Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
शिक्षामा यो साता

कोभिडको जोखिम : विद्यालय बन्द

आइतबार, १२ बैशाख २०७८
काठमाडौं - गत साताभरी प्रकाशित शिक्षाका खबर मध्ये सबैभन्दा धेरै विषय कोभिड सङक्रमण वृद्धिका कारण विद्यालयहरूमा बढेको जोखिम र विद्यालयबाटै संक्रमण फैलिन सक्ने सम्भावनामा केन्द्रित थिए । यस्तै स्वास्थ्य मन्त्रीले ठूला शहरमा विद्यालय बन्द गर्नका लागि निरन्तर आग्रह गरिरहेको, विद्यालयमा वैकल्पिक सिकाइमा जोड दिनुपर्ने, कोभिड संक्रमण बढ्दै गए पछि केही नगरपालिकाहरूले विद्यालय बन्द गरेका, राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले सरकारलाई वैकल्पिक सिकाइको व्यवस्था मिलाउन निर्देशन दिएको, शिक्षा मन्त्रालयले विद्यालयमा भिडभाड नगर्न र वैकल्पिक विधिबाट सिकाउन निर्देशन दिएको र काठमाडौं महानगरले नेपाल भाषा शिक्षण गर्न नियुक्त गरिएका शिक्षकलाई तालिम दिएको लगायतका विषय रहेका थिए ।   
 
– समाचारमा उल्लेख भए अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शैक्षिक संस्थाहरूलाई वैकल्पिक विधिको अवलम्बन गरी शिक्षण सिकाइ सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले शैक्षिक संस्था तथा विद्यालयमा भिडभाड नगर्न, कुनै कार्यक्रम नगर्न र विद्यालय सञ्चालन कार्यढाँचा २०७७ को पालना गर्न आग्रह गरेको छ । 
 
कोभिड १९ व्यवस्थापन समितिको निर्णय अनुसार शैक्षिक संस्थाहरुमा कोभिड सङ्क्रमण बढ्दै गएकाले नियमित कक्षा सञ्चालन रोकिएका छन् । मन्त्रालयले विज्ञप्ती मार्फत भौतिक रुपमा कक्षा सञ्चालन गर्ने कार्य रोक्न यसअघि नै पालिकाहरूलाई अधिकार दिएको थियो । 
 
एक विचारमूलक आलेखमा वर्ष २०२१ संसार भरिकै शैक्षिक प्रणालीमा परिवर्तन गर्नुपर्ने अवस्थामा आइपुगेको उल्लेख छ । अबको शिक्षा भनेको अनलाइन र सामाजिक सञ्जालहरू सिकाइका माध्यमका रुपमा प्रयोग हुने भएको छ । यस्तै छिमेकी देशमा बढेको उच्च संक्रमणसँगै बन्दाबन्दी गर्ने वा नगर्ने विषयमा सरकार अलमलमा परेको छ । छिमेकी देशमा संक्रमण बढ्नु भनेको नेपालमा पनि त्यसको प्रभाव पर्नु हो । 
 
नेपालका केही शहरी क्षेत्रमा पाँच मध्ये एउटा सामुदायिक विद्यालयका विद्यार्थी भर्चुअल सिकाइमा जोडिएका छन् । पूर्वाधारको अभावमा सरकारले  डिजिटल माध्यमबाट शिक्षा दिन नसक्ने अवस्था छ । यस्तै सामुदायिक विद्यालयका लागि वैकल्पिक सिकाइ सञ्चालन गर्न पनि चुनौती छ । सरकारले शैक्षिक क्षति कम गर्न शैक्षिक प्याकेजहरू ल्याउनु आवश्यक छ । यसैगरी समग्र देशभरीको अवस्थालाई नहेरी स्थानीय तहमा कोरानाको प्रभावलाई मूल्याङ्कन गरी छलफलहरुबाट मात्र प्रभावित क्षेत्र अनुसार योजना बनाउनु आवश्यक हुन्छ । 
 
अर्को एक समाचार अनुसार काठमाडौं महानगरपालिकाले नेपाल भाषा शिक्षण गर्न शिक्षक नियुक्ति गरेको छ । पालिकाले २०९ जना शिक्षक माग गरेकोमा १७९ जना महिलाहरू छनौट भएका छन । समाचारमा उल्लेख भएअनुसार समुदायमा मातृभाषाप्रतिको आर्कषण बढ्दो छ । महानगरले नया शिक्षकहरूलाई एक हप्ताको तालिम सञ्चालन गरेको छ । कक्षा १ देखि ८ सम्म सबै सामुदायिक विद्यालयमा नेपाल भाषा अनिवार्य गरिएको छ र पाठ्यपुस्तक पहिले नै प्रकाशन भइसकेको छ । 
 
अर्को एक समाचार अनुसार वैकल्पिक सिकाइ लक्षित मेरो स्कुल मोबाइल एप्लिकेशन सार्वजनिक गरिएको छ । कोभिड संक्रमणसँगै वैकल्पिक सिकाइको आवश्यकता बढ्दो छ । 
 
तस्वीर सहितको समाचारमा उल्लेख भए अनुसार जस्तापाताको कक्षामा बस्दा गर्मी भए पछी रुखको छहारीमा शिक्षण सिकाइ सञ्चालन गरिएको छ ।  स्थानीय परिवेश र मौसम अनुसारका विद्यालयहरुको डिजाइन नर्गदा विद्यालय वातावरण समस्यापूर्ण बनेको छ । धेरैजसो ग्रामीण क्षेत्रमा विद्यालय भवन बनाउने काम महँगो हुदै गएको छ र स्थानीय परिवेश अनुसारका विद्यालय भवनहरूको निर्माण हुन सकिरहेको छैन । 
 
– गत साता देशभरीका विद्यालयहरू बन्द हुदैँ गएको समाचार आएका छन् । केही पाठक पत्रमा शिक्षाको नाममा बालबालिकाको स्वास्थ्यमा खेलवाड नगर्न आग्रह गरिएको छ । यस्तै अन्य केही पाठक पत्रमा ग्रामीण क्षेत्रमा प्रविधिको चुनौती रहेपनि वैकल्पिक माध्यमबाट शिक्षण सिकाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।
 
‘शिक्षामा यो साता’ सञ्चार माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । दैनिक पत्रिकाहरु कान्तिपुर र दी हिमालयन टाईम्समा गत १ देखि ७ बैशाख सम्म प्रकाशित शिक्षा सम्बन्धि विषयवस्तुलाई आधार बनाई शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरद्वारा यो विश्लेषण गरिएको हो – सम्पादक ।
 
यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : COVID Alert and School shutdowns

प्रतिक्रिया