Edukhabar
विहीबार, ०६ बैशाख २०८१
शिक्षामा यो साता

सजाय दिने शिक्षक पक्राउ

आइतबार, १६ फागुन २०७७

काठमाडौं - गत साता सञ्चार माध्यममा राजनीतिक विषयले प्राथमिकता पाउँदा शिक्षाका समाचार निकै कम मात्र प्रकाशित भए । शैक्षिक समाचारको रुपमा कक्षा १० को परीक्षा केन्द्रबाटै सञ्चालन हुने,  ग्रामीण क्षेत्रका विद्यालयमा कम्प्युटरको पहुँचमा वृद्धि भएको, चिकित्सा शिक्षाका कलेजहरुको व्यवस्थापन, छात्राहरुको शैक्षिक पहुँच सुनिश्चितता गर्ने अन्र्तराष्ट्रिय नवीनतम अभ्यासमा केन्द्रित विचारमूलक आलेख, न्यायको माग गर्दै लेखिएको निजी विद्यालयका शिक्षकको पाठक पत्रहरु प्रकाशन भए । अर्को एक समाचार अनुसार अभिभावकले प्रहरीमा उजुरी दिए पछी शारीरिक सजाय दिने एक शिक्षक पक्राउ परेका छन् । यस्तै विद्यालय शिक्षकलाई अपहरण गरी हत्या गरेको आरोपमा राजनीतिक समूहका विरुद्ध अदालतमा मुद्धा दायर भएको समाचार प्रकाशन भएको छ । 

विद्यार्थीलाई यातना दिने शिक्षकलाई पक्राउ गरिएको छ । सिक्टा माध्यमिक विद्यालय राजपुरका शिक्षकलाई अभिभावकले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । गणित तथा विज्ञान विषयका शिक्षकले आन्तरिक परीक्षामा जिरो अङ्क ल्याएपछि विद्यार्थीलाई शारीरिक सजाय दिएका थिए । समाचार अनुसार चोटपटक लागेका केही विद्यार्थीको उपचार गरिएको छ । 

विद्यालयमा शारीरिक सजाय भइरहेका विषयसँग सम्बन्धित समाचार निरन्तर रुपमा आइरहेका छन् । यस्तै पछिल्लो समय शारीरिक सजाय दिने शिक्षकहरुलाई कारवाही गर्ने प्रचलन पनि बढ्दै गएको पाइएको छ । यस्ता शिक्षकहरुलाई  कानुन अनुसार कारवाही गर्नका लागि विद्यार्थी तथा अभिभावकहरुले सामुहिक रुपमा लागेको समाचारहरु पनि प्रकाशन भएका छन् । 

मिक्लाजुङका शिक्षकको हत्या आरोपमा नेत्र विक्रम चन्द महासचिव रहेको नेकपा चन्द समूहका ४२ जना विरुद्ध जिल्ला अदालत मोरङ्मा मुद्धा दायर भएको छ । उक्त हत्याको जिम्मेवारी चन्द समूहले लिएको थियो । 
यस्तै नाइजेरियामा अपरिचित बन्दुकधारीले माध्यमिक विद्यालयका विद्यार्थी अपहरण गरेको समाचार पुनः प्रकाशन भएको छ । नेपाली सञ्चार माध्यमहरुले गत महिना पनि नाइजेरीयाको यस्तै समाचार प्रकाशन गरेका थिए । 

विद्यालय शिक्षा कक्षा १२ सम्मको भएसँगै अब विद्यार्थी कक्षा १० मा पनि नयाँ विद्यालयमा भर्ना हुन पाउने भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा नियमावलीमा संशोधन गरेर यस्तो व्यवस्था गरेको हो । यस भन्दा अगाडी केही विशेष परिस्थितिमा मात्र कक्षा १० मा नयाँ विद्यालयमा भर्ना हुन पाइन्थ्यो । 

एक पाठक पत्रमा विद्यालय शिक्षाको अन्तिम परीक्षा कक्षा १२ मा हुने भन्ने व्यवस्था भएर पनि कक्षा १० को परीक्षा केन्द्रबाट सञ्चालन गर्ने शिक्षा मन्त्रालयको निर्णयमा प्रश्न उठाइएको छ । यो निर्णय कतै केन्द्रबाट परीक्षा सञ्चालन गर्दा कोषको परिचालन गर्न पाइने आशयले गरिएको हो कि भन्ने द्विविधा भएको समेत उल्लेख छ । 

नेपालमा बुद्ध दर्शन र पर्यटकलाई आकर्षित गर्न नेपाल वायुसेवा निगम र नेपाल वौद्ध विश्वविद्यालय बीच द्विपक्षीय सम्झौता भएको छ । सम्झौता अनुसार दुवै संस्थाहरूले उच्च स्तरको जनशक्ति उत्पादन गरी पर्यटन क्षेत्रलाई दिगो र विकसित बनाउन संयुक्त रुपमा काम गर्नेछन् । 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरुले कोभिड भत्ताको माग गर्दै उपकुलपतिको कार्यकक्षमा ताला लगाएको समाचारमा उल्लेख गरिएको छ । यसैगरी उनीहरूले संस्थाका रजिष्ट्रार डा गुरु खनालको कार्यकक्षमा फोहोर व्यवस्थापन, तथा कार्यरत कर्मचारीको सेवा सुविधामा सुधार गर्नुपर्ने लगायतका माग राखी एक हप्ता अगाडी नै ताला लगाएका थिए । यद्यपी संस्थाका अन्य वरिष्ठ चिकित्सकहरुले यसको आलोचना गरेका छन् । यस्तै संस्थाका शिक्षकहरुको सङ्गठन शिक्षक कल्याण समाजले ताला लगाएकोप्रति चासो व्यक्त गरेको छ । 

एक विचारमूलक आलेखमा वंगलादेशको छात्रवृति कार्यक्रमले छात्राहरूको शिक्षामा मात्र सुधार नगरी उनीहरुको जीवनको विभिन्न पक्षमा सुधार ल्याएको उल्लेख गरिएको छ । सन् १९९४ मा वंगलादेशमा शुरु भएको छात्रा लक्षित नगद प्रोत्साहनको कार्यक्रम पाकिस्तान र सब सहारा अफ्रिकन देश रुवान्डा र घानामा पनि शुरु गरिएको छ । यो कार्यक्रम यसको लक्ष्यभन्दा पनि धेरै मात्रामा सफल देखिएको छ । कार्यक्रममा निश्चित मापदण्ड पूरा गर्ने (७५ प्रतिशत हाँजिरी, ४५ प्रतिशतभन्दा कम उपलब्धि र माध्यमिक तह पुरा नहुन्जेल अविवाहित रहने) छात्राहरुलाई माध्यमिक तहमा पोसाक र शिक्षण शुल्क अनुदान उपलब्ध गराइन्छ । यो कार्यक्रमको लाभ खर्चको तुलनामा दुई गुणा बढी देखिएको उल्लेख गरिएको छ । यो कार्यक्रमले महिलाहरुको जीवनमा विभिन्न माध्यमबाट सहयोग पुगेको छ । 

“गाउँमै कम्प्युटर शिक्षा“ शीर्षकमा प्रकाशित समाचार अनुसार गाउँकै विद्यालयमा कम्प्युटरको पढाइ शुरु भएसँगै विद्यार्थीहरु टाढाको शहरसम्म जाने दर घटेको छ । ग्रामीण क्षेत्रका थुप्रै सामुदायिक विद्यालयमा कम्प्युटर पढाइ शुरु भएको र यसले अभिभावकको थप आर्थिक वोझ पनि कम गराएको उल्लेख गरिएको छ । 

पाठक पत्रमा निजी विद्यालयका शिक्षकहरु महिनौदेखि तलबबाट बञ्चित भएको विषय उल्लेख गरिएको छ । लेखकले आफू निजी विद्यालयकै शिक्षक भएको र महिनौदेखि तलबबाट वञ्चित भएको विषय उल्लेख गर्दै निजी विद्यालयले आफ्नो फाइदाका लागि आफै नियम बनाएर शिक्षक तथा अन्य कर्मचारीको शोषण गरेको उल्लेख गरेका छन् । 

अन्य समाचारहरुमा भारतीय सरकारको सहयोगमा कागेश्वरी नगरपालिकामा विद्यालहरूको पुनर्निर्माण तथा भौतिक पूर्वाधार विकास हुने भएको र इशानाथ नगरपालिकाले आफनै विकास बजेटमा नगरपालिकाको भवन, विद्यालय तथा मन्दिर निर्माण गर्ने भएको र नगरप्रमुखले नगरपालिका भवनको शिलन्यास गरेका लगायतका रहेका छन् ।

‘शिक्षामा यो साता’ सञ्चार माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । दैनिक पत्रिकाहरु कान्तिपुर र दी हिमालयन टाईम्समा फागुन ५ देखि ११ गते सम्म प्रकाशित शिक्षा सम्बन्धि विषयवस्तुलाई आधार बनाई शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरद्वारा यो विश्लेषण गरिएको हो – सम्पादक ।

यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : Teacher arrested for physical punishment

प्रतिक्रिया