Edukhabar
आइतबार, १९ असोज २०८२
सम्पादकीय

मन्त्रालयलाई मन्त्रालय बनाऊ

चौबीसै घण्टा काम गर्ने नाममा शिक्षामन्त्रीले मन्त्रालयमै गरेको ‘गाँस, बास र कपास’ को ‘साम्यवादी’ शैली झट्ट देख्दा सरल र सहज लाग्ला, तर, यो शैली प्रशंसा गर्नुपर्ने खालको शोभनीय छैन ।

बुधबार, १५ असोज २०८२

सुन्दा त रमाइलै छ ! 

समय नपुग्ला भनेर चौबीसै घण्टा काम गर्न शिक्षामन्त्रीले कार्यकक्षसँगै जोडिएको कोठामा खाट जडान गरेका छन् । झुल टाँगेका छन् । छेउमा ग्याँस बालेका छन् र दाल चामलमा सिटी लगाएका छन् । निर्देशन, फाइल सदर, छलफल, योजनाको दैनिकीबाट थाकेपछि शिक्षामन्त्री ‘मन्त्रीको कुर्सी’ बाट ज्यान लोलाउन मुस्किलले १५ पाईला उता पट्टी रहेको ‘मन्त्रीको ओच्छ्यान’ सर्छन् । शायद विशेष परिस्थितिमा बनेको सरकारका विशेष शिक्षामन्त्री भएकाले होला, महावीर पुन मन्त्रालयमा विशेष गर्न चाहन्छन् । 

त्यसो भए के सबै विशेष, आवश्यक र शोभनीय हुन्छ ?

उत्तर सरल छ, हुँदैन । 

चौबीसै घण्टा काम गर्ने नाममा शिक्षामन्त्रीले मन्त्रालयमै गरेको ‘गाँस, बास र कपास’ को ‘साम्यवादी’ शैली झट्ट देख्दा सरल र सहज लाग्ला, तर, यो शैली प्रशंसा गर्नुपर्ने खालको शोभनीय छैन । यो किन पनि अशोभनीय छ भने, उनले भने जस्तो मन्त्रालयमै चौबीसै घण्टा काम गरेर देशको शिक्षा सप्रिने होइन । मन्त्रालय शिक्षा सुधारको मूल मुकाम हो । देशको शिक्षा, शिक्षा सुधारका नीति कार्यकक्षमा ओच्छ्यान नलगाइ कार्यसम्पादनको निश्चित समयमा पनि तयार गर्न सकिन्छ । मुख्य कुरो, लयवद्ध र प्राथमिकता तय गरेर काम गर्नु पर्यो । 

प्रश्न स्वभाविक उठ्न सक्छ, एउटा मन्त्री मन्त्रालयमा सुत्दैमा के फरक पर्छ ? 

व्यक्तिमात्रै हुँदा केही फरक पर्दैन । जीवन कसरी जीउने व्यक्तिको आफ्नो इच्छाको कुरा हो । पुनको संघर्षपूर्ण जीवनका थुप्रै कुरा सार्वजनिक भईसकेका छन् । व्यक्तिगत जीवन सादगी नै देखिन्छ । उनी एक्लै सडकमा हिँडिरहेका भेटिन्छन् । अर्थात् नागरिकसँग सिधा पहुँच छ । राम्रै हो । मन्त्री हुँदैमा अनावश्यक तामझाम गर्नै पर्छ भन्ने उनमा कुनै आशक्ति देखिँदैन । शक्ति र पदको आडम्वरी शैलीका कारणले नै पदमा पुगेकाहरु प्रति नेपाली समाजमा आदर घट्दो छ । त्यसैले कोही पनि व्यक्तिले मन्त्री वा पुर्व मन्त्री हुँदा आफ्नो व्यक्तिगत जीवनशैली बदलिरहन जरुरी नै छैन । सामान्य नागरिक सरहको जीवनले उनीहरुको व्यक्तित्वलाई थप सफा बनाउँछ । पुनको अहिले सम्मको शैली त्यही बाटोमा देखिन्छ । 

यत्ति भन्दै गर्दा पनि स्मरणयीय कुरा के हो भने, व्यक्तिगत जीवनको कुरा फरक हो । राजकीय विशेष जिम्मेवारी सम्हालेपछि ख्याल गर्नु पर्ने सुरक्षा प्रोटोकल मात्रै हैन ठाउँ अनुसार पद, मर्यादा र संस्थाका आआफ्नै ओज हुन्छन् । 

मन्त्रालय संस्था हो, संस्थालाई संस्थाकै रुपमा रहन दिएमात्रै त्यसको इज्जत रहन्छ । 

मन्त्री पद हो । त्यो पद अनुकरणीय पनि हुन्छ । त्यसका केही विशिष्ठ मूल्य मान्यता हुन्छन् । 

जान्नेहरु भन्छन्, मानसिक स्वास्थ्यका हिसाबले पनि कार्यालय, ओच्छ्यान र भान्सा बीच दूरी भएकै राम्रो हो । 

शिक्षा मन्त्रालयका सबै कर्मचारी पक्कै पनि ‘विशेष मन्त्री’ जस्तो ‘विशेष निष्ठावान’ छैनन् । नयाँ मन्त्रीजस्तै चौबीसै घण्टा मन्त्रालयमा काम गर्ने उर्जा वर्षौ अघिको लोकसेवाको प्रश्न घोकेर आएका कर्मचारीमा समय कालसँगै क्षय हुँदै गएको सत्य प्रष्ट छ । र, सजिलै उनीहरुबाट नयाँ मन्त्रीको ‘काम गर्ने उर्जा’ अनुकरणको सम्भावना तत्काललाई चिम्टी पनि छैन । त्यसमाथि जननिर्वाचित नभएका र निर्वाचन गर्ने मुख्य जिम्मेवारी तोकिएका तथा दैनिक प्रशासनिक काम चलाउन निश्चित समय सीमाका लागि बनेको सरकारका मन्त्रीको उर्जाले कर्मचारीको उर्जालाई ‘फुल चार्ज’मा ल्याउने सम्भावना अहिलेलाई कल्पनाको कुरा मात्रै हो ।

तर, केही गरी मन्त्रीझैँ चौबीसै घण्टा काम गरेर रातारात देशको शिक्षा सुधार्ने ‘भावुक उत्तेजना’ मन्त्रालयका सचिव, सहसचिव, उपसचिव, अधिकृत, सुब्बा, खरदार, चालकमा पनि जागृत भयो र आआफ्नो कार्यकक्षको क्षेत्रफल अनुसारको खाटमा झुल टाँग्न थाले भने के होला ? कल्पना गरौँ त ! 

त्यस्तै उर्जा विश्वविद्यालयका प्राध्यापक, कर्मचारीलाई पनि आयो भने ? 

विभागीय मन्त्रीको होस्टेमा हैँसे गर्न विद्यालय तहका शिक्षक, कर्मचारी पनि मान्द्रोगुन्द्री, तन्ना तकिया बोकेर कक्षाकोठा तिर झुल टाँग्न थाले भने ? 

मन्त्रीले कुन नैतिकताले त्यसो नगर भन्ने हो ?

पुनले आफ्नो व्यक्तिगत स्वभावजन्य ‘विन्दास शैली’मा कार्यकक्षमै बासको प्रवन्ध गर्न भने । मन्त्रीको वचन खस्ने वित्तिकै ‘हस हजुर’ शैलीमा मन्त्रालयका सचिव, सहसचिवहरु किन हौसिएका ?

‘मन्त्रीका हैसियतमा गर्ने काम नीतिगत निर्णय केन्द्रित हो, त्यसको लागि चौबीसै घण्टा मन्त्रालयमा पहरेदार बस्न पर्दैन’ भन्न तिनीहरुलाई के ले रोकेको हो ? 

जेन जी बिद्रोहको भोलिपल्ट भएको ध्वंसका कारण ध्वाँसो लागेको सिंहदरबार स्थित मन्त्रालयलाई साना तहका कर्मचारीले सफा गरेर  बस्न लायक बनाएका थिए । 

नयाँ मन्त्रीको स्वागत सिंहदरबारकै ध्वाँसो लागेको कोठामा गर्नु पर्ने उनीहरुको चाहना थियो । 

तर, ध्वाँसोमा बस्न ‘दिगमिगाएका’ मन्त्रालयका ‘हाकिम साव’हरुले जुन रफ्तारमा मन्त्रालयलाई केशरमहल सारे त्यही रफ्तारमा मन्त्रीको गाँस बासको बन्दोबस्त गरे ! 

यी दुई रफ्तारको बिचको तादाम्यता खोज्न मन्त्री ईच्छुक भए भने शिक्षा मन्त्रालयका ‘हाकिमहरु’को अर्कै चरित्र र चित्र देख्न सक्ने छन् । 

मन्त्रालयमै मन्त्रीको गाँस, बासको विषय सुन्दा सामान्य लागे पनि यो सामान्य मात्रै होइन । मन्त्रालयलाई मन्त्रालय नै रहन दिए, मन्त्रीको कार्यकक्षलाई कार्यकक्ष कै रुपमा सीमित राखे त्यसको इज्जत र ओज रहन्छ । ओच्छ्यानमा गर्ने काम कार्यालयमा गरिन्न, कार्यालयमा गर्ने काम ओच्छ्यानमा सम्भव हुन्न । मन्त्रालयका उच्च कर्मचारीलाई यत्ति पनि थाहा छैन ? 

प्रतिष्ठित पुरस्कार विजेता पुनलाई थाहा नभएको त पक्कै होइन होला ! 

जान्नेहरु भन्छन्, मानसिक स्वास्थ्यका हिसाबले पनि कार्यालय, ओच्छ्यान र भान्सा बीच दूरी भएकै राम्रो हो । 

यदि मन्त्रीलाई धेरै घण्टा सेवा गरेरै शिक्षामा कायापलट गर्ने रहरै हो भने केशरशमशेर राणाको त्यो महल पायक पर्ने गरी कतै बासस्थान बनाउन नसकिने भन्ने थिएन । मन्त्री त्यति अस्वस्थ पनि देखिदैंनन् कि अलि परसम्म हिंड्नै नसकुन् ! 

चौबीसै घण्टा कामको हुटहुटी नै हो र कार्यकक्षमै खाट नराखी मन्त्रालयको काम असम्भवको अवस्था हो भने त्यसका लागि सरकारले ‘मन्त्री निवास मन्त्रालयमै उपलब्ध कोठामा बनाइने छ’ भनेर कार्यविधी बनाए धेरै टण्टासाफ हुन्छ । यसले जेन जी बिद्रोहको भोलीपल्टको ध्वंसको चपेटामा परेर डढेका भैंसेपाटीका मन्त्री निवास र सिंहदरबार पुननिर्माण गर्ने खर्च जुटाउन समेत सघाउन सक्छ । सिंहदरबार परिसरको शिक्षा मन्त्रालयको पार्किङ्मा रहेका सवारी साधन डढाउँदा निस्केको ध्वाँसो पोतिएको भवन रंङ्गाउने श्रोत पनि जुट्छ । होइन भने, राज्यलाई सेवा गर्न सार्वजनिक पद सम्हाले पछि उक्त पदको गरिमा राख्न र उक्त गरिमाकै लागि उपलब्ध हुने पारिश्रमिक एवं सुविधा लिन लजाउनु पर्दैन । 

प्रतिक्रिया