Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विचार / विमर्श

विद्यालयतहको पाठ्यक्रममा नागरिक शिक्षाको खाँचो

सोमबार, १२ पुस २०७८

पाठ्यक्रम समग्र शैक्षिक संगठन र संरचनाको स्वरुप हो । यो व्यवस्थित शिक्षा पद्घतिको प्रभावकारी कार्यान्वयन र उद्देश्य प्राप्तिको गोरेटो हो । पाठ्यक्रम निर्माण गर्दा देशको समसामयिक समाज, भौगोलिक बनोट, सांस्कृतिक परम्परा, आर्थिक विकास, समाजको आवश्यकता, राजनीतिक प्रणाली लगायतका तत्वहरुले प्रभाव पारेको हुन्छ । संसारमा ज्ञानको भण्डार असिमित भएकोले यही ज्ञानको भण्डारबाट शैक्षिक कार्यक्रम अन्तरगत कुन तहका विद्यार्थीलाई के कस्ता आवश्यक ज्ञानहरु दिने भन्ने योजना अन्तरगत पाठ्यक्रम निर्माण गर्न जरुरी हुन्छ । पाठ्यक्रममा विषयबस्तुको चयन अति महत्वपूर्ण ठानिन्छ । 

विद्यालय भित्र र बाहिर विद्यार्थीलाई उनीहरुका  शैक्षिक आवश्यकताहरु उपलब्ध गराउनका लागि विद्यालयले तयार गरेको शैक्षिक कार्यक्रम नै पाठ्यक्रम हो भन्ने अवधारणा शिक्षाविद हिल्टा टावाको छ । प्रसिद्घ विद्वान फ्रोवेलले पाठ्यक्रमलाई मानव जातिको सम्पूर्ण ज्ञान तथा अनुभवहरुको सारको रुपमा बुभ्mनु पर्दछ भन्ने विचार व्यक्त गरेका छन् ।  यसरी हेर्दा पाठ्यक्रम त्यस्तो शैक्षिक योजना हो जहाँ विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण ज्ञान, सीप तथा क्षमता आर्जनको स्रोतलाई समेट्नु पर्दछ । 

शिक्षाविद स्टोस्कीले मानिसलाई सामाजिक जीवनमा नैतिकवान बनाउन नागरिक शिक्षाको ठूलो भूमिका हुन्छ भनेका छन् । प्रसिद्घ विद्वान स्मीथले नागरिक शिक्षा मानिसलाई व्यक्तिबाट सामाजिक व्यक्तित्वमा रुपान्तरण गर्न मद्दत गर्ने ज्ञानको स्रोत हो भनेका छन् । प्रजातान्त्रिक देशका जनताले राजनीतिक ज्ञानबाट प्रशिक्षित तथा देश विकासमा सहभागी हुनको लागि नागरिक शिक्षाको ज्ञान अनिवार्य हुन्छ भन्ने अवधारणा शिक्षा शास्त्री गुटम्यानको रहेको छ । यसरी हेर्दा नागरिक शिक्षा अनुशासित, लोककल्याणकारी तथा देश विकासमा एकजुट भएर लाग्ने जनशक्ति उत्पादनकोे स्रोतको रुपमा लिन सकिन्छ ।  

नागरिक शिक्षा प्रजातान्त्रिक शिक्षा हो । यसले मानिसलाई समाजमा संगै बस्न, संगै काम गर्न, एकले अर्काको सम्मान गर्न, हरेक जात जाति, भाषा, भाषी समुदायहरुका बीचमा सबैका सामाजिक मुल्य, मान्यता, संस्कृति र चालचलनहरुलाई स्वीकार गर्न सक्ने क्षमता र उदार व्यवहारको विकास गराउन मद्दत गर्दछ । नागरिक शिक्षाले आपm्नो अधिकार र कर्तव्यको कुरा गर्दा अरुको अधिकारको सम्मान गर्ने अक्कलको बोध गराइ दिन्छ । 

हाम्रो समाज विविध जात, जाति, भाषा, भाषी मुल्य, मान्यता, संस्कार, धर्म, संस्कृतिले निर्माण भएको छ । हरेक जातजातिका चलन तथा प्रचलनहरुलाई एक आपसमा सम्मान गर्न, सामाजिकीकरण गर्न र सामञ्जस्य गर्न सक्ने प्रजातान्त्रिक व्यबहार निर्माणमा नागरिक शिक्षाको ठूलो भूमिका हुन्छ । सामाजिक मेलमिलाप तथा राष्ट्रिय चेतनाको भावनामा विकास गर्नको लागि नागरिक शिक्षाले सहयोग गर्दछ । राज्यले कस्तो शिक्षा दिई कस्ता नागरिकहरु उत्पादन गर्ने भन्ने कुरा शिक्षा नीति, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सिकाइ, मूल्याड्ढन पद्दति लगायतका शैक्षणिक कृयाकलापहरुले भूमिका खेल्ने हुनाले पाठ्यक्रममा नागरिक शिक्षाको विषयबस्तुलाई समावेश गर्न आवश्यक देखिन्छ । 

नेपालको संविधान २०७२ ले महिला, जनजाति, दलित, लोपउन्मुख, सिमान्तकृत लगायतका राज्यको मूलधारबाट पछाडि परेका समुहहरुलाई समावेशी र समतामूलक सिद्घान्तका आधारमा उनीहरुका अधिकारहरुलाई सुनिश्चित गरेको छ । राज्यमा दलित समावेशीता, शैक्षिक छात्रवृत्ति, सरकारी जागिर लगायतका क्षेत्रहरुमा आरक्षणको व्यवस्था छ । लोपउन्मुख जातिहरुको शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा लगायतका अधिकारहरुलाई पनि  संविधानमा व्यवस्था गरिएको छ । संविधानमा एकल महिला, अपाङ्ग लगायतका नागरिकलाई अधिकार सम्पन्न बनाईएको छ । यो लक्षित वर्ग संविधानले व्यवस्था गरेका प्रबन्धहरुको जानकारीबाट समेत वञ्चित छन् । सुसुचित छैनन् । यस अर्थमा समाजका बालबालिकाहरुले विद्यालय तहको पठन पाठनमा नै संविधान प्रदत्त अधिकारहरुको ज्ञानबाट प्रशिक्षित हुन सकेमा लोकतन्त्रको अभ्यास हुन सक्दछ । जानेकाले नजानेकालाई सुनाउने, सिकाउने र सचेत बनाउने सामाजिक जागरणमा विद्यार्थीको शसक्त भूमिका हुन सक्दछ । 

नागरिकहरुमा शैक्षिक चेतनाको कमी हुनाले राज्यलाई देशको विकास र नागरिकको हितमा जवाफदेही बनाउन नागरिक दवावको प्रभाव कमजोर भएको अवस्था छ ।  मुलुकमा कमजोर नागरिक चेतना र गैरजिम्मेवार राज्य प्रणालीका कारण दण्डहिनता र विधिको शासन हराएको अवस्था छ । भ्रष्टाचार, कालोबजारी, महङ्गी, तस्करी, अनियमितता लगायतका समस्याहरु व्याप्त छन् । प्रजातन्त्र मनपरीतन्त्रमा प्रयोग हुँदा देशले विकासको गति लिन सकेको छैन । यस्तो अवस्थामा राज्यलाई देश र जनता प्रति थप जवाफदेही बनाउन नागरिक दवावको महत्वपुर्ण भूमिका हुन्छ । लोकतान्त्रिक राज्यले बाटो बिराउँदा सामुहिक नागरिक दवाव नै समस्याको निकास हो । त्यसैले नागरिक शिक्षालाई तहगत पाठ्यक्रममा समावेश गरी चेतनशील नागरिक उत्पादन गर्नु समयको माग हो । 

नागरिक शिक्षाले प्रजातान्त्रिक आचरणको विकास गराउन सहयोग गर्ने हुनाले लोककल्याणकारी भावनाको विकास गराईदिन्छ । परोपकारी भावना भएका नागरिकहरुले बसुधैव कुटुम्बकमको भावनामा आधारित मानवतावादी व्यवहारको ख्याल गर्दछन् । आफ्नो स्वार्थ पुरा गर्दा अरुको स्वार्थमा धक्का दिन नहुने कुरामा ध्यान दिन सक्दछन् । आफ्नो अधिकार र कर्तव्यको बोध भएका नागरिकले एक आपसमा मिलेर काम गर्न, आफ्ना विचारहरु अरुलाइ सम्प्रेषण गर्न र अरुका कुरा धैर्य पुर्वक सुन्न सक्ने क्षमता राख्दछन् । नागरिकमा सामुहिक निणर््ाय र नीति अनुसार काम गर्ने आचरणको विकास हुन्छ । व्यक्तिगत स्वार्थलाइ सामुहिक स्वार्थका अगाडि त्याग गर्न सक्ने प्रजातान्त्रिक आचरण फस्टाउँछ । उल्लेखित बिषयहरु  नागरिक शिक्षाको बिषयबस्तु अन्तरगत पर्दछन् ।  

अन्त्यमा देशको माया, इतिहासको गौरवको अनुभूति, सार्वभौमिकता, राष्ट्रियता, स्वदेशीपनको भावनात्मक विकास नागरिक शिक्षाको ज्ञानको स्रोत भएकाले पाठ्यक्रममा यी विषयबस्तुहरुको समावेश अति आवश्यक ठानिन्छ । आजका विद्यार्थी भोलिका हरेक क्षेत्रमा काम गर्ने व्यक्ति एवं व्यक्तित्वहरु हुन् । दक्ष जनशक्ति हुन् । त्यसैले राज्यले विद्यालयतह देखि नै समावेशगरी लोकतान्त्रिक, सहिष्णु, परोपकारी एवं लोककल्याणकारी समाज निर्माण गर्न नागरिक शिक्षाको बिषयबस्तुलाई पाठ्यक्रममा समावेश गर्न आवश्यक छ । 

प्रतिक्रिया