Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

कक्षा ५ की छात्राको चिठ्ठी प्रधानमन्त्रीलाई : हेलिकोप्टरमा आउँदा किताब ल्याइदिनुु है !

बुधबार, ३० कार्तिक २०७९

काठमाडौं - प्रधानमन्त्री जीउ,  हजुर सञ्चै हुनुहुन्छ होला । म पनि सञ्चै त छु ।

तर, पनि खुसी छैन । वार्षिक परीक्षा नजिक आउँदैछ । तर किताबै आईपुगेको छैन । नपढिकन कसरी जाँच दिने भनेर डर लागिरहन्छ । मैले स्कुलमा सरलाई सोधेँ, किताब किन आएन भनेर । उहाँहरुले केके भन्नुहुन्छ, मैले कुरै बुझिनँ । अनि मैले आमालाई सोधेँ, देशको सब भन्दा ठूलो मान्छे को हो ? भनेर । आमाले भन्नुभयो, प्रधानमन्त्री । त्यसैले मैले हजुरलाई मेरो समस्या लेख्दैछु ।  

अस्ति हाम्रो स्कुलको चौरमा हेलिकोप्टर झरेको थियो । कति ठुलाठुला पंखा हेलिकप्टरका ! कत्ति धूलो उडाउँदो र’छ पंखाले ! हामी धुलैधुलो भयौं । सरले भन्नुभएको, हेलिकोप्टरले चुनावको पर्चाहरु ल्याको ।   अर्को पटक हेलिकप्टरमा आउँदा नेपाली र सामाजिक किताब हालेर ल्याइदिनुस है । मलाई नेपाली कथा धेरै मनपर्छ । मैले दशैँको रुपैयाँ जम्मा गरेकी छु । पैसा परे पनि दिन्छु । तर किताब चाहिँ ल्याइदिनुस् है !

माथिको चिठ्ठी जुम्लाको खण्डेश्वरी वडा नं १० स्थित एक विद्यालयको कक्षा ५ पढिरहेकी छात्रा दिलमाया रोकायाले लेखेकी हुन् । कक्षाको रोल नं .१ की रोकायाले निर्वाचनका बेला मतपत्र पुगेको तर विद्यार्थीको पाठ्यपुस्तक नपुगे पछि प्रधानमन्त्रीलाई चिठ्ठी लेखेकी हुन् ।

त्यसरी लेखिएको चिठ्ठी सडक नाटक ‘चुनावदेखि चुनावसम्म’ का पात्रले वाचन गर्दा दर्शकहरुबीच स्तब्धता छायो !

चुनाव लागेसँगै ‘मतपत्र पुगेको : पुस्तक नपुगेको’ समाचारलले पस्केको यथार्थलाई भक्तपुर, ललितपुर, काठमाडौं लगायतका दर्शकहरुले याद गरे ।

चुनावलाई केन्द्रीत गरि आरोहण गुरुकूलका कलाकारहरुले काठमाडौं उपत्यका लगायतका विभिन्न ठाउँमा प्रदर्शन गरेको सो नाटक हेरेका धेरै दर्शकहरु नेताहरु प्रति कलाकारले छाडेको व्यङ्ग्य वाणसँगै हाँसे, देशको विडम्बनालाई चित्रण गर्दा गम्भीर भए । कत्तिले नेताहरुलाई सरापे ।

नाटकको केन्द्रीय विषय राजनीति र चुनाव रहे पनि त्यही केन्द्रमा परेको राजनीतिको शिकारमा परेको शैक्षिक विषयलाई पनि नाटकले उजागर गरेको छ ।

एसके शर्मा, माधव भुर्तेल, जटिन बोगटी, भुवन आचार्य, अनिश विमली, आकांक्षा क्षेत्री, मनोज घिमिरे, शिक्षा मन्याल, शुभान्त घिमिरे, ज्योति खड्का, विनिता कोइराला, आशिष घिमिरे, कैलाश कार्की दीपेन्द्रदेव पौडेल, पूजा तिवारी, प्रदीप एडी, एस बोगटीको जीवन्त अभिनयको सो नाटकले महँगी, भ्रष्टाचार, स्वदेशमै रोजगारी नपाएर वैदेशिक रोजगारीका लागि जानुपर्ने वाध्यता, सरकारी काम कहिले जाला घाम गर्ने कर्मचारी प्रवृत्तिका साथै किसानको समस्या, मल बिउ विजन अभावले ल्याएको अवस्थाका साथै जताततै व्याप्त सरकारी उदासीनतालाई चित्रण गरेको छ । 

निर्वाचनको संघारमा घर घर आएर नेताले मतदातालाई दिएको आश्वासन, जिते पछि नागरिकलाई गर्ने व्यवहारका साथै चुनाव जित्नका लागि गरेका हतकण्डाहरुलाई पनि नाटकले देखाएको छ । कुनै राजनीतिक पार्टी विशेष नभई ‘खोया पार्टी’ नामक पार्टी मार्फत् नेपाली राजनीतिको भित्री पाटोलाई नाटकले विषय बनाएको छ । 

सो नाटक आशिष घिमिरे, कैलाश कुमार कार्की, दीपेन्द्र देव पौडेलको समूहले लेखेको हो । 

प्रतिक्रिया