टिकोण कस्तो छ भन्नेबाट प्रष्ट हुन्छ । शिक्षाका सवाललाई राजनीतिक दल र तिनका नेता कार्यकर्ताले भाषणबाजिको मेलो मात्रै बनाउँदै आएको सन्दर्भलाई माथिल्लो क्षितिजबाट नियाल्न अग्नि सरको महत्वपूर्ण भूमिकाको खाँचो छ ।

संसदकै महिला कर्मचारी माथि बलात्कार गरेको अभियोग पछि थुनामा परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको उत्तराधिकारी हुँदै सभामुखका रुपमा संसद भवन छिरेका अग्नि सरको अघिल्तिर संसदको मर्यादा कायम राख्ने मात्रै हैन आफू माथि कायमै रहेको हत्याको अभियोगको मुद्दामा खरो उत्रनु पर्ने चुनौती पनि उत्तिकै छ । यीनै चुनौतीले घेरिएरै उनको कार्यकाल सकिने हो वा उनको दलले भन्दै आएको समानता युक्त समाज निर्माणका लागि शिक्षाका कोणबाट आवश्यक नीतिगत संरचना र केही नौलो काम पनि हुने हुन् त्यो भने केही समय पछि देखिने नै छ । 

प्रतिक्रिया