आत्मनिर्भरतासँग नाता तोडेको नेपाली शिक्षा


इतिहास
 
आधुनिक नेपालको शिक्षा विकासकालागि २००७ सालको परिवर्तन तथा यसकालागि लागि पर्ने अभियन्ताहरु नै मूख्य कारक रहेका छन् । त्यति बेलाको शिक्षा साक्षरता वृद्धि गर्ने उद्देश्यमा वढी केन्द्रित रहेको थियो । वास्तवमा २०११ को नेपाल राष्ट्रिय शिक्षा आयोगको विवरण, २०१८ सालको सर्वाङ्गिण राष्ट्रिय शिक्षा समितिको रिपोर्ट, राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ र राष्ट्रिय शिक्षा नीति २०७६ नै शिक्षाको विकासका लागि नेपालका प्रयासहरु रहेका छन् । साक्षरता दरमा अभिवृद्धि तथा संस्कृत शिक्षाको विकास गरी कर्मकाण्डका लागि समेत नागरिक तयार पार्नमा शुरुका प्रयासहरुको केन्द्रित रहेको देखिन्छ । मित्र राष्ट्र भारतका विभिन्न स्थानमा रहेका शिक्षा केन्द्रहरुमा गएर नेपाली युवाहरुले शिक्षार्जन गरेको पाइन्छ । राष्ट्रिय शिक्षा पद्धतिको योजनाले पूर्व व्यावसायिक शिक्षाको अवधारणालाई अंगिकार गर्दै व्यावसायिक शिक्षाकालागि आधार खडा गर्ने काम गर्नमा प्रेरक भएको थियो । २०४५ सालमा विधिवत रुपमा स्वीकार गरिएको व्यावसायिक शिक्षा त्यस पछि वहुदलको कार्यकालमा स्थापना गरिएको १० जोड दुई तथा गणतन्त्रकालमा शिक्षामा गरिएको आधारभूत, माध्यमिक र उच्च माध्यमिक शिक्षाको वर्गीकरण केही उल्लेख्य छन् । 
 
व्यावसायिक शिक्षाको प्रादुर्भाव पश्चात यसको विस्तार, महत्व र आवश्यकतामा व्यापक फरक देखिएको छ । गुणस्तरको विषयलाई थाँति राख्ने हो भने बहुदलको सरकारले हाम्रो शिक्षा र स्वास्थ्यको विकासमा उल्लेख्य योगदान दिएको देखिन्छ । माध्यमिक शिक्षा, उच्च माध्यमिक शिक्षा, व्यावसायिक शिक्षा, अनौपचारिक शिक्षा तथा विभिन्न विधाका उच्च शिक्षाजस्ता संस्थागत प्रयासहरु २०४८ पछिका सरकारले गरेका वास्तवमै  सह्रानीय तथा उत्साहप्रद कार्यहरु हुन् । हालका दिनमा देखिएको असन्तुष्टिमा कमजोर नियमन तथा फितलो व्यवस्थापनको योगदान रहेता पनि विकसित जिवनस्तर र वढ्दो आकांक्षाको पनि उत्तिकै हात रहेको छ । 
 
सारांशमा भन्ने हो भने नयाँ शिक्षा पद्धतिको योजनाले संस्कृत तथा नैतिक शिक्षाको प्रतिस्थापन गरी मिशनरी स्कूहरुको स्थापनामा सहयोग गरेको देखिन्छ । प्रजातन्त्रको पुनरागमनले सरकारी तथा निजी क्षेत्रवाट स्कूलहरुको व्यापक स्थापना तथा सञ्चालन गरी केही ठुला घरानियाँ (च्याम्पियन) स्कूलको धारणा विकास भएको पाइन्छ । साथ साथै अध्ययनका लागि देश वाहिर जाने वाढीलाई पनि कम गर्न सफल भएको देखिन्छ । संविधानमा आधारभूत तहको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहको शिक्षा निशुल्क भनिए पनि यसको पूर्ण परिपालना हुन नसकेकाले गणतन्त्र पछि घरानियाँ स्कूलहरुको अवधारणा पूर्णतया संकटमा परेको छ । शिक्षाको आधारभूत मान्यता भनेको उदार, सामाजिक तथा उत्पत्तिको दर्शन नै हो । यस आलेखमा दर्शन, यसको पूर्वीय तथा पाश्चात्य समझ तथा भिन्नता र नेपाली शिक्षाको दिशाकावारेमा व्याख्या गरिनेछ । 
 
दर्शन शास्त्रको समझ 
 
वुद्धिका वारेको सामान्य तथा आधारभूत जिज्ञासा, यसको अष्तित्व, ज्ञान, मूल्य मान्यता, तर्क, दिमाग र भाषा संवन्धि अध्ययन नै दर्शन हो । ईश्वर नै संसारको श्रृष्टिकर्ता, पालनकर्ता तथा सम्हारकर्ता हो र प्राणी तथा वनस्पति सवैको वारेमा निर्णय गर्ने, विकास तथा उत्पत्तिको श्रृंखलालाई अघि बढाउने ईश्वर अथवा उहाँको आदेश नै पूर्णसत्य हो भन्ने दर्शन आदर्शवादी दर्शन हो । मूर्ति पूजा गर्ने वा नगर्ने सवै मतावलम्वीहरु यही आदर्श अथवा शिक्षावाट अभिपे्ररित छन् । अर्कोतिर चर्मचक्षुले देख्न तथा आँकलन गर्न सकिने वस्तु तथा यथार्थ मात्र सत्य हो र त्यो भन्दा पर सवै कोरा कल्पना, साहित्य तथा मिथ्या हो भन्ने दर्शन नै यथार्थवाद हो । आदर्शवाद र यथार्थवादको विकास संगै मानिसको दिमागले वोध गर्न तथा अनुमान गर्न सक्ने अर्को सिद्धान्त  तर्कवाद सहितका यी तिवटा मूख्य दर्शनहरुलाई विभिन्न थप विधाहरुमा परिभाषित गरेको पनि पाइन्छ । यहाँ सिन्धू नदीको सभ्यता तथा रोमन सभ्यतामा आधारित भएर पूर्वी तथा पाश्चात्य दर्शनका वारेमा केही चर्चा गरिन्छ । 
 
प्राचीन ग्रिक, युरोपियन तथा अमेरिकीहरुको पाश्चात्य समाजले मूख्य गरी अस्तित्व (मेटाफिजिक्स), ज्ञान (नलेज), कर्म (एक्शन), शक्ति   (फोर्स) र कला (आटर््स)को अध्ययनलाई दर्शनको अध्ययन भनी महत्व दिएको पाइन्छ । त्यसै गरी उनीहरुले तर्कशाष्त्र, तर्क तथा यिनको वर्गीकरणका माध्यमवाट दर्शनलाई पूर्णता तथा अंशमा वर्गीकरण गरेको पाइन्छ । त्यसै गरी पूर्वीय दर्शनशाष्त्रीहरुले पनि यिनै पाँचवटा विधामा दर्शनलाई विभक्त गरे पनि अस्तित्व तथा ज्ञान र दर्शन तथा धर्ममा भिन्नता गरेको पाइदैन । अस्तित्व तथा ज्ञान र धर्म तथा दर्शन एउटै विषय मानेको देखिन्छ । अनि उनीहरुले दर्शनलाई विचार तथा अवधारणामा वर्गीकरण नगरी पूर्णतामा हेर्ने गरेको पाइन्छ । यसै कारणले पूर्वीय दर्शनमा आत्मा तथा परलोक र मोक्षमा विश्वास गरेको पाइन्छ भने पाश्चात्य दर्शनमा उपभोक्तावादी संस्कृतिमा । पाश्चात्य दर्शनले विधि दर्शनमा रहेको भिन्नतामा जोड दिएको छ भने पूर्वीय दर्शनले तिनमा रहेको समानतामा । पाश्चात्य दर्शनले व्यक्तिको संप्रभुतामा जोड दिएको छ भने पूर्वीय दर्शनले सामाजिकतामा । त्यसैले परिवार समाज र सांस्कृृतिक मूल्य मान्यताहरु हाम्रो समाजको एकीकरणका आधारभूत इट्टा सावित भएकाछन् । 
 
हाम्रो शिक्षाको आधार र दर्शन शास्त्र
 
एकै जाती, रहनसहन, चालचलन तथा भाषा भाषीका मानिसहरुवीचको अन्तरसंवन्ध नै संस्कृति हो भने त्यसै गरी मानवहरुका संस्कृतिहरुको विकास नै इतिहास हो । संकृत भाषा, नैतिक शिक्षा, भुगोल तथा इतिहास समेटिएको सामाजिक शिक्षा र अझ नेपाल परिचयको नाम दिइएको इतिहास प्राथमिक, निम्न माध्यमिक, माध्यमिक तथा उच्च माध्यमिक तहमा पढाईदै आइए पनि प्रजातन्त्रको पुनरागमन पछि यिनीहरुको अध्ययन ऐच्छिक अथवा निर्मूल नै गरियो । राष्ट्रिय विकास सेवाका नाममा सञ्चालन गरिंदै आएको कार्यस्थलको सिकाई सुनिस्चित गरी सामाजिक गतिशीलतासंग साक्षात्कार गराउने उत्तम प्रविधिलाई पनि जगेर्ना गर्न खोजिएन । 
 
व्यावसायिक शिक्षामा रहेको कार्यगत तालीमलाई पनि संपूर्ण तहहरुमा लागु गर्न तत्परता देखिएन । परम्परागत अवस्थामा शिक्षकलाई शिक्षा दान गर्ने गुरुको रुपमा नभई शिक्षण व्यवसाय सञ्चालन गर्ने प्रतिष्ठानको सञ्चालकको रुपमा हेरियो । अझ सरकारी स्कूलको शिक्षक त रोजगारी सुरक्षित भएको राजनीतिक दलको स्वयंसेवी कार्यकर्ता नै बन्यो । विद्यार्थीको वौद्धिक क्षमता भन्दा पनि आर्थिक क्षमताको आधारमा उच्च शिक्षा सम्मको पहुँचता अनुदित भए पछि कार्य सम्पादनमा प्रवीणता तथा गुणस्तरियता ओझेलमा पर्यो । सबै तहका साक्षर तथा पठित व्यक्तिहरुले विदेश पलायनलाई नै जिविकोपार्जनको प्रमूख आधार बनाएको देखिन्छ । सामान्य तथा मध्यम पठितहरु फोहर, कठीन तथा हानीकारक कामका लागि विदेश पलायन भएकाछन् भने मध्यम तथा उच्च पठीतहरुलाई हामीले हाम्रो खर्चमा युरोप तथा अमेरिकाको सेवा गर्नकालागि तयार गरेका छौं । यस्तो देखिदैंछ हाम्रो युवा शक्ति विगतका वर्षहरुमा विदेशी सेनालाई तयार गरिएका पैसामा लड्ने भाडाका सिपाही (मर्सीनरी) र हालका वर्षहरुमा विदेशीकालागि तयार गरिएका भाडाका कामदार अझ सम्मानित नाम दिइएका उच्च सीप भएका आप्रवासी भाडाका कामदार भएकाछन् ।
 
माथि व्याख्या गरिए जस्तै हामीसंग विभिन्न दर्शनहरुको वारेमा जानकारी भए पनि हाम्रो आप्mनै सनातन वैदिक परम्परा तथा गुरुकुल शिक्षण प्रणालीले  पनि शिक्षाको दार्शनिक आधार, यसको मनग्गे अनुभव तथा शिक्षा के का लागि, कसरी र कसका लागि भन्ने यथेष्ट आधार तयार भएकै छ । हाम्रो पविारको विकास वंश परम्परा धान्न तथा परिवार तथा समाजको उन्नत विकास तथा सञ्चालनकालागि भएको देखिन्छ । आमाले गर्ने काम संगसंगै छोरी पनि सहभागि हुने र वावुको काममा छोराले सघाउने परम्परा आत्म निर्भर तथा कार्यस्थलको सिकाई पनि हो । त्यसै गरी स्कूलहरुमा सामान्य करेसावारी, फुलवारी, सरसफाई र सूचना तथा जागरणकालागि विद्यार्थीहरुलाईनै उपयोग गर्ने परम्परा सामाजीकरणको प्रभावकारी माध्यम मात्र नभई काम प्रतिको झुकाव तथा सम्मानकालागि आधारभूत जग पनि हो । अझ दैनिक जिवन यापनकालागि सिलाइ, खेतीपातीकालागि आवश्ययक पर्ने काठ तथा धातुका औजार, खाना पकाउन सहयोगी हुने भाँडाकुँडा र अन्य देनन्दिनीका लागि आवश्यक पर्ने सामाग्रीको निर्माणमा आप्mनै गाउँको आत्मनिर्भरता तथा त्यसको कारेवारकालागि अन्नपात दिने सट्टापट्टा प्रणाली (वार्टर सिष्टम) आत्म निर्भरता तथा आत्मनिर्भरता भित्रको अन्तरनिर्भरता र सामाजिकताको अनुपम अनुभव होइन र ? पूर्वीय  दर्शनले सिकाएको सामाजिकता तथा सबै दर्शन भित्र रहेको समानतालाई जोड दिने भनेको यही होइन र ? 
 
शिक्षामा भएका प्रयासहरुमा नीति निर्माण विशुद्ध राजनैतिक प्रणालीसंग, श्रोत व्यवस्थापन प्रशासनिक प्रणालीसंग, विद्यार्थीहरुको भर्ना व्यक्तिगत तथा पारिवारिक प्रणालीसंग, शिक्षण प्रशिक्षण व्यवसायिक प्रणालीसंग र रोजगारी आर्थिक तथा सामाजिक प्रणालीसंग जोडिएका विषय पहिलो क्रम हो । सवै मापनका उद्योग व्यावसायी, अविभावक, विद्यार्थी, शिक्षक, शिक्षण संस्था, शैक्षिक प्रशासन र राजनीतिक  नेतृत्व कार्यान्वयनका पात्रहरु दाश्रो क्रम हुन् । हाम्रो नीति तथा कार्यक्रम निर्माणमा पहिलो क्रम हावी भएको पाइन्छ । यसमा पनि दातृ निकायलाई टाउकोमै राखेको दखिन्छ । तर प्रभावकारी संपादनमा भने दोश्रो क्रम हावी हुनु पर्नेमा त्यो कति भएको छ ? हाम्रो पूर्णतामा हेर्ने पूर्वीय दर्शनले माथिवाट तल (टप डाउन) गरिने व्यवस्थापनको प्रवृतिलाइ जोड दिएको छ । यसलाई तलवाट माथिको सिद्धान्तमा अथवा अंश अंशको (वटम अप) प्रवृतिमा वदल्नै पर्छ । यसलाई डार्विनको उत्पत्तिको सिद्धान्त तथा हाम्रो हिन्दू विश्वासको दश अवतारले पनि पुष्टि गर्दछ । पानीवाट जीवको (माछा) उत्पत्ति भई उभयचर सरिस्रिप (कछुवा), स्थलचर जनावर (भालु), स्थलचर आधा जनावर आधा मान्छे (नरसिंह), अपूर्ण पुड्को मान्छे (वामन), कम वुद्धि भएको हतियारधारी क्रुद्ध मान्छे (परशुराम), सामाजिक आदर्शमा आश्रित मान्छे (राम), विवेकमा आश्रित मान्छे (कृष्ण), मानसिक शान्तिमा आश्रित मान्छे (वुद्ध) र प्रविधिमा आश्रित मान्छे (कल्की) डार्विनको विकासवादी सिद्धान्त मात्र होइन हरारीले परिकल्पना गरेको वायोनिक अंग जडित मानव र साइवोर्गसंग मेल खाने देखिन्छ । त्यसैले हाम्रो अनुभव तथा श्रोतलाई क्रमिक तथा दिगो विकासकालागि तलवाट माथिको दर्शनमा अथवा अँशवाट पूर्णतातर्फ जोड्नै पर्छ । 
 
के गर्ने त ? 
 
आत्मनिर्भर, निर्णय क्षमता भएको तथा आइपरेका समस्या समाधान गर्न सक्ने विशुद्ध शैक्षिक, संविधानमा मौलिक हकको रुपमा व्याख्या गरिएको कानूनी तथा शिक्षा खर्च होइन लगानी हो भन्ने मान्यताको आर्थिक आधार नै शिक्षाको विकासकालागि उपयुक्त तर्कहरु हुन सक्छन् । साधारण शिक्षामा व्यवस्था गरिएका सामुदायिक, संस्थागत र निजी विद्यालयहरु तथा व्यावसायिक शिक्षाका क्षेत्रमा सरकारी, सामुदायिक, साझेदारी, प्रतिष्ठान तथा निजी शिक्षालयहरुको अवस्था तथा लगानीको अनुभव हामीलाई एकदमै ठूलो अनुकरणीय पाठ हुन सक्छ । हाम्रो वेदान्तमा वास्तविकताको पहिचानकालागि युक्ति (तर्क) तथा अनुभववाट अभिप्रेरित श्रुति (दर्शन), हाम्रो परिष्कृत अनुभव तथा स्पष्ट दिशा तथा गन्तव्य सहितका युक्ति तिनवटा खम्वा मानिएको छ । हाम्रो शिक्षा विकासको दर्शन माथि उल्लेखित कुनचाहि दर्शनवाट प्रभावित छ भन्ने वारेमा संविधानत धर्मनिरपेक्ष भने पनि धार्मिक संस्कारहरुको निरन्तरताका लागि राज्यवाटै सहयोग गरिएको परिप्रेक्षमा हेर्नुपर्ने हुन्छ । प्रचलनकै रुपमा भन्ने हो धार्मिक संस्कारहरुलाई दिइएको सरकारी सहयोगको पक्षमा जनमत एकमत भएको पनि पाइन्छ । 
अब हाम्रो जनजिविका, विपद् व्यवस्थापन आर्थिक विकास तथा पुस्तान्तरणका हिसावले हेर्ने हो, आयातमा निर्भर, विप्रेषण तथा वाह्य पर्यटनमा आधारित अर्थतन्त्र निष्प्रभावी हुने देखियो । त्यसैले आन्तरिक उत्पादनमा आधारित तथा निर्यातमूखी, स्वदेशमै उपलव्ध तिन डी कामहरुका लागि समेत अभिप्रेरित हुन सक्ने कार्य संकृति तथा आन्तरिक पर्यटनलाई नै प्रभावकारी वनाउने गरी हाम्रो शिक्षाका पाठ्यक्रमहरु निर्माण तथा व्यवस्था गर्नुपर्ने देखिन्छ । 
 
अन्तमा, दर्शनमा आधारित ज्ञान नै प्रज्ञा तथा साधारण शिक्षा हो । यसले वस्तुगत रुपमा पेशा तथा व्यावसाय सञ्चालनमा सहायक श्रोतका रुपमा मात्र सहयोग गर्दछ । त्यसै गरी उत्पादन, सेवा तथा प्रविधिको विकासका लागि प्राविधिक शिक्षा वस्तुगत रुपमै कारक हुन्छ र यो प्राथमिक श्रोत नै हो । यही प्राविधिक तथा साधारण शिक्षालाई उपभोक्ता, वजार तथा समाजसंग जोड्ने शिक्षा व्यावसायिक शिक्षा हो । यो शिक्षा अनुभव तथा युक्तिका आधारमा विकसित हुने हुँदा यो व्यावहारिक तथा वास्तविकतासंग नजिक हन्छ, यसमा प्रक्रिया र लगानीको वारेमा मात्र विवाद गर्न सकिन्छ । त्यसैले उपभोक्ता, वजार तथा समाजलाई समेत समावेश गरी हाम्रो आफ्नै दर्शनवाट अभिप्रेरित भएको प्रणाली कार्यस्थलको सिकाई प्रणाली तथा गुरुकुल प्रणाली पनि हो । संपूर्ण शिक्षाको सत्तरी प्रतिशत व्यावसायिक शिक्षा विस्तार गर्ने सरकारी नीति यसकालागि सकारात्मक नै छ । तर यसमा हामीले स्कूललाई व्यावसायिक वनाउन खोजेका हौं कि शिक्षालाई ? त्यसैले  शिक्षा तथा यसको उद्देश्य (फन्क्सन), कार्य संरचना तथा प्रणाली (फन्क्सनरीज) र श्रोत (फण्ड) शिक्षालाई व्यावसायिक वनाउनकालागि प्रभावकारी कार्यान्वयन गर्नकालागि परिचालन गर्न ढिलो भइसकेको छ ।  
 
भट्टराई, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिईभिटिका निर्देशक हुन् ।