Edukhabar
आइतबार, ०९ बैशाख २०८१
सम्पादकीय

फेरी विषयान्तरको प्रयास

बुधबार, ०१ पुस २०७७

कुनै पनि वहानामा बालबालिकाको सिकाइ रोक्नु हुँदैन । विद्यार्थी र शिक्षकको सम्बन्ध जोड्नु पर्छ । तत्काल शैक्षिक गतिविधि शुरु गर्नु पर्छ ।

विद्यालय सञ्चालन रोकिएको हो, सिकाइ रोकिएको होइन र रोकिनु हुदैँन् । 

हामीले यसो भनेको  ८ महिना पहिले देखि नै हो । 

उल्लेखित अवधारणालाई फरक व्याख्या गर्दै प्रत्यक्ष विद्यालय खोल्नु पर्छ भनिएको रुपमा अथ्र्याएर - 'हामी शिक्षकलाई कोरोना लाग्यो भने तँ जिम्मेवार हुन्छस् ?' भन्ने भाषामा हामीलाई थुर्पै गाली प्राप्त भए । जुन अहिले पनि जारी नै छन् । 

त्यसरी गाली गर्ने, यस्तो बेला पनि सिकाइको कुरा गर्छ भन्नेहरुको एउटा ठूलो समूह फेरी विषयान्तरको प्रयासमा जुटेको छ । 

विश्वव्यापी महामारीका रुपमा कोभिड १९ संक्रमण शुरु भयो । तर यसको संंक्रमण जोखिम नभएको ठाउँमा कहिले पनि विद्यालय बन्द गर्न जरुरी नै थिएन । जहाँ संक्रमण छ त्यहाँ विकल्प सहितका सिकाइ विधिबाट बालबालिका र शिक्षकलाई जोड्ने तर्फ स्पष्ट पार्न शिक्षा मन्त्रालयको नेतृत्व असफल हुँदाको ‘वाईप्रोडक्ट’ ८ महिना पछि फेरी देखिन थालेको छ । 

महामारीको गम्भिरताले बालबालिकाको सिकाइमा परेको समस्यालाई समयमै पर्गेल्न नसकेको शिक्षा मन्त्रालयको अकर्मण्यताले उनीहरुको सिकाइलाई मात्रै हैन जीवनलाई नै अन्योलता तर्फ धकेल्दै छ । तिहार विदा शुरु हुने दिन ढिलो गरी लुकिछिपी शैलीमा संघीय शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन कार्यढाँचालाई हवाला दिदैं यतिखेर विद्यालय खोल्ने लहर शुरु भएको छ । 

र, जबरजस्त प्रश्न उठेको छ – के अब कोरोनाको महामारी अन्त्य भएको हो ? 

महामारीको अवस्था स्वास्थ्य विज्ञले तथ्यका आधारमा गर्ने विश्लेषणले निर्धारण गर्छ । कसैका मनगढन्ते तर्कले होइन । किराना र फेन्सी पसल खोल्ने, होटल रेष्टुरेण्ट खोल्ने विद्यालय किन नखोल्ने ? भन्ने तर्क विद्यालय के हो भन्ने नबुझ्नेहरुले गर्ने तर्क हुन् । रेष्टुरेन्टमा एक ग्राहक आफ्नो इच्छाले एक दिन जान्छ, बढीमा आधा घण्टा बस्ला । पसलमा दश मिनेट भुल्ला । तर विद्यालयमा एउटा विद्यार्थी अरु सयौँ विद्यार्थीसँग दैनिक र घण्टौ सँगै बस्छ । म जान्न भन्न पाउँदैन । विद्यालय कसरी चल्छ, विद्यालयमा के हुन्छ भन्ने आँखा चिम्लेर व्यापार खोल्ने विद्यालय नखोल्ने भन्ने तर्क कुबुद्धि मात्र हो । 

अहिले तथ्याङ्कले संक्रमण घटेको देखाए पनि विश्वत हुने आधार देखाउँदैन । हरेक दिन हजार १२ सयको हाराहारीमा नयाँ संक्रमण थपिदैं छ र अझै थपिदै जाने संभावना छ । 

यूरोपका कतिपय देशमा फेरी संक्रमणको दर उकालो लागेको छ । खुलेका विद्यालयहरु बन्द गर्ने निर्णय भईरहेको छ । 

के यूरोप अमेरिकामा जे भयो हामीले यहाँ त्यही गर्नुपर्छ ? 

नि:शन्देह पर्दैन ।

हाम्रो धरातलीय अवस्था फरक छ । भौगोलिक अवस्थिति भिन्न छ । धेरै विद्यार्थी भएका र शहर बजारका विद्यालयको अवस्था फरक छ । तर कतिपय गाउँमा कसको घरमा को नयाँ मान्छे आयो भन्ने सारा गाउँलेलाई थाहा हुन्छ, कसको घरमा को बिरामी छ भन्ने पनि थाहा हुन्छ । त्यस्ता गाउँका विद्यालयहरु खोल्ने कि बन्द गर्ने भन्ने विषय निक्र्योल गर्न काठमाडौं स्थित सिंहदरबारको फर्मान कुर्नु पर्दैन थ्यो । 

तर चोक चौतारामा गफ लडाउँदै बस्न स्वाद मानेका शिक्षकको ठूलो समूहको प्रभाव छिचोल्न अधिकाँश स्थानीय सरकारले शुरु देखि नै जाँगर देखाएनन् । र, संघीय सरकारले जारी गरेको १० पाने कार्यढाचाँ हात परे पछि बल्ल बालबालिकाको सिकाइ रोक्नु हुँदैन भन्ने आवाज बढेको देखिन्छ ।  

जब की दुर्गम स्थानका केही विद्यालयमा प्रत्यक्ष र घनावस्ती तथा बालबालिकाको संख्या धेरै भएका गाउँघरका विद्यालयमा आलोपालो र शहर बजारका ईण्टरनेटको पहुँच भएका बालबालिकालाई केही विद्यालय र शिक्षकले बैशाख देखि नै सिकाइमा जोडिरहेका थिए, छन् । 

जहाँ प्रत्यक्ष कक्षा सञ्चालन गर्न सकिन्थ्यो त्यहाँ प्रत्यक्ष, जहाँ सकिँदैन त्यहाँ विकल्प र जहाँ ईण्टरनेटको पहुँच थिएन त्यहाँ पहुँच वृद्धि गर्ने तर्फ वितेको ८ महिनामा शिक्षा मन्त्रालयले स्पष्ट कार्यक्रम लागू गर्न नसक्दा जहाँ तँही एउटै शैली र स्वरुपमा काम गर्ने पुरानै ढाँचा निरन्तर छ । यसको उदाहरण पछिल्लो समय विद्यालयहरुले प्रत्यक्ष कक्षा शुरु गर्न थालेका घटना हो । 

खास गरी निजी लगानीमा खुलेका शहर बजार केन्द्रित विद्यालयहरु प्रत्यक्ष पढाई गर्न हतारिएका छन् । अनलाईनबाट कक्षा सञ्चालन गर्दा पनि शुल्क उठ्न नसके पछि आर्थिक रुपमा क्षती बेहारेको महशुस गर्ने ती विद्यालयहरुलाई खोल्न तातो लागेको छ । साविकको शैलीमा पठनपाठन हुन नसके पछि जारी अनलाईन कक्षाको यथोचित शुल्क निर्धारण नगरेका त्यस्ता विद्यालयहरु तत्काल खोलेर साविककै शुल्क उठाई हाल्ने हतारोमा देखिन्छन् । यसरी खुलेका कतिपय विद्यालयका शिक्षक र बालबालिकामा संक्रमण देखिएको छ । विद्यालय बन्द गर्ने क्रम फेरी उसै गरी उही रफ्तारमा शुरु भईरहेको छ । 

अर्थात् घटनाक्रम घुमिफिरी फेरी बैशाख तिरै पुग्दैछ ।  

त्यसो भए बालबालिकाको सिकाइ कसरी गर्ने त ? 

कक्षा कोठामा नगएर पनि सिकाइ हुन्छ भन्ने कुरा शिक्षकले नबुझे सम्म वा नबुझाए सम्म र असामान्य अवस्थामा सामान्य तरिकाकै पठनपाठन भन्दा विकल्पबाट पनि सिक्न सक्छन् भन्ने कुरा अभिभावकले आत्मसात नगरे सम्म यसको समाधान सहज छैन । सरकारले सबैलाई मोबाइल बाँडोस्, हामीले जुमबाट पढाउँछौ भन्ने मनोदशा भएको शिक्षक समूहलाई जवाफदेही बनाउने, परिचालन गर्ने र काममा लगाउने स्थानीय सरकारको निष्क्रियताले बालबालिकामा कोरोना जोखिम बढाउँदै छ ।

अवस्था असामान्य हो, सामान्य तरिकाले सोचेर हुँदैन । थप मेहनतको जरुरी छ । थप प्रयासको खाँचो छ । थप स्रोत साधनको जरुरी छ । संघीय सरकार, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति र सबै भन्दा महत्वपूर्ण शिक्षकले फरक तरिकाले सोच्ने र तदनुरुप कार्य नगरे सम्म जारी अन्योल कायम रहने पक्का भईसकेको छ । 

चालु शैक्षिक सत्रको ४ महिना अझै बाँकी छन् । संघीय सरकारको डेढ अक्कल बुद्धिले चैतमा शैक्षिक सत्र सकाउँछु भन्दैछ । यो वर्षको शैक्षिक सत्र असारसम्ममा सकाएर अर्को वर्ष चैतमा ल्याउँदा पनि ठूलो आकाश खसिहाल्दैन होला । मुख्य कुरा विद्यार्थीको न्यूनतम सिकाइ हो । भन्दा भन्दै पनि वास्ता नगरेका कारण ८ महिना वित्यो । तर बाँकी दिनमा योजनावद्ध तरिकाले कार्य गर्ने हो भने अझै पनि बालबालिकाको सिकाइलाई प्रभावकारी बनाउन र शैक्षिक सत्रलाई सही बाटोमा ल्याउन कठिन छैन । प्रत्यक्ष कक्षा सञ्चालन हुन सक्ने ठाउँमा स्वास्थ्य सजगता अपनाउँदै विद्यालय खोल्न सकिन्छ । तर जहाँ अझै संक्रमण जोखिम र प्रतिकुल अवस्था छ त्यहाँ माथि भनिएका ४ वटै पक्षले गम्भिरता पुर्वक योजनावद्ध तरिकाले निम्न कार्य प्रारम्भ गर्न जरुरी छ :

१. शिक्षण सिकाइका लागि कागजी योजना र ढाँचा भन्दा धरातलीय यथार्थता बोध गर्दै आवश्यकताका आधारमा श्रोत साधनको यथोचित प्रवन्ध गर्ने र आवश्यक स्थानमा वितरण गर्ने काममा संघीय सरकार तत्काल जोडिनु पर्छ । 

२. संघीय सरकारले जारी गरेको ढाँचा सबै स्थानीय सरकारमा पर्याप्त नहुन सक्छ । स्थान हेरी यो भन्दा फरक आवश्यकता हुन सक्छ । यस तर्फ स्थानीय सरकारले छुट्टै विधि निर्माण गर्न आवश्यक छ । केही उदाहरण यस्ता पनि भेटिएका छन् - आफ्ना विद्यार्थी को हुन र कहाँ छन् भन्ने अहिले सम्म पत्तो छैन ।  आफ्ना बालबालिका कहाँ छन् पहिचान गर्दै उनीहरुको सम्पर्कमा पुग्न शिक्षकलाई वाध्यकारी व्यवस्था गर्न स्थानीय सरकारले तत्काल कार्य प्रारम्भ गर्नु जरुरी छ । 

३. महामारीबाट जोगिदैं आफ्ना बालबालिकाको सिकाइलाई निरन्तर राख्ने गरी विद्यालयको आन्तरिक व्यवस्थापनलाई चुस्त बनाउन व्यवस्थापन समितिले पनि उक्त ढाँचाका बुँदामा थपघट गर्दै आफ्नो स्थान अनुकलु व्यवस्था गर्न जरुरी छ । 

४. मुख्य कुरा प्रत्यक्ष कक्षाको रटानबाट माथि उठेर शिक्षकले प्रविधि प्रयोग, आलोपालो विधि, भौतिक दुरी अपनाउँदै बालबालिकासँगको सम्पर्क स्थापना, शिक्षण सिकाइका लागि आवश्यक सामग्रीको निर्माण र विद्यार्थीलाई वितरण गर्न जरुरी छ । 

५. भौतिक रुपमा कक्षा भित्र थुनेर र कालो र सेतो पार्टिमा कोरेर, प्रवचन शैली अपनाएर यता सुन, यता हेरको शैलीले मात्र पढाउन र सिकाउन सकिन्छ भन्ने चिन्तनबाट बाहिर निस्केर विद्यार्थी संख्या अनुसार, कक्षा अनुसार, टोल समुदाय अनुसार, विषय अनुसार सहजीकरण गर्ने पद्धति अवलम्बन गर्न जरुरी छ । 

६. कतिपय विद्यालयले साना कक्षामा गृह विद्यालय अवधारणा लागू गरेका छन् । कतिपय विद्यालयले अनलाइनमा जोडिनेलाई अनलाइन, पहुँचमा नभएकाहरुलाई टोल सिकाइ र व्यक्तिगत शिक्षणका विधि अपनाएका छन् । हरेक विद्यालय र शिक्षकले आफ्नो वास्तविक अवस्था पहिचान गरी मिश्रित पद्धति अपनाउनु जरुरी छ । 

७. महामारीमा सिकाइलाई निरन्तरता दिन सकिने विधि थुप्रै छन् । तर अनलाइन बाहेक अरुलाइ नदेख्ने, प्रयोग गर्न नचाहने शिक्षकको संख्या ठूलो छ । थोरै विद्यार्थी भएका विद्यालयहरुमा वैयक्तिक शिक्षण हुन सक्छ । धेरै विद्यार्थी भएकाहरुमा स्यवंसेवक शिक्षकहरुको व्यवस्था गर्ने र टोल सिकाइ हुन सक्छ । गृह विद्यालय हुन सक्छ । प्रश्नोत्तर विधि हुन सक्छ । परियोजनामा आधारित सिकाइ हुन सक्छ । 

स्थान र अवस्थाले उल्लेखित बुँदा तल माथि हुन सक्छन्, सवाल समस्या खोतलीरहने कि समाधान खोज्ने भन्ने मात्रै हो । 

यो महामारीको समयमा सिकाइलाई निरन्तरता दिन थप मेहनत गर्न, वक्स भन्दा बाहिर निस्केर सोच्न, विभिन्न रणनीतिक योजना बनाउन तर्फ पहल नगर्ने हो भने नतिजा हासिल हुन सक्दैन । स्थान अनुसार, विद्यालय अनुसार फरक फरक योजना बनाउनु आवश्यक छ । पालिकाहरु विद्यालयलाई योजना पेस गर्न लगाउने, एउटा विद्यालयले अर्को विद्यालयको योजनामा नाम फेरेर पेस गर्ने अवस्था देखिएको छ । 

स्थानीय सरकारहरु नै संघीय सरकारले जारी गरेका ढाँचा भन्दा बाहिर निस्कन नचाहने, सातवटा बाहेक अरु पनि विधि हुन सक्छन भनेर भन्न नसक्ने र हामीले यो विधि प्रयोग गरेका छौँ, यसबाट अझ प्रभावकारी हुन्छ भन्न नसक्ने शिक्षकहरुबाट सिकाइ निरन्तरता हुन्छ भन्नेमा विश्वस्त हुने आधार भने देखिएको छैन । 

प्रतिक्रिया