Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

कक्षा आठको मूल्यांकन विधि तय

बुधबार, ०५ जेठ २०७८

काठमाडौं - कोरोना महामारीको नयाँ भेरियण्टसँगै बढ्दो जोखिमका कारण भौतिक उपस्थितिमा परीक्षा सञ्चालन सम्भव नभए पछि काठमाडौं महानगरपालिकाले कक्षा ८ को नयाँ मूल्यांकन विधि तय गरेको छ । पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत, निरन्तर विद्यार्थी मूल्यांकन गरी विद्यालयमा राखिएको विद्यार्थीको अभिलेखबाट ४० प्रतिशत र विद्यालय तथा विद्यार्थीको अनुकूल उपयुक्त वैकल्पिक मूल्यांकन विधि अपनाइ २० प्रतिशत मूल्यांकन गर्ने गरी महानगरले विधि तय गरेको हो । 

महानगरका शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीद्वारा जारी सूचनामा उक्त विधि अपनाई जेठ २५ गतेभित्र विद्यार्थीको विषयगत मूल्यांकन विवरण पेश गर्न विद्यालयहरुलाई निर्देन दिएका छन् । यसका लागि छुट्टै प्रणाली निर्माण गरिएको छ । केएमसीडीओई डट ओआरजी मा विद्यार्थीको मूल्यांकन विवरण प्रविष्ट गर्न सूचना मार्फत् निर्देशन गरिएको छ । 

अन्य कक्षाको विद्यार्थीको हकमा पनि उपयुक्त मूल्याँकन प्रक्रियाबाट विद्यार्थीको मूल्याँकन गरी जेठ मसान्त सम्ममा नतिजा प्रकाशन सक्न र असार १ गतेबाट नयाँ शैक्षिक सत्र शुरु गर्न महानगरले सबै विद्यालयलाई निर्देशन दिईसकेको छ । 

यस अघि नै राष्ट्रिय परीक्षा बोर्ड बैठकले कक्षा १० को अन्तिममा लिईने एसईई र कक्षा १२ को परीक्षा स्थगित गरिसकेको छ । महामारिको संकट बढ्दो क्रममा रहेकाले आगामी जेठ १३ गते देखि सञ्चालन गर्ने तय भएको कक्षा १० र २६ गते देखि गर्ने १२ को परीक्षा स्थगित गरि बोर्डले परीक्षाको विकल्पका बारेमा सुझाव दिन समिति गठन गरेको छ । बोर्ड सदस्य समेत रहेका शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालको संयोजकत्वमा गठित ५ सदस्यीय समितिलाई १५ दिन भित्र परीक्षाको विकल्प सहितको प्रतिवेदन दिन समय तोकिएको छ । 

प्रतिक्रिया