Edukhabar
शनिबार, १५ बैशाख २०८१
विचार / विमर्श

औपचारिकतामा सिमित नगरियोस् परीक्षा

शुक्रबार, ०५ बैशाख २०७७

नेपाल मात्र हैन, हाल दुनियाँका लगभग सबै मुलुकहरु कोरोना भाईरसबाट आतंकित छन् । अधिकांश मुलुकहरु लकडाउनबाट गुज्रिरहेको अवस्थामा सर्वत्र ठप्प देखिन्छ । यातायात बन्द भएकाले मानिसहरुको आवतजावत छैन । बजार प्राय शुन्य छ । सरकारी तथा गैरसरकारी कार्यालयहरु धेरैजसो चकमन्न छन् । पठनपाठन तथा अन्य शैक्षिक क्रियाकलापहरु रोकिएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको जोखिम न्यूनिकरण गर्न सरकारले गत चैतको प्रारम्भमा नै अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गर्यो । चैत ११ गते पहिलोपटक १८ गते सम्म राष्ट्रव्यापी लकडाउनको निर्णय भयो । दोस्रो पटक चैत्र २५ गते सम्म र तेस्रो पटक २०७७ सालको वैशाख ३ गते अनि चौथो पटक वैशाख १५ गते सम्मको लागि लकडाउन गरिएको छ । नेपालमा हालसम्म कसैको ज्यान गएको पुष्टि नभएता पनि संक्रमित संख्या भने बढ्दै छ । दुनियाँमा सवालाख भन्दा बढि मानिसहरुले ज्यान गुमाईसकेको र २० लाख भन्दा धेरै जनामा सक्रमण भएको खवर आईसकेको छ । अमेरिका, इटली, चीन, स्पेन, वेलायत, फ्रान्स, इरान, वेल्जियम, कोरिया लगायतका मुलुकहरुमा ज्यादा क्षती पुगेको छ । छिमेकी मुलुक भारतमा बढ्दो सक्रमणका कारण हामीलाई थप चिन्तित बनाएको छ ।

हाल सबै भन्दा चर्चा शिक्षा जगतको छ । चैत्र ६ गतेबाट शुरु हुने एसईई परीक्षा करिब १२ घण्टा अगाडि स्थगित भएकाले झण्डै पाँच लाख विद्यार्थी पीडामा रहेका छन् । ती विद्यार्थीको मनोदशा र पारिवारिक चिन्ता सहजै अनुमान गर्न सकिन्छ । त्यस्तै कक्षा १२ र ११ को  क्रमशः २०७७ वैशाख ८ गते र २१ गते बाट हुने परीक्षा अर्को सूचना नगरिए सम्म स्थगित गर्ने निर्णय सँगै नौ लाख भन्दा बढि परिक्षार्थी अन्यौलमा परेमा छन् । उता त्रिभुवन विश्वविद्यालय र सिटिईभिटिले चलिरहेको परीक्षा बीचैमा रोक्दा परीक्षार्थीमा परेको झट्का मापन गर्न कठिन छ । यसरी १५ लाख भन्दा धेरै विद्यार्थी अहिले मानसिक पीडामा छन् ।  

परीक्षा लगायत समग्र शिक्षा क्षेत्रका बारेमा विज्ञहरुका आआफ्ना तर्क सार्वजनिक भईरहेका छन् । परीक्षा नै नलिई सम्बन्धित शिक्षकहरुले आआफ्ना विद्यार्थीको मूल्यांकनगरी कक्षा अपगे्रड गर्ने तर्क पनि अगाडि आएको छ । त्यसै गरी कक्षा १०, ११ र १२ को परीक्षा होम सेण्टरबाट सम्पन्न गर्न सकिने तर्कहरु समेत सार्वजनिक भईरहेका छन् । कोहि भने स्वतः कक्षा चढाउने सल्लाह पस्किरहेका छन् । यसै सन्दर्भमा यो आलेख पनि उल्लेखित विषयमा नै केन्द्रित  रहेको छ ।

१. लामो समय अर्थात तीन महिना नै लकडाउन भएमा पनि आत्तिनु पर्ने अवस्था छैन । किनकी कोरोनाको उपचार भनेकै आजसम्म लकडाउन मात्र विकल्प भएको तथ्य बारम्बार सुनिएको छ । यो हाम्रो मात्र समस्या हैन । हामी यो अवस्था चाडैं अन्त्य होस् भन्ने चाहन्छौ । पहिलो प्राथमिकता मान्छेको जीवन हो । मान्छे बाँचेर मात्र शिक्षा आर्जन गर्ने र अन्य क्रियाकलापहरुबाट विकसित यात्रा सम्भव हुन्छ । हामीले कोरोना संगको युद्ध जित्नै पर्ने हुन्छ । यो समय थोरै धैर्यता र संयमता अपनाएर मात्र हामी अगाडि बढ्नु पर्ने स्थिति छ ।  

२. हतारमा निर्णय गरेर पश्चातापको बाटो रोज्नु हुंदैन । बीना परीक्षा कक्षा अपग्रेड गर्ने महाभूलबाट हामी जोगिनै पर्छ ।  विद्यार्थीको परीक्षा लिनै पर्छ । होम सेण्टरमा नै परीक्षा लिने हो भने त्यो औपचारिकता मात्र हुने छ । यस्ता धन्दा सक्ने काम किन र कसका लागि भन्ने जवाफ पनि जरुरी पर्ला । जेठ असारमा परीक्षा सकेर एक महिनामा नतिजा प्रकाशन गर्ने वातावरण बनाउन सकिन्छ । यो वर्ष कन्फ्रेन्स चेकिड. अप्ठ्यारो पर्न सक्छ । शैक्षिक प्रशाशनले अत्यन्त जिम्मेवारपूर्ण बनि परीक्षकहरु छनौट गरेर अनिवार्य गराई महिना दिनभित्र नतिजा दिन प्रयत्न गर्नुपर्छ । यसो गर्दा भाद्र महिनाबाट कक्षा ११ को पढाई शुरु गर्न सकिन्छ । कक्षा १२ को नतिजा भने बिगत वर्षमा झैं असोजमा र कक्षा ११ को मंसिरमा प्रकाशन गर्दा हुन्छ । यसरी काम गर्दा गराउंदा व्ययभार भने केहि बृद्धि हुन्छ नै ।

३. कक्षा नौ सम्मको परीक्षा गत चैत्र ५ गतेभित्र सकिसक्न शिक्षा मंत्रालयले बारम्बार सूचना गरेकै हो । केहिले बाहेक प्राय सबै विद्याmयहरुले परीक्षा सम्पन्न गरी नतिजा प्रकाशनको तयारी साथ पर्खिरहेको अवस्थालाई नजरअन्दाज गर्न मिल्दैन । वैशाखको पहिलो साताबाट शुरु हुने शैक्षिक सत्र यस वर्ष एक वा दुई महिना पश्चात शुरु हुँदा पनि कभर गर्न सकिन्छ । शिक्षण संस्थाहरुमा गरिने वार्षिक ४५ दिन हिउँदे वा वर्षे विदालाई यहि लकडाउनमा समायोजन गरी लगातार कक्षा सञ्चालन गर्न पनि त सकिन्छ । राष्ट्र संकटमा पर्दा सबै क्षेत्रले केहि न केहि योगदान त गर्नैपर्छ ।

४. लकडाउनको समयलाई सदुपयोग गर्दै प्रविधिसंग जोडिएका शिक्षक तथा प्राध्यापकहरुले ईण्टरनेटको प्रयोग गर्दै आधुनिक विधिहरु मार्फत परिक्षार्थीलाई विषयगत शिक्षण गरिरहेको समाचार सामाजिक सञ्जालमा पाईएको छ । यो सकारात्मक पक्ष मान्नै पर्छ । यसले हाम्रा शिक्षण सिकाइ क्रियाकलापले आधुनिक प्रविधिमा आवश्यक हस्तक्षेप र पहुँचमा वृद्धि गरेको छ । संगै बिर्सनु नहुने तथ्य भनेको यो प्रविधिको सुविधा मात्र १३ प्रतिशत विद्यालयमा मात्रै रहेको सरकारकै तथ्याङ्कले कम्तिमा यही अवस्थामा शिक्षण सिकाइको विकल्प यहि मात्र हो भन्नु उपयुक्त हुदैंन । दूरदराज र गाउँगाउँ अनि नाम मात्रका ईण्टरनेट पुगेका देशका ८० प्रतिशत शिक्षक विद्यार्थीलाई हामीले अलग राख्न मिल्दैन ।  सुविधा भएका विद्यार्थी पनि पढाई सिकाइको लागि प्रविधिमा जोडिन कमै रुची देखाएको पाईन्छ । दिमागमा कोरोना र लकडाउन मात्र आउने, कुरा मात्र खेल्ने अनि परीक्षा कहिले हुने हो अनिश्चित भएकोले पढेर सिकेर बस्न कठिन र छटपटी भएको परिक्षार्थी बताउँछन् ।         

अन्तमा, हरेक सिक्काको दुई पाटा भने जस्तै यो विश्वव्यापी महामारी कोरोना भाईरस    (कोभिड–१९) को कारणले अनेक सम्भावनाका अवसरहरू जन्मिएका छन् । प्रत्येक समस्याले नयाँ अवसरको जन्म दिने तथ्य यहाँ पनि लागू भएको छ । चुनौतीसँगै उत्पन्न अवसरको समुचित व्यवस्थापनले आगामी दिनमा थप उपलब्धि हासिल गर्ने विश्वाश गर्न सकिन्छ । जसरी नेपालमा २०७२ साल बैशाख १२ गतेको भूकम्पले उत्पन्न डरलाग्दो चुनौतीसँगै पुनर्निर्माणको अवसर प्रदान गरेकोलाई स्मरणीय मान्न सकिन्छ । त्यस्तै कोरोना भाईरसको कारणले उत्पन्न समस्याहरूसँगै विभिन्न कोणहरूबाट अनेक अवसरको व्याख्या र प्रष्पूmटन भैरहेको वर्तमान अवस्थामा ती सकारात्मक पक्षलाई विकासमा रुपान्तरण गर्ने महत्वपूर्ण अनुकूलतामा ग्रहण गरेर नयाँ उपलब्धिहरू हासिल गर्न हामी सक्षम हुने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया