Edukhabar
मंगलबार, ०६ माघ २०८२
गतिविधि

शिक्षामन्त्री पुनको राजिनामा, प्राप्त सबै पदक नेपाल सरकारलाई दान

अध्यादेशबाटै भए पनि शिक्षा ऐन जारी गर्ने तयारी गरेका पुनले त्यो नसकिने भए शिक्षा नियमावली संशोधन गर्ने तयारी गरेको चर्चा थियो । तर, यो योजना पुरा हुन नसके पछि उनी दिक्क मान्दै आएको देखिन्थ्यो ।

मंगलबार, ०६ माघ २०८२

काठमाडौ - नियुक्त भएको एक सय २१ दिनमा शिक्षामन्त्री महावीर पुनले पदबाट राजिनामा दिएका छन् । जेन जी बिद्रोहको जगमा बनेको सरकारमा गत असोज ६ गते पुनलाई प्रधानमन्त्री शुसीला कार्कीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी तोकेकी थिईन् । 

सोमबार विहान अर्थ मन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल मार्फत् पुनले राजिनामा दिएको खबर सार्वजनिक गरेका छन् । 

उनले फेसबुकमा लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’ 

मन्त्री पुनले अध्यादेश मार्फत् भए पनि शिक्षा ऐन जारी गर्ने भन्दै आन्तरिक कार्य गरिरहेका उनको सचिवालयका व्यक्तिहरुले बताउँदै आएका थिए । ऐन जारी गर्न नसकिने भए शिक्षा नियमावली संशोधन गर्ने उनको तयारी रहेको चर्चा थियो । 

तर, उनको योजना पुरा हुन नसके पछि उनी दिक्क मान्दै आएको देखिन्थ्यो । फागुन २१ गते हुने निर्वाचनका लागि आचार संहिता जारी भएसँगै आफ्नो योजना सफल नभए पछि उनले एक दिन अघि फेसबुकमा आफ्नो दिक्दारी उल्लेख गरेका थिए । 

'निर्वाचन आचार संहिताको काउण्ट डाउन शुरु... आज राती १२ बजे मध्य रात मा ड्ढ्याङ ठ्याँस् हुन्छ । भोली देखि मन्त्रीहरुको हात, खुट्टा, मुख सबै बाँधिन्छ । कुरा खत्तम् ।' उनले लेखेका थिए । 

यसै बिच मन्त्री पुनले आफूले पाएका सबै पदकहरु सरकारलाई दान दिएको बताएका छन् । आफले पाएका ती पदकहरु विक्रि गरेर आविस्कार केन्द्रलाई आर्थिक श्रोत जुटाउने बताउँदै आएका पुनले ती पदक किन्न कोही नआए पछि दान दिएको बताएका छन् । 

'मैले पाएको सम्पूर्ण अन्तराष्ट्रिय र राष्ट्रिय पदकहरु नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयलाई सचिवज्यू मार्फत दान गरियो । यी पदकहरु बेचेर राष्ट्रिय आबिष्कार केन्द्र र  वीरगञ्ज कृषि औजार कारखानामा दान गर्ने प्रयास गरेको कुरा सबै लाई थाहा नै होला, तर ४ बर्ष सम्म प्रयास गर्दा पनि कसैले किनेनन् ।' उनले फेसबुकमा शिक्षा सचिव चुडामणि पौडेल सहितका मन्त्रालयका अधिकारीहरुलाई पदक दान दिएको फोटो पोष्ट गर्दै लेखेका छन् 'त्यसैले नेपाल सरकारको सम्पति भयो ।' 

आफ्नो नाममा कास्किको ठुलाकोटमा रहेको २८ रोपनी जग्गा बेचेर कृषि औजार कारखाना लाई दान गर्न खोजे पनि त्यो जग्गा पनि बिक्रि नभएको उनले बताएका छन् । 

अपडेट : यसैबीच पुनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले उम्मेद्वार मनोनयनका लागि मंगलबार तोकेको छ । यस अघि कार्की मन्त्रीमण्डलका तीन मन्त्री ले राजिनामा दिएर चुनावी मैदानमा उत्रिएका छन् । 

ऊर्जामन्त्री कुलमान घिसिङ आफ्नै नाममा उज्यालो नेपाल पार्टी दर्ता गरेर चुनावी मैदानमा उत्रिएका छन् भने युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् । 

प्रतिक्रिया