प्रिय विद्यार्थी : म विवश छु शिक्षक बन्न !


- सुरज लम्साल / पेशाले शिक्षक हुन् । उनी शिक्षाका समसामयिक विषयमा कलम चलाउने मात्रै हैन, आफ्ना भावनालाई सृजनात्मक शिल्पमा उतार्ने पनि गर्छन् । यस पटक उनले एक जना शिक्षकको मनका भावनालाई कविताका रुपमा उतारेका छन् । शिक्षकको क्षमता र सिकाइ क्षमता माथि उठेको प्रश्न, उसको दैनिक जीवनका भोगाईको यथार्थता र अवस्थालाई उनले यस कतितामा समावेश गरेका छन् । शिक्षक प्रति गरिने आलोचना र व्यवहारलाई कटाक्ष पनि गरेका छन् । उनले गरेको कटाक्ष शिक्षकमा हुनु पर्ने गुण लक्षित छ । यस पटकको शिक्षा साहित्य श्रृंखला अन्तरगत उनकै कविता - प्रिय विद्यार्थी :

प्रिय विद्यार्थी,
आज फेरि तिमीसँग केही बोल्नु छ
यो हृदयका भावनाहरू खोल्नु छ

प्रिय विद्यार्थी,
तिमी मेरो विद्यार्थी म तिम्रो शिक्षक
म मेरो विद्यार्थी सामु बन्न सकिन कि दिक्षक
सोच्छु धेरै बेर घोरिएर
मैले मेरा विद्यार्थीलाई खै कै सिकाएँ भनेर
साँचो रूपमा असल शिक्षक बनेर
अनि सोच्दा सोच्दै डर लाग्छ
मटु देखि मन मथिङ्गल काप्छ
किनकी मैले तिमीलाई केही सिकाउनै सकेनछु
तिम्रा प्रतिभाहरू बाहिर झिकाउनै सकेनछु ।

प्रिय विद्यार्थी,
यदि मैले सिकाउन सकेको भए
तिमीले मलाई आदर गर्थ्यौ
सम्मान गर्थ्यौ
यदि मैले तिमीलाई सिकाउन सकेको भए
मलाई देख्ना साथ तिमी भाग्दै भाग्दै मेरो
समीपमा पर्थ्यौ
तर तिमी त मलाई देख्ना साथ अर्को्तिर फर्किन्छौ
भेटे बोल्नु पर्ने डरले त्यसै त्यसै तर्किन्छौ

प्रिय विद्यार्थी,
सायद मैले तिम्रो चाहनालाई बुझ्न सकेको छैन होला
मैले सिकाउने शिक्षण कला नै भै न होला
विगत सम्झन्छु आफ्नै विद्यार्थी कालको
आउँछन् स्मृतिहरू हरेक सालको
कुनै शिक्षक कक्षामा आइ रहे हुन्थ्यो जस्तो हुन्थ्यो
उनका मधुर बाणीहरू यी कर्णले एकाग्र भै सुन्थ्यो
बजे पनि घण्टी बसी रहे हुन्थ्यो
पढाइ रहे हुन्थ्यो जस्तो लाग्थ्यो
उहाँका सत्प्रेरक शिक्षण कलाबाट
मनभरि खुसीका उमङ्गहरू जाग्थ्यो
अनि त कुनै शिक्षक आउँदा भने
म आउँदा तिमीलाई जस्तो भएको छ त्यस्तै हुन्थ्यो
यी कानले सरको होइन साथीको कुरा सुन्थ्यो
अनि त त्यो सरको विषय नजानेर मन रुन्थ्यो

प्रिय विद्यार्थी,
विगतले मलाई सम्झाएको छ
विद्यार्थीको आँखामा शिक्षक कस्तो हुनुपर्छ भनेर
तिमी हासेसँगै हास्ने र रुदाँसगै रुनुपर्छ भनेर
तर मैले त्यो गर्नै सकेको छैन
तिमीलाई खुसी भर्नै सकेको छैन

प्रिय विद्यार्थी,
दिएर नयाँ ज्ञान सीप र व्यवहार
नैतिकता अनि आचार ब्यवहार
बनाउदै परिश्रमी र इमानदार
पस्किनु पर्थ्यो युगिन विचार
तर सकिन मैले
ती दिनै सकिनँ
यदि सकेको भए
तिमी घण्टी बज्नासाथ
कक्षामा पस्ने मेरा पदचाप भन्दा
पहिला पस्थ्यौ होला
के दिन्छ नयाँ कुरा भनेर सुन्न
चुपचाप बस्थ्यौ होला

प्रिय विद्यार्थी,
कक्षामा शिक्षक खुसी भए पो
तिमी खुसी हुने हो
खुसी मनले सिके पो
सिकाइ दिगो हुने हो
तर म खुसी हुनै जानिनं
तिमीहरूसामु खुसी हुनु पर्छ ठानिनं
सायद सिकाउन नजानेरै हो कि
आफूलाई कमजोर नठानेरै हो कि

प्रिय विद्यार्थी,
यदि मेरा बोली वचन मृदुभाषी भा'को भए
साथीसँग किन पो बोल्थ्यौ र
यदि मेरो पढाउने शैली उत्तम भा'को भए
कक्षा भरि आवाज किन ओकल्थ्यौ र

प्रिय विद्यार्थी,
मलाई माफ गर ल
किनकी म जस्तो क्षमता हीन
शिक्षकको कारणले
तिम्रो सिक्ने अधिकार खोसिएको छ
ज्ञानको अङ्कुरा भर्नु पर्ने
तिम्रा मस्तिष्क भरि
अपमान र तिरस्कार रोपिएको छ
तिमीले भन्नु पर्छ म जस्तालाई निकाल भनेर
अर्को सक्षम शिक्षक हाल भनेर

प्रिय विद्यार्थी,
हो मैले तिम्रो मन जितेको छैन
ज्ञानले तिमीलाई मिचेको छैन
तर पनि
तिमीले त्यसो नभन है
म विवश छु
शिक्षक बन्न का लागि
बुढा बा आमा पाल्नका लागि
रोगी श्रीमतीको मुखमा औषधी हाल्नका लागि

त्यसैले प्रिय विद्यार्थी,
मैले पढाउन नजानेनी तिमी पढी देऊ
जबरजस्त अगाडि बढी देऊ
सुनी दिनु चुपचाप
राखी दानु मेरा कमजोरी गुपचुप

प्रिय विद्यार्थी
अन्त्यमा,
मेरो एक मात्र कुरा सुनु दिनु
सधैसधै मनभरि बुनिदिनु
तिम्रो नजरमा म प्रिय शिक्षक त बन्न सकिनँ
मलाई प्रिय शिक्षक पनि भन भन्न सकिनँ
तर मेरो नजरमा
तिमी सधै सधै प्रिय नै रहने छौ
म बाचुञ्जेल मेरो मनमा बहने छौ
प्रिय विद्यार्थी बनेर
प्रिय विद्यार्थी बनेर ।।

लम्साल जनज्योति माध्यमिक विद्यालय भिमाद तनहुँका शिक्षक हुन् ।