Edukhabar
शनिबार, ०८ बैशाख २०८१
शिक्षामा यो साता

शैक्षिक सत्र गुम्ने चिन्ता

आइतबार, ०९ जेठ २०७८
काठमाडौं - गत साता पनि शिक्षासँग सम्बन्धित समाचारहरू थोरैमात्र प्रकाशन भए । सञ्चारमाध्यममा राजनीतिक विषय र बढ्दो कोभिड चुनौतीका विषय प्राथमिकतामा रह्यो ।  समाचार, पाठकपत्र र विचारमूलक आलेखहरू पनि एसईई र कक्षा १२ को परीक्षाको विषयमा केन्द्रित रहेका थिए । दोस्रो लहरको कोभिड भाइरस देशभरि नै फैलिरहँदा र मृत्युदर बढिरहँदा आलेख तथा पाठकपत्रमा शैक्षिक सत्र नै गुम्ने विषय उल्लेख गरिएका छन् । 
 
– समाचारमा उल्लेख भए अनुसार काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र असारबाट शुरु गर्ने निर्णय गरेको छ । महानगरपालिकाले जेठ २० सम्म वैकल्पिक विधिबाट परीक्षाहरू सम्पन्न गरी जेठ मसान्तसम्म नतिजा प्रकाशन समेतका कामहरू सम्पन्न गर्न निर्देशन दिएको छ । महानगर शिक्षा शाखा प्रमुखका अनुसार विद्यालयले कुनै उपयुक्त विधिको प्रयोग, पहिले लिएका आन्तरिक परीक्षा, अनलाइन, अफलाइन वा फोनको प्रयोग गरी परीक्षा लिने र नतिजा निकाल्न सक्ने छन् । केही निजी विद्यालयले नतिजा प्रकाशन गरी नयाँ कक्षाको अनलाइन पढाइ समेत शुरु गरेको समाचारमा उल्लेख छ । मन्त्रालयका अनुसार अर्को सूचना नआएसम्म असारबाट नयाँ शैक्षिक सत्र शुरु हुनेछ । मन्त्रालय स्रोतका अनुसार पठनपाठन र परीक्षासमेत अवरुद्ध भएको सन्दर्भमा शैक्षिक सत्रको वारेमा छलफल भइरहेको छ । जेठमा हुने कक्षा १० र १२ का परीक्षाहरु पनि रोकिएका छन् । 
 
– अर्को एक समाचारमा थोरै मात्र विषयवस्तुको ज्ञान र तयारी गरेका विद्यार्थी माथिल्लो ग्रेडसहित अर्को तहमा जाने अवस्थाको वारेमा उल्लेख गरिएको छ । नियमित कक्षाकोठाको पढाइ लामो समयसम्म अवरुद्ध भएको थियो र धेरै विद्यार्थी महामारीका कारण कठिन अवस्थामा रहेका थिए । निजी तथा आवासीय विद्यालय सङ्गठनका अध्यक्षले काठमाडौं महानगरको निर्णयले देशभरी नै दुविधा हटी सजिलो अवस्था आउने बताएका छन् । तर केही शिक्षाविद्हरूले तीन महिनामात्र नियमित शिक्षण सिकाइ भएको अवस्थामा विद्यार्थी माथिल्लो कक्षाका लागि तयार छैनन् भन्ने उल्लेख गरेका छन् । 
 
– एक सम्पादकीयमा उल्लेख गरिए अनुसार देशभरी नै बढेको कोभिड संक्रमण  अनुसार सरकारले ठिक समयमै कक्षा १० र १२ को परीक्षा स्थगित गरेको छ । तर सबैजसो जिल्लाहरुमा फैलिरहेको कोभिड कहिले नियन्त्रणमा आउला भन्ने अनिश्चतताले हजारौ विद्यार्थी र अभिभावकमा तनाव सिर्जना गराएको छ । कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनको उपयुक्त ढाँचा तय गरी विश्वसनीय विधिबाट परीक्षा सञ्चालन गर्नुपर्छ । गतवर्ष विद्यालयहरुलाई नै मूल्याङ्कनको जिम्मा दिदाँ यसको नकारात्मक पक्ष देखिएका थिए र धेरै विद्यार्थीले जिपिए ४ हासिल गरेका थिए । 
 
– पाठक पत्रमा विद्यार्थी परीक्षाको तनाव र कोरोना भाइरसको जोखिममा समेत पर्दा दोहोरो समस्यामा रहेको उल्लेख छ । लेखकले यस्तो जटिल अवस्थामा उनीहरू परिवारसँगै हुनुपर्नेमा शहरी क्षेत्रमा चलिरहेको अनलाइन कक्षाले गर्दा समस्यामा परेका छन् । विद्यार्थीको हितलाई ध्यानमा राखी तत्कालको लागि अनलाइन कक्षा रोक्नुपर्ने माग गरेका छन् ।  
 
– विचारमूलक आलेखमा एकिकृत पाठ्यक्रमको प्रभावकारीताका बारेमा जोड दिइएको छ । आलेखमा एकिकृत पाठ्यक्रमको प्रभावकारीतामा जोड दिँदै यसको कार्यान्वयनबाट विषयवस्तुको ज्ञान मात्र नभई शिक्षालाई जीवनसँग जोड्दै बौद्धिक, शारीरिक, संवेगात्मक र सामाजिक विकासमा पनि सहयोग गर्ने उल्लेख गरिएको छ । 
 
– समाचारमा उल्लेख भए अनुसार रसियन शहर कजानमा बन्दुकधारीले विद्यालयमा आक्रमण गरेका छन् र विद्यार्थी धुवाँ आइरहेको विद्यालयको झ्यालबाट भागेका छन् । यो आक्रमणमा परी कक्षा ८ मा अध्ययन गर्ने ७ विद्यार्थी र एक शिक्षक सहित ८ जनाले ज्यान गुमाएका छन् भने अन्य २१ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । 
 
‘शिक्षामा यो साता’ सञ्चार माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । दैनिक पत्रिकाहरु कान्तिपुर र दी हिमालयन टाईम्समा गत बैशाख २९ देखि जेठ ४ गते सम्म प्रकाशित शिक्षा सम्बन्धि विषयवस्तुलाई आधार बनाई शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरद्वारा यो विश्लेषण गरिएको हो – सम्पादक ।
 
यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : Anxiety for the loss of academic year

प्रतिक्रिया