शिक्षामा कोभिडको प्रभाव निरन्तर


काठमाडौं - गत साता सञ्चार माध्यममा प्रकाशित खबरमा विद्यालय सञ्चालन कार्यढाचाँ २०७७ को कार्यान्वयनको सन्दर्भ र केहि अन्तर्राष्ट्रिय  समाचारले प्राथमिकता पाएका छन् । हुम्लामा एकै विद्यालयका ३२ विद्यार्थी कोरोना संक्रमणित भए पछि जिल्लाका सबै विद्यालय गर्न दबाब आएको समाचार छ । यस्तै साताका अन्य समाचारमा विद्यालय छाड्ने बालबालिका, कोरोनाका कारण विद्यालय बन्द हुँदा लागुपदार्थ दुर्व्यसनमा बृद्धि, कक्षा १२ को परीक्षा सुरु, उच्च शिक्षा कोषको न्यून उपयोग,  मनमोहन प्राविधिक विश्वविद्यालयले पानी जहाज र रेलवे  इञ्जिनियरिङ्गको पाठ्यक्रमा जोड दिएको लगायतका सामग्री समेटिएका छन् ।

नेपाल सरकारले विद्यालय पुन सञ्चालन कार्यढाँचा २०७७ जारी गरी स्थानीय तहलाई  विद्यालय पुनः सञ्चालनका लागि अधिकार दिएको विषयलाई धेरै सञ्चार माध्यमले समेटेका छन् । उक्त कार्यविधिका अनुसार ७ सय ५३ वटै स्थानीय तहमा विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने निर्णय  कोरोना संक्रमणको अवस्था र विद्यालयको क्षमताको आधारमा त्यहाँको स्थानीय सरकारले गरे बमोजिम हुनेछ । समाचारमा उल्लेख भए अनुसार यसैगरी विद्यालय व्यवस्थापन समिति,  अभिभावक, अधिकारकर्मी, स्थानीय क्लबका प्रतिनिधि, राजनीतिक दल लगायतका सरोकारवालहरूबीचमा छलफल गरेर मात्र विद्यालय पुनः सञ्चालनका समझदारी जुटाउनु पर्ने हुँदा यो काम पनि सहज देखिदैन । यसका साथै विद्यालय व्यवस्थापन समितिले विद्यालयमा सामाजिक दुरी कायम गराउन सकिने विद्यार्थी संख्या, उपलब्ध शिक्षक विवरण, भौतिक पुर्वाधार, स्वास्थ्य तथा सरसफाइ सम्बन्धी सुविधा,  लगायतका विषयमा विवरण उपलब्ध गराउनु पर्ने प्रावधान रहेको छ ।

कोरोना महामारीका अवस्थामा विद्यालय सञ्चालनमा ल्याउने कि नल्याउने भन्ने विषयमा   विद्यालय व्यवस्थापन समिति र त्यहाँको स्थानिय सरकारले स्थानीय परिवेस अनुसार निर्णय गर्नका लागि जिम्मेवार बनाउनु कार्यढाँचाको सकारात्मक पक्ष हो । कोरोनाका कारणले गर्दा मात्र संघीय निकायहरूले  विद्यालय सञ्चालन सम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण गर्न बाध्य भएका हुन् । 

एउटै छात्रावासमा बस्दै आएका ३२ जना विद्यार्थीमा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको समाचार कान्तिपुर दैनिकको मुख्य पृष्ठमा प्रकासन भएको छ । नाम्खा नगरपालिकाको यालवाङ्ग स्थित महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा कोरोना संक्रमिण देखिए पछि हुम्ला जिल्लाका सबै विद्यालय बन्द भएका छन् । जिल्ला बाहिरबाट आएका शिक्षक र विद्यार्थीले पिसिआर टेष्ट गरेर करिव दुइ महिना अगाडी मात्रै विद्यालय सञ्चालन गरिएको महाबौद्ध विद्यालयमा प्रधानाध्यापकले जानकारी दिएका छन् । मास्कको प्रयोग अनिवार्य गरेको भएपनि छात्रवासमा कोरोना देखिएकोले विद्यालय बन्द गर्नु परेको पनि समाचारमा उल्लेख छ ।

तस्वीर : संक्रमण फैलिएको हुम्लाको नाम्खास्थित महाबौद्ध माध्यमिक विद्यालयमा केही दिन  अघि मास्क लगाएर अध्ययन गर्दै विद्यार्थी । कान्तिपुर दैनिकमा मंसीर ५ मा प्रकाशित ।

कोभिडका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीमा लागु पदार्थको दुव्र्यसनी बढेको समाचार प्रकाशन भएको छ । रौतहटमा कोरोना संक्रमण देखिए पछि विगत सात महिना देखि विद्यालयहरु बन्द रहँदा विद्यालय तहका विद्यार्थीले लागुपदार्थको दुरुपयोग गर्न थालेका हुन् । चन्द्रपुर नगरपालिकाको दुर्गा मावि, ठाडाका प्रधानाध्यापकका अनुसार हरेक वर्ष आठ देखि दश जना विद्यार्थीले लागु औषध दुव्र्यसनी भएर विद्यालय छोड्ने गरेका छन् ।

गत साताबाट शुरु भएको कक्षा १२ को परीक्षा सम्बन्धी समाचार पनि आएका छन् । कोरोनाका कारण लामो समयसम्म रोकिएको कक्षा १२ को परीक्षा सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डले नयाँ मापदण्ड जारी गरी ४० प्रतिशत अंक भारका लागि परीक्षा लिएको छ । मापदण्ड अनुसार परीक्षार्थीले आफ्नै विद्यालयबाट परीक्षा दिने छन् भने पहिलेको स्तरीकृत तीन घण्टाको परीक्षा अवधिलाई पनि घटाएर एक घण्टा तीस मिनेट कायम गरिएको छ । बाँकी ६० प्रतिशत अङ्कमध्ये विद्यार्थीको कक्षा ११ को प्राप्तङ्कको आधारमा राष्ट्रिय परीक्षा वोर्डले ४० प्रतिशत  र २० प्रतिशतका लागि आन्तरिक मूल्यांकनका आधारमा सम्बन्धित विद्यालयले नम्बर दिने व्यवस्था छ । मंसिरको दोस्रो साता सम्ममा नियमित परीक्षा सम्पन्न हुनेछ । स्वास्थ्य सेवा र आवश्यक परीक्षणको सुनिश्चितताका लागि सबै परीक्षा केन्द्रमा हेल्प डेस्कको अनिवार्य व्यवस्था गरिएको  समाचारमा उल्लख छ । यस्तै अर्को एक समाचार अनुसार चार हजार एक सय पाँच परीक्षा केन्द्रहरू मध्ये छ सय १७ केन्द्रमा इमेलको सुविधा नभएकोले  प्रश्न पत्र छपाई गरी  पठाउनु परेको छ । अनलाइन पढाइ र अनलाइन परीक्षाको बहस चलिरहेको सन्दर्भमा आवश्यक पुर्वाधारको अभावले उक्त कार्य कार्यान्वयनमा लैजान  कठिनाइ भएको वोर्डका अध्यक्षलाई उदृत गरिएको समाचार प्रकाशन भएको छ । 

कोरोनाकै बीचमा  त्रिभुवन विश्वविद्यालयले पनि स्वास्थ्य सम्बन्धी मापदण्ड पुरा गरी  विगत आठ महिना देखि रोकिएको परीक्षा लिन शुरु गरेको छ  । कोरोना संक्रमित परीक्षार्थीलाई छुट्टै बसेर परीक्षा दिने व्यवस्था मिलाइएको छ भने परीक्षा केन्द्रमा पुग्न नसक्ने विद्यार्थीलाई संक्रमण भएको पुष्टि हुने प्रमाणको आधारमा पछि परीक्षा दिन पाउने व्यवस्था मिलाइने भएको छ ।

एक विचारमुलक लेखमा अनलाइन माध्यमबाट विद्यार्थीले चिट चोर्ने संभावना अत्यधिक हुने र त्यसको समाधानका लागि 'अनर कोड तथा अनर पद्दती'ले काम  गर्न सक्ने विचार उल्लेख छ । 'अनर कोड' कुनै प्राज्ञिक र वौद्धिक समुदायले के गर्न हुने र के गर्न नहुने भनि निर्धारण गरिएको मुल्य, नियम वा आदर्शहरु हुन् ।  

त्रिभुवन विश्वविद्यालयमा सह प्राध्यापक पदको प्रतियोगितात्मक लिखित परीक्षामा आवश्यक सिट संख्या भन्दा कम उमेद्वार उत्तीर्ण  भएको विषयमा केन्द्रित भई वर्तमान उच्च शिक्षाको गुणस्तर माथी प्रश्न उठाएको विचारमूलक लेख भएको छ । आलेखमा उच्च शिक्षालाई  अनुसन्धानमूलक र रोजगारमूलक बनाउनका लागि पाठ्यक्रममा समय  सापेक्ष परिमार्जन  गरी  सान्दर्भिक बनाउनु पर्ने उल्लेख छ । यस्तै लेखमा त्रिभुववन विश्वविद्यालयले लेक्चरर, सहायक प्राध्यापक, सहप्राध्यापक र प्राध्यापक गरी चार तहमा विभाजन गरी शिक्षण पेशामा जनशक्ति आपूर्तीको दिर्घकालिन व्यवस्थापन गर्न सुझाब दिएको छ । अर्को एक विचारमूलक लेखमा पनि त्रिभुवन विश्वविद्यालयको शैक्षिकस्तर खस्किनुको प्रमुख कारण राजनैतिक हस्तक्षेप रहेको निष्कर्ष प्रस्तुत गरिएको छ । यस्तै त्रिभुवन विश्वविद्यालयमा २०२० / २०३० को सुधार दशक योजना चल्दै गरेको सन्दर्भमा यसको रचनागत पुनसंरचना हुनुपर्नेमा पनि जोड दिइएको छ । 

एक समाचार अनुसार विभिन्न विश्वविद्यालय अन्तरगतका  अनुसन्धान केन्द्रहरू बजेटको अभावमा निष्क्रिय भएका छन् भने उच्च शिक्षा सुधार योजनाका लागि विश्व बैंकले उपलब्ध गराएको ऋण अनुदान  खर्च नभएर  फिर्ता गर्नुपर्ने भएको छ । 

एक नम्बर प्रदेशले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयमा आगामी शैक्षिक वर्षदेखि पठनपाठन सुरु हुने भएको छ । समाचारमा उल्लेख भए अनुसार मुलुकमा पुर्वपश्चिम रेलमार्ग सञ्चालन गर्ने निर्णय भए बमोजिम विश्वविद्यालयलयले पनि पानी जहाज र रेलवे इञ्जिनियरिङ्ग विषयको पाठ्यक्रम तयार गरेको उक्त विश्वविद्यालयका प्रमुख कार्यकारीले जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय विद्यार्थीको पहिलो रोजाइमा अमेरिका परेको एक समाचार छ । विस २०२० को लागि खुला गरिएको  ईण्टरनेशनल एजुकेशनल एक्चेन्ज  कार्यक्रमबाट प्राप्त सुचना अनुसार सन् २०१९ को तुलनामा नेपाली विद्यार्थिको संख्या तीन दशमलब आठ प्रतिशतले  घटेको भए ता पनि स्नातक र स्नातकोत्तर तहका अन्तराष्ट्रिय नेपाली विद्यार्थीको संख्या विश्वमै १२ औँ स्थानमा रहेको छ । 

यस्तै अन्तरर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार बैङ्ककमा विद्यालयमा विद्यार्थीले नेतृत्व गरेको आन्दोलनमा हजारौँ मानिस सहभागी भएका छन् । उक्त आन्दोलनमा शैक्षिक सुधारको साथै राजतन्त्रको अधिकार कटौतीका लागि दबाव दिइएको छ । यस्तै समाचारमा उल्लेख भए अनुसार विद्यालयमा यौन दुर्व्यवहारको विरुद्ध लैङ्गिक समता र सुरक्षित विद्यालयको माग गर्दै आन्दोलन भएको छ । 

अर्को एक खबर अनुसार कतार एयरवेजले संसार भरीका विद्यार्थीको शैक्षिक यात्रामा सहयोग पुर्याउने उद्देश्यले एक विशेष कार्यक्रम ल्याएको उल्लेख गरिएको छ  ।

‘शिक्षामा यो साता’ सञ्चार माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । दैनिक पत्रिकाहरु कान्तिपुर र दी हिमालयन टाईम्स एवं अनलाईनहरु नयाँ पत्रिका, माई रिपव्लिका र सेतोपाटीमा मंसिर ४ देखि ९ गते सम्म प्रकाशित शिक्षा सम्वन्धि विषयवस्तुलाई आधार बनाई शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरद्वारा यो विश्लेषण गरिएको हो – सम्पादक ।

यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : COVID impact in education continues