Edukhabar
शुक्रबार, १८ फागुन २०८०
अन्तर्वार्ता

२१ वर्षे प्रधानाध्यापक : अब्बल सावित हुने चुनौती

विहीबार, २८ पुस २०७९

पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नंं १ भोगेटेनिस्थित श्री बालविकास आधारभूत विद्यालयका प्रधानाध्यापक सरोज श्रेष्ठ (खगेन्द्र) अहिले चर्चामा छन् । ‘नयाँ पुस्ताले शिक्षणमा सम्भावना र भविष्य देखेका छैनन्, उनीहरु शिक्षक बन्न खासै मन पराउँदैनन्’ भन्ने भाष्य बनिरहेका बेला २१ वर्षका श्रेष्ठ विद्यालयको नेतृत्व गरिरहेका छन् । २०७८ मा सोही विद्यालयमा अस्थायी करारमा नियुक्ति भई शिक्षण यात्रा सुरु गरेका उनी निमावि तहका लागि पनि सिफारिस भइसकेका छन् । 

वि.संं २०५७ फागुन १० गते पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १ नवमीडाँडामा बुबा भोजराज श्रेष्ठ र आमा लिलादेवी श्रेष्ठका सन्तानका रुपमा जन्मिएका श्रेष्ठले नेतृत्व गरिरहेको विद्यालयमा अहिले ४५ जना विद्यार्थी छन् भने ६ जना शिक्षक छन् । सम्भवतः ‘कान्छो प्रअ’ बनेका श्रेष्ठसँग हरिसुन्दर छुकांले गरेको कुराकानी : 

तपाईंको प्रारम्भिक अध्ययनको बारेमा बताईदिनुस् न ! 

घर नजिकैको श्री तिरतिरे आधारभूत विद्यालयबाट मेरो प्रारम्भिक अध्ययन शुरु भएको हो । सानैमा घरमा हुँदै विद्यालय शिक्षाको आधारभूत ज्ञान बुबाले दिई सक्नु भएको थियो । त्यसैले करिब ४ वर्षको उमेरमा विद्यालय भर्ना भइयो । आश्चर्य लाग्दो कुरा के छ भने, बुबाआमाले विद्यालय जाने, साथीसँग रमाउने कार्य गर्दै गरोस् बानी हुन्छ भनेर विद्यालय पठाउन मात्र थाल्नु भएको रे ! विद्यालयमा सरहरुले भर्ना नै गरि दिई हाल्नु भएछ । बुबा अर्को शैक्षिक सत्रबाट छोरालाई नाम लेखाउन जानू पर्यो भन्दा छोरा २ मा पुगेको थियो भन्ने कुरा थाहा पाउनु भएको रे ! भर्खरै स्नातक तह प्रथम श्रेणीमा उत्तीर्ण भएँ । अब स्नातकोत्तरको लागि तयारी गर्दै छु । म अहिलेसम्म सरकारी विद्यालय बाहेक अन्य निजिमा पढेको छैन ।

अध्ययनकै क्रममा शिक्षाका के कस्ता विषयले तपाईँलाई प्रभाव पारेको छ ? 

हामी निःशुल्क शिक्षा भन्दै नारा लगाउदै हिँड्छौ तर व्यवहारमा लागू भएको छैन । यसले गर्दा गरिब नेपाली जनताका लाखौं छोराछोरी महङ्गो शुल्क तिरेर पढ्न बाध्य छन् । यो देख्दा धेरै दुःखको अनुभूति हुन्छ । अझ पैसाकै अभावले धेरैले आफ्नो अध्ययन नै छोड्नु परेको देख्दा बहुत दुःख लाग्छ ।

यो अवस्थामा गर्न सकिने सुधारका बारेमा कुनै उपाय छ कि ? 

निःशुल्क पढ्न सक्ने वातावरण नेपाल सरकारले तय गर्नु पर्यो, वर्तमान सैद्धान्तिक शिक्षण ढाँचालाई व्यवहारिक र गुणस्तरीय बनाउनु पर्यो, प्राविधिक तथा व्यावसायिक र रोजगारमुलक सिकाइ प्रक्रिया र पाठयक्रम निर्माण गर्नु पर्यो । जति सक्दो शिक्षण क्षेत्रमा देखा परेका वेथितिको अन्त्य गर्नु पर्छ भन्ने लाग्छ ।

तपाईंले शिक्षण पेशा नै रोज्नुको खास कारण के हो ? 

मुख्य कारण त मेरो एउटा लक्ष्य पनि हो । मलाई के लाग्छ भने हामी २१ औं शताब्दीका मान्छेहरु धनसम्पत्तिमा नै लिप्त छौँ तर मलाई के लाग्छ भने धन सम्पत्ति त्यो आआफ्नो ठाउँमा छ तर सम्मान, इज्जत भन्ने कुरा हाम्रो अमूल्य गहना हो, त्यो म शिक्षण पेशामा पाउँछु ।

जहाँ आफू पनि सिक्न पाइन्छ र आफुले पनि अरुलाई सिकाउन सकिन्छ । यस्तो आनन्ददायी र हजारौं अबोध बालबालिकालाई ज्ञानको ज्योति दिन पाउँदा मन त्यसै प्रफुल्ल हुन्छ यही सोचबाट प्रेरित हुँदै यो क्षेत्रमा आएको हुँ । विशेषतः यो क्षेत्रमा आउनुमा मेरो बुबाको ठूलो साथ र सहयोग छ । उहाँ आँफै पनि शिक्षण पेशामा नै हुनुहुन्छ तर उहाँ स्थायी बन्न सक्नु भएन । बुबाको शिक्षण कौशलबाट पनि थोरबहुत प्रेरित भएको छु र आज यहाँसम्म आउन सफल भएँ ।

अहिले नयाँ पुस्ता शिक्षक बन्न हिचकिचाई रहेको बेला तपाईंलाई के कुराले यही पेशामा टिकिरहुँ बनाइ रहेको छ ?

वर्तमान समयमा विज्ञान र प्रविधिको विकाससंगै यसलाई पनि शिक्षणमा संगसंगै अघि बढाउनु पर्ने चुनौती भएकाले पुराना पुस्ताको अनुभव र मार्गदर्शनलाई सम्मान गर्दै नयाँ पुस्ता पनि शिक्षणमा आउनु पर्छ भन्ने सङ्कल्पबाट आएको हँुँ । नयाँ पुस्तामा शिक्षण पेशाको महत्व र औचित्य बुझ्न नसकेर साथै आँफैमा शिक्षक बन्न वर्तमान समयमा सामान्य व्यक्ति बन्न नसक्ने भएकाले वितृष्णा पनि छ तर त्यो भनेको सोचाई गलत भएर त्यस्तो भएको हुन सक्छ । आँफैमा एक्स्पर्ट व्यक्ति मात्र शिक्षक बन्न सक्ने भएकाले नयाँ पुस्ता आउन जरुरी पनि छ ।

तपाईंको परिभाषामा शिक्षक हुनु भनेको के हो ?

शिक्षक हुनु भनेको कुनै विद्यार्थीको लागि दाजु हुनु कसैको लागि भाइ हुनु, कसैको लागि बुबा हुनु, कसैको लागि असल साथी हुनु, कसैको लागि नजिकको प्रिय अभिभावक हुनु हो । तसर्थ शिक्षक भनेको एउट यस्तो जिम्मेवार र बौद्धिक पक्ष हो, जसले एउटा परिवार, समाज र सिङ्गो राष्ट्रका लागि अतुलनीय योगदान दिई रहेको हुन्छ ।

शिक्षक हुनु र प्रधानाध्यापक हुनुमा के फरक पाउनु भएको छ ?

धेरै नै अन्तर देख्छु । शिक्षकले आफ्नो विषयमा राम्रोसँग शिक्षण गरि आफ्नो विषयमा दक्षता प्रदर्शन गर्न सक्छ, उसको मुख्य जिम्मेवारी भनेको नै विद्यार्थीलाई सिकाउनु हो । तर प्रधानाध्यापक भन्नासाथ आफ्नो शिक्षण कार्य त छँदैछ, समग्र विद्यालयको शैक्षिक, आर्थिक, भौतिक, प्रशासनिक कामकाजको मुख्य नेतृत्वकर्ता पनि हो ।

जसरी परिवारमा एउटा परिवारलाई सही ढङ्गले अगाडि बढाउन परिवारको मुख्य सदस्यको भूमिका रहन्छ । त्यसै अनुरुप विद्यालयको मुख्य जिम्मेवार केन्द्रविन्दु प्रधानाध्यापक हो । प्रधानाध्यापक र शिक्षकमा काम कारबाहीको हिसाबले धेरै नै अन्तर देखेको छु । हरेक विद्यालयको समस्या समाधानको केन्द्रविन्दु प्रअ हो ।

हुनतः शिक्षा नियमावलीमा पनि अस्थायी करार शिक्षक प्रधानाध्यापक बन्न पाईंदैन भन्ने उल्लेख नै छ तर जब स्थायी प्रअको अवकास भयो त्यसपश्चात विद्यालयमा सबै अस्थायी करार दरबन्दी मात्र थियो । यस्तो विषम परिस्थितिमा मैले विद्यालयमा नियुक्ती भए यता प्रअको सबै प्रशासनिक कामकाज गर्दै आएको थिएँ । त्यसैले अनुभव धेरै बटुली सकेको थिएँ, मात्र जिम्मेवारी पद पाएको थिइनँ । तसर्थ सबै स्टाफ, वि.व्य.स र पुर्व प्रअबाट सर्वसम्मत मलाई प्रअको जिम्मेवारी प्राप्त भएको हो ।
त्यस यता विद्यालयमा त्यस्तो ठूलै समस्या त आएको छैन तर यस अवधिसम्म वि.व्य.स र शिअस. जस्तो गर्विलो समितिको गठन गर्ने प्रक्रियालाई सहज ढङ्गले निर्वाह गरियो । बिच बिचमा शिक्षण सम्वन्धी देखापरेका समस्यालाई स्टाफहरुसँग बसेर छलफल, अन्तरक्रियाद्वारा समाधान पनि गरियो । समस्या त आई नै रहन्छन् एउटा विद्यालय जस्तो ठाउँमा तर समाधान पनि व्यक्तिगत रुपबाट, सामुहिक रुपबाट गर्दै अघि पनि बढी राखिएको छ ।

सुरूमा अध्यापन थाल्दा र अहिले अध्यापन गरिरहँदाको अनुभव कस्तो छ ?

सुरुमा केही मात्रामा असहज महशुस स्वभावैले भई नै हाल्यो । नयाँ परिवेश र वातावरणमा भिज्न केही समय लाग्यो, फेरि सबैभन्दा सानो भएर पनि होला विद्यार्थी चाँडै नै घुलमिल भए धेरै रमाइलो क्षणबाट नै सुरु भयो किन भने मलाई बोल्नका लागि केही समस्या हुदैन थियो । म आँफैमा वक्ताको रुपमा पनि रहन्छु ।

अहिले अध्यापन गर्न धेरै नै सहज छ, विषयबस्तुमा मजाले घुलमिल भइएको छ । विद्यार्थीको बाल मनोविज्ञानलाई अध्ययन गर्दै शिक्षण गर्न निरन्तर  अनुभवहरु बटुल्दै अघि बढिदै छ र सहज महसुस भएको छ । तर वर्तमान समयमा प्रधानाध्यापकको जिम्मेवारीले गर्दा पहिले जसरी शिक्षण कार्यमा सरिक हुन पाइएको छैन । धेरैजसो प्रशासनिक कामले नै ब्यस्त बनाउने गर्छ ।

पछिल्लो समयमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिँदा शिक्षामा देखिएको सकारात्मक कुरा के हो ? नकारात्मक वा सुधार्नुपर्ने कुरा पनि छन् कि ?

वर्तमान समयमा माध्यमिक तह सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिँदा सकारात्मक र नकारात्मक दुबै कुरा देखा परेको अनुभव गरेको छु । सकारात्मक पाटोलाई हेर्दा माध्यमिक तहसम्मको अनुगमन, सञ्चालन, सुधार गर्ने सबै जिम्मा स्थानीय तहलाई दिँदा स्थानीय वस्तु तथा स्रोत र साधनको विकास साथै बजारीकरणले विशेष महत्व पाएको छ यो एकदमै राम्रो पक्ष हो ।

अझ शिक्षणमा देखा परेका हरेक समस्या तत्काल समाधान गर्न स्थानीय सरकार नै तत्काल लागि पर्न सक्ने भएकाले समस्या समाधान गर्न सहज पनि हुन्छ ।

स्थानीय भाषा, कला, संस्कृतिको विकास र स्थानीय तहको विकासको लागि आवश्यक जनशक्ति स्थानीय स्तरबाटै उपलब्ध गराउन सक्नु यसको राम्रो पक्ष देख्छु । तर यसो भनी रहँदा यी सबै कुराको कार्यान्वयनको पाटो फितलो हुनु चाँही यसको नराम्रो पक्ष हो । अझ शिक्षामा राजनीति गर्ने मुख्य थलोको रुपमा विद्यालय बनी रहेको छ, हरेक शैक्षिक गतिविधिमा राजनिती हस्तक्षेप बढि हुनु र तीन तहकै सरकारबिच तालमेल हुन नसक्नु यसको नकारात्मक पाटो हो जस्तो लाग्छ ।

सार्वजनिक शिक्षा ह्रासोन्मुख भइरहेकोमा सबैले चिन्ता जनाइरहेका छन्, सार्वजनिक शिक्षा ह्रासोन्मुख हुनुका कारण के जस्तो लाग्छ ? यसलाई सुधार्ने कसरी ?

वर्तमान समयमा सामुदायिक विद्यालय प्रति अभिभावकको दृष्टिकोण कमजोर भएकाले नै सामुदायिक विद्यालयमा विद्यार्थी पनि थोरै छन् । तसर्थ अबको योजना भनेको विद्यालयमा विद्यार्थी संख्या बढाउन नतिजामा गुणस्तरीयता ल्याउने र अभिभावकको मन बुझाउँदै एउटा प्रगतिशील विद्यालयको रुपमा विद्यालयलाई अगाडि बढाउन स्टाफ, वि.व्य.स, शि.अ.स, अभिभावक र अग्रज ब्यक्तित्वहरुसँग सहकार्य गर्दै अघि बढ्ने योजना मुख्य रुपमा अघि सारिएको छ ।

शिक्षकहरु दलगत राजनीतिमा आवद्ध भएका कारण शिक्षा बिग्रियो भन्ने तर्क पनि बलियो छ, के यो साँच्चै हो ?

राजनीति भन्ने कुरा गलत हो भन्ने धारणा चाहिँ हामीले राख्नु हुन्न किनभने सम्पूर्ण देश विकासको निति, निर्माणमा राजनीतिको नै ठूलो भूमिका हुन्छ ।  अझ हाम्रै छिमेकी राष्ट्रहरुले विकासको फड्को मार्नुको पछाडि त्यहाँको सफल राजनीति पनि पक्कै हो । बिडम्बना हाम्रो देशमा भने राजनीतिको सहि अर्थबोध र कार्यान्वयन नै हुन सकेन । यसलाई स्वीकार्नु बाहेक हामिले केही छैन ।

तपाइँले गर्नु भएको प्रश्न एकदमै सान्दर्भिक लाग्यो । अधिकांश शिक्षकहरु राजनीतिमा आबद्ध भएर नै विद्यालय बिग्रेको पनि हामीले देखेका नै छौँ । शिक्षक नै नेता भएर कुद्ने परिपाटी त अझ धेरै छ । पढाउने, सिकाउने मान्छे विद्यालयभन्दा बाहिर राजनीति कामकाजमा ब्यस्त भएको प्रमाण पनि छ तर यसो भनी रहँदा सबै शिक्षक राजनीतिमा आबद्ध नै छन् भन्ने चाहिँ छैन । म त भन्छु राजनीति गर्ने ठाउँ अहिले नेपालमा विद्यालयमा नै बढी बनाइ रहेका छन् । यसलाई तत्काल नियन्त्रण नगर्ने हो भने भविष्यमा यसले ठूलो समस्या पक्कै पनि निम्त्याउने नै छ । यसमा सबै सचेत हुनु जरुरी छ ।

तपाईं, भर्खर २१ वर्षको ठिटो प्रअ, तपाईंप्रति धेरैले शिक्षा सुधारको अपेक्षा राखेका पक्कै पनि छन्, त्यो तपाईंको लागि अवसर पनि हो, त्यसलाई कसरी पूरा गरी आफूलाई सावित गर्नुहुन्छ ?

हो, म प्रति धेरैको चासो र केही नयाँ विकास र सुधारको अपेक्षा हुनु स्वभाविक नै हो । म आफै पनि आफ्नो लागि मात्र होइन एउटा समाज र सिङ्गो राष्ट्रलाई नै केही योगदान गर्न सकिन्छ कि भन्ने मनसायले नै शिक्षा क्षेत्रमा प्रवेश गरेको हुँ । कलिलो उमेरमा नै ठूलो जिम्मेवारी आएको छ, यसलाई म एउटा चुनौती र अवसर दुबै रुपमा लिएर अघि बढ्ने छु ।

यो उमेरमा त्यसै पनि हाँसखेल गर्ने, रमाइलो गर्ने, साथीसँगीसँग रमाउने अवस्था पक्कै पनि थियो तर यी सम्पूर्ण अवस्थालाई पनि समेट्दै अझ थप केही नयाँपन समाज र राष्ट्रलाई दिन सकौ भन्ने लक्ष्यका साथ अघि बढ्ने प्रण पनि गरेको छु । जति पनि नयाँ पुस्ताका युवा साथीहरुले हौसला, प्रेरणा दिई रहनु भएको छ । यसलाई म सधै शिरोपर गर्दै अघि बढ्ने छु । 

प्रतिक्रिया