Edukhabar
शनिबार, १९ फागुन २०८०
गतिविधि

एक उदाहरणीय शिक्षकको ‘महाप्रस्थान’

विहीबार, १४ पुस २०७९

भक्तपुर - सदाझैं गंगाधर सर, आफ्नो कर्म सुरु गर्नका लागि, मोटरसाइकल चढेर बाराहीस्थानबाट उकालो चढ्छन् । बाराहीको उकालो चढ्दा चढ्दै उनलाई असजिलो महशुस हुन्छ । यो कुरा हामी अनुमान मात्र गर्न सक्छौं । त्यसपछि उनले आफूले चिनेका व्यक्ति माइला थिमि (माइला दाइ) को पसल अघि मोटरसाइकल रोक्छन् । माइला दाइको अघि मोटरसाइकल रोकेर गंगाधर सर पानी पिउनु पर्यो भनेर पानी माग्छन् । माइला दाइले एउटा मिनिरल वाटरको बोतल गंगाधर सरलाई दिन्छन् । उनी मोटरसाइकलमै बसेर बोत्तलको बिर्को खोल्न खोज्छन् । बोत्तलको बिर्को खोल्न सक्दैनन् ।

उनको हात कामेको र उनको हाउभाउ देखेर माइला दाइलाई सरको अवस्था अलिकति कमजोर हो कि ? सरको अवस्था समस्याग्रस्त पो हो कि भन्ने लाग्छ । माइला दाइले गंगाधर सरलाई आग्रह गर्छन् ‘सर बाइकबाट ओर्लेर स्टुलमा बस्नुस्, यहाँ आराम गर्नुस् ।’ 

र हात समातेर ओलालेर आफ्नो पसल अगाडिको स्टुलमा बस्न लगाउँछन् । अनि बिर्को खोलेर बोत्तल दिन्छन । 

गंगाधर सर दुई घुट्को पानी पिउँछन् । खल्तीबाट मोबाइल निकाल्छन् । फोन गर्छन् । ‘म अलि अस्वस्थ भएँ, म अस्पलात जानुपर्ने अवस्था आइपर्यो । अलि पैसा लिएर अस्पतालमा आउनू ।’
घरमा सायद् उनले आफ्नो श्रीमतीलाई अन्तिम फोन गरेको हुनुपर्छ ।

त्यही बीचमा माइला दाई एम्बुलेन्सको नम्बर खोज्न थाल्छन् । त्यो क्रममा माइला दाइले पसलबाट निस्केर चारपाँच पाइलामात्र के राखेका थिए । स्टुलमा बसेका गंगाधर सर भुइँमा डङ्ग्रङग लड्छन् ।

र, चेतनाहीन अवस्थामा पुग्छन् । अनि नजिकैका सर्जु प्रधानाङ्ग त्यहाँ आइ पुग्छन् । उनले गंगाधर सरलाई कृत्रिम श्वास प्रक्रियाका लागि आफ्नो मुख गंगाधर सरको मुखमा जोड्छन् । छात्ती थिच्दै कृत्रिम श्वास दिने प्रयत्न गर्छन् । 

अर्कोतर्फ अस्पताल लैजाने चाँजोपाँजो भइरहेको छ ।

नारायणबहादुर नायभा (स्थानीय समाजसेवी) को गाडी आइसकेपछि त्यही गाडीमा राखेर अस्पताल पुर्याउने क्रममा माइला दाइ पसलको सटर तानेर अस्पताल पुग्दा नपुग्दै धेरै शुभचिन्तक त्यहाँ पुग्छन् ।

अस्पतालको सुपरिटेन्डेन्टले गंगाधर सर सदाका लागि टाढिएको बताउँछन् ।

विद्यालय जाँदै गर्दा बाटामै बिते 'हेडसर'...

यो दुःखद घटनाका साक्षी मध्येका एक माइला दाइ हुन् । गंगाधर सरप्रति एकदमै सम्मान गर्ने व्यक्ति, माइला दाइ गंगाधर सरको अन्तिम आवाज सुन्ने व्यक्ति हुन् । बुधबार उनी बोल्न समेत सकिरहेका थिएनन् । 

भक्तपुरको शैक्षिक क्षेत्रका ‘नक्षत्र’ को उपाधि लिएर ‘अलबिदा’ भन्दै अन्तिम श्वास सहित सदाका लागि आँखा चिम्लिएका गंगाधर हाडा (२०२३/०७/०७ –२०७९/०९/११) को पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो, उनैको पसिना, लगनले फराकिलो बनेको मेधा (साविकको कन्या मावि) स्कुलको आँगनमा । 

त्यही आँगनमा थिए, रुन्चे आवाज, स्वरका साथ हातमा पुष्पगुच्छा, खादाका साथ आएका गंगाधर सरलाई चिनेकादेखि नचिनेका र गंगाधर सरको नाम सुनेकाहरु ।

सोमबार (पुस ११ गते) स्कुल जाँदाजाँदै बाटोबाटै ‘महाप्रस्थान’ को बाटोमा लागेका गंगाधर हाडाको शव यात्रामा सहभागीहरुको स्वर काँपिरहेको थियो । गंगाधर सरप्रति श्रद्धाञ्जलिका शब्द समेत आइरहेको थिएन ।

त्यही माझमा रहेका भक्तपुर क्यान्सर सोसाइटी भक्तपुरका संयोजक सर्जु प्रधानाङ्गले आफू दुई मिनेट ढिलो पुगेर गल्ती महशुस भएको सुनाउँदा त्यहाँको वातावरण अझ भावविह्व भयो । उनले सकिनसकि सुकसुकाउँदै भने, ‘मैले उहाँलाई आफ्नै मुखबाट कृत्रिम श्वास दिएँ, त्यसपछि एक मिनेटजति पछि उहाँले आँखा खोल्नुभयो, अब बाँच्नुहुन्छ भन्ने लागेको थियो, त्यति नै खेर गाडी आइ पुग्यो, गाडीमा राखेर अस्पताल पुग्यौं, अस्पताल पुग्दा हामी अलिकति ढिला भइसकेका रहेछौं । अस्पतालमा इसिजी गर्यो, इसिजीको लाइनले केही पनि देखाएन ।’

साविकको एसएलसी मा लगातार ‘शून्य’ नतिजा आएपछि तत्कालिन जिल्ला शिक्षा कार्यालय भक्तपुर तह घटाउने निर्क्यौलमा पुगेको थियो । साविकको कन्या माविलाई अहिलेको मेधा मावि (देशका सामुदायिक विद्यालयमध्येको सर्वोत्कृष्ट) बनाउने ‘नायक’ हुन्, गंगाधर हाडा ।

एक उदाहरणीय शिक्षक बन्न सफल गंगाधर हाडाले भक्तपुर नगरको हालको वडा नं ३, तेखापुखुस्थित मेधा माध्यमिक विद्यालय १५ वर्ष अघिसम्म कन्या माध्यमिक विद्यालयको नाममा संचालित थियो । त्यतिखेर, सो विद्यालय अस्तित्व रक्षाको अवस्थामा पुगेको थियो ।

त्यो अवस्थाको स्कुलको जिम्मा आफ्नो काँधमा लिने आँट गरी गंगाधर सर, तेखापुखुको फोहोर(गुहुमुत) पन्छाएर स्कूल छिरे । दैनिक करिव १६ घण्टा विद्यालयमा बिताएर उनले निल हुने विद्यालयलाई उत्कृष्ट बनाए । परिणाम नेपाल सरकारले लगातार दुईपल्ट नेपालको उत्कृष्ट सरकारी विद्यालय भनी घोषणा गर्यो । 

उनको कुशल नेतृत्वले ०६१ सालको एसएलसीमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भए । विसं.२०७१ मा कन्या माविबाट मेधा माविमा रुपान्तरण भएसँगै २०७६ मा देशकै सर्वोकृष्ट सामुदायिक विद्यालयमा दरिन पुग्यो । पहिला सबैले छिछि र दूरदूर गरी हेला होचोमा परेको स्कुलमा आएको परिवर्तनपछि निजी स्कुल छाडेर भर्ना हुन आउनेहरुको लर्को नै लाग्ने गरेको छ । 

गुणस्तरीय शिक्षाको पयार्य बनेपछि, गंगाधर सरको लगनबाट प्रभावित भएपछि भक्तपुरकै एभरेष्ट स्कुलमा पढिरहेका सन्तानलाई सो स्कुलमा भर्ना गरेको सम्झिन्, शिक्षा प्रशासक यमुना पोखरेलले ।

एक अविश्राम शिक्षकको कार्यरत अवस्थामै भएको असामयिक निधनले मेधा स्कुललाई मात्र हैन, सिंगो भक्तपुर र शिक्षा जगतलाई अपूरणीय क्षति पुगेको सबैले अनुभव गरे ।

उनलाई नजिकबाट चिनेका शान्ति निकेतन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक महेन्द्रगोपाल कर्माचार्यले उनको निधनले ठूलो शैक्षिक क्षति पुगेको बताए । श्रद्धाञ्जलिका लागि आएका भक्तपुरको सानो थिमिस्थित आदर्श लायकू माविका पूर्व प्रधानाध्यापक उद्धव सुजखुले सिंगो सार्वजनिक शिक्षाको साखलाई उच्च बनाउन भूमिका निर्वाह गरेको स्मरण गरे ।

त्यस्तै जागृति माविका पूर्व प्रअ हरिहर पोखरेलले गंगाधर सर अविष्मरणीय व्यक्तित्व भएको बताए । २०४५ सालदेखि नै आफूले चिनेको व्यक्तिका रुपमा रहेका गंगाधर सर आफूले पाएको जिम्मेवारीलाई पूरा गर्न घर, परिवार नभनी खटिरहने व्यक्तित्व भएकाले उनी आफ्नो लागि समेत प्रेरणाका खानी भएको बताए ।

जीवनको महत्वपूर्ण समय शिक्षाको विकासका लागि अर्पेका गंगाधर सर पछिल्लो समयमा स्कुलको नेतृत्वको विषयमा चिन्तित थिए । आफ्नो अवकास पछि स्कुलको नेतृत्व कसले, कसरी गर्ने होला ? भनेर उनी सहपाठीहरुसँग कुरा गर्ने गर्थे । सोही विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजकृष्ण गोराले गंगाधर हाडाले आफूले छोडेपछि स्कुल के होला ? भनेर चिन्ता जनाउने गरेको स्मरण गरे ।

विद्यालयको उन्नति, प्रगतिका लागि शिक्षकहरुलाई सहकर्मी ठान्ने, विद्यार्थीलाई छोराछोरीको संज्ञा दिने गंगाधर सरको अन्त्येष्टिमा हजारौं अभिभावक, विद्यार्थी रस्थानीयहरूको सहभागिता थियो । बुधबार हनुमानघाटमा उनको अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया