Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

पुस्तक प्रदर्शनी : ३ देखि २८ सय रुपैंयासम्मका पुस्तक

मंगलबार, १९ पुस २०७९

ललितपुर - पुल्चोकको साझा प्रकाशन केन्द्रीय कार्यालयको अर्धवृत्ताकार गेट छिर्ने बित्तिक्कै ‘पार्किङ यता’ भनेर लेखिएको दिशासूचक राखिएको छ । 

त्यसको ठीक अगाडि टेबलमा फिँजाइएको छ, साहित्यिक पत्रिका ‘गरिमा’ का पुराना अंकहरु । 

त्यससँगै छ, एउटा जस्ताको टहरा । टहराभित्र साझाले फिँजाएको छ थुप्रै पुस्तकहरु । पुस्तक प्रदर्शनी स्थलको एकातिर ब्याग राख्ने र्याक छ, त्यसको सम्मुखमा बिल काट्ने टेबल राखिएको छ ।
जस्ताको टहराको अँध्यारो हटाउन ठाउँठाउँमा बल्ब बालिएका छन् । त्यही बल्बको उज्यालो र पुस्तक प्रदर्शनी छिर्ने ठाउँको उज्यालोको भरमा हेरिरहेका छन्, एक÷दुई जना पुस्तक प्रेमीहरु ।
प्रर्दशनीमा नयाँ पुस्तकहरु मात्र छैनन्, पुराना पुस्तकहरु पनि छन् । कुनै फिजाइएका छन्, कुनै चाङ लगाइएका छन् । 

पुस्तक हेर्दै, खोज्दै जाँदा कति पुस्तकहरु कामै नलाग्ने गरी धमिराले खाएकाहरु पनि छन् । धूलो टक्टक्याउनु पर्ने पुस्तकहरु पनि प्रदर्शनीमा राखिएका छन् । पुस्तक प्रदर्शनीमा पुस्तक छानिसक्दा हात कालो भइसक्छ । 

‘साझाको पुस्तक प्रदर्शनी खाली औपचारिकताको लागि मात्र गरेको देखियो, धमिराले खाएका पुस्तकहरु ओसिएका पुस्तकहरु राखिएका छन्’, भक्तपुरबाट प्रदर्शनीमा पुगेका पत्रकार संजीव दुलालले भने । उनले पुस्तक खोजीसक्दा धुलाम्य मात्र नभएर रुघा नै लाग्ला भन्ने चिन्ता लागेको बताए । 

प्रदर्शनीस्थलमा ३ रुपैयाँदेखि २ हजार ८ सय रुपैंयासम्मका पुस्तक  भए पनि पाठकको खासै उपस्थिति देखिँदैन । 

प्रदर्शनीमा योगेन्द्र तिमल्सिनाको कथा संग्रह ‘बैँसको निर्वासित शहर’को मूल्य ३ रुपैंया छ भने ‘संस्कृत–नेपाली शब्दकोश’ को मूल्य २ हजार ८ सय रुपैंया । नयाँ र पुराना पुस्तकहरु गरी प्रदर्शनीमा साझा प्रकाशनका मात्र २२ सय थान पुस्तक र अन्य प्रकाशन गृहका पनि पुस्तकहरु रहेको प्रवक्ता होमनाथ भट्टराईले बताए । 

उनले देशभरका १३ वटा शाखामा साझाले एकैपटक प्रदर्शनी गरेको जानकारी दिँदै आशातीत पाठकहरुको उपस्थिति नभएको दुखेसो पोखे । भने, ‘खै जाडोको प्रभाव हो कि ? क्रयशक्तिको प्रभाव, न प्रचारै गर्न सकेनौं कि ? पाठकहरुको खासै फ्लो छैन ।’ 

विशेषत: मीन पचासको बिदासँगै फुसर्दमा रहेका विद्यालय र विश्वविद्यालय तहका विद्यार्थीका लागि लक्षित गरी गरिएको सो प्रदर्शनीमा विद्यालयदेखि विश्वविद्यालय तहसम्मका अध्येताहरुका लागि उपयोगी पुस्तकहरु राखिएका छन् ।

प्रदर्शनीमा २५ देखि ८० प्रतिशत छुटमा पुस्तक खरिदको व्यवस्था गरिएको प्रवक्ता भट्टराईले बताए । प्रर्दशनीमा २०४० सालभित्र प्रकाशित पुस्तकहरुमा ५० प्रतिशत, २०५० सालभित्र प्रकाशित पुस्तकहरुमा ४० प्रतिशत, २०५१ सालपछि प्रकाशित पुस्तकहरु । अन्य प्रकाशन गृहका पुस्तकमा ३० प्रतिशत, सबै किसिमका शब्दकोषहरुमा २५ प्रतिशत र २०७८ अघिका गरिमा मासिक पत्रिकामा ८० प्रतिशत छुट रहेको साझा प्रकाशनले जनाएको छ ।

साझाको उक्त प्रदर्शनीमा आएका पाठकहरु मध्ये अधिकाँशले कुनै कर्पोरेट हाउसले पुराना सामान पन्छाउन दिएको अफर ‘स्टक क्लियरेन्स’ जस्तै मात्र भएको टिप्पणी गरे । 

प्रवक्ता भट्टराईले पुस्तक प्रदर्शनी पनि साझाको नियमित काम नै भएको बताउँदै पठन अध्ययन संस्कृतिका लागि उपयोगी भएको बताए ।

प्रतिक्रिया