Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

विद्यालय जाँदै गर्दा बाटामै बिते 'हेडसर'...

सोमबार, ११ पुस २०७९

भक्तपुर - विद्यार्थी अभावका कारण झण्डै बन्द भई सकेको सामुदायिक विद्यालय उत्कृष्ट बनाएको भन्दै जस पाएका हेडसरको विद्यालय जाँदै गर्दा बाटामै निधन भएको छ । मेधा माध्यमिक विद्यालय, तेखापुखुका प्रधानाध्यापक गंगाधर हाडाको सोमबार विहान अञ्दाजी साढे ९ बजे तिर निधन भएको हो । 

सोमबार घरबाट विद्यालय जाने क्रममा गाह्रो भएर भक्तपुर नगरपालिका देगमना स्थित एक पसलको मेचमा बसेका हाडाको निधन भएको शान्ति निकेतन माविका पूर्व प्रधानाध्यापक महेन्द्रगोपाल कर्माचार्यले जानकारी दिए ।

'स्कुल जान मोटरसाइकलमा आउनु हाडा सर, गाह्रो भयो भन्दै देगमनाको एउटा पसलमा रोकी पानी माग्नु भएको रहेछ' कर्माचार्यले भने,  'उहाँले पानीको बोतलको बिर्काे खोल्न नसक्नु भएपछि साहुनीले गाह्रो भयो कि भनी सोध्दा आफूलाई गाह्रो भएको बताए पछि एम्बुलेन्स नम्बर खोज्दा खोज्दै उहाँ लड्नु भएछ ।'

बेहोस हाडालाई भक्तपुर अस्पताल पुर्याईएको थियो । अस्पताल ल्याउनु अघि नै उनको मृत्यु भइसकेको अस्पतालले घोषणा गरेको उनले बताए । चिकित्सकहरूका अनुसार उनको निधन उच्च रक्त चापका कारण भएको हो ।

नेपाल शिक्षक महासंघ भक्तपुरका पूर्व अध्यक्ष समेत रहेका उनी विगत डेढ दशकदेखि मेधा माविमा प्रधानाध्यापकको भूमिकामा कार्यरत थिए । उनकै नेतृत्वमा विद्यालय उत्कृष्ट भएको थियो । वि. सं २०२३ मंसिरमा जन्मिएका उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

२०४७ सालमा भक्तपुरको सूर्याेदय माविबाट अध्यापन थालेका उनले ज्ञानविजय आवि, बोडे मावि, आदर्श माविमा अध्यापन गराएका थिए । 

उनको अन्त्यष्टी बुधबार मात्र हुनेछ । अहिले उनको शव केएमसी अस्पताल दुवाकोटमा राखिएको छ ।

 

प्रतिक्रिया