Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

सिकाइ सामग्री : आलु, चना, गाजर र च्याम्पटी

सोमबार, ०१ फागुन २०७९

भक्तपुर - टेबलमाथि अण्डा राख्ने क्रेटको टुक्रामा साना ठूला आलु, प्लाष्टिकको खेर गएको प्लेटमा भटमास, चना, च्याम्पटी, कागज, काठका टुक्राले बनाइएका विभिन्न सामग्रीहरुलाई अगाडि राखेर मेचमा बसिरहेका थिए, रोजिना लागेजू, शोभा दथेपुथे र अर्का एक अभिभावक । ती तीन अभिभावकलाई साथ दिँदै थिइन् चाँगुनारायण नगरपालिका वडा नंं ६ छालिङको श्रीगणेश माविका एक शिक्षक । 

नगरपालिकाले गरेको गणित सिकाइ सामग्री प्रदर्शनीमा सहभागी अभिभावक र अन्य विद्यालयबाट सहभागी शिक्षकहरुलाई अभिभावक लागेजू भन्दै थिइन्, ‘यो आलु हो, यो आलुलाई पनि शैक्षिक सामग्रीको रुपमा प्रयोग गर्न सकिन्छ ।’

उनको जवाफ नटुङ्गिदै अवलोकन कर्ताले प्रश्न गरिहाले, ‘कसरी ?’ 

अनि अभिभावक लागेजूले हातमा आलु लिँदै भनिन्, ‘यो दुईटा आलुमध्ये एउटा सानो आकारको छ, अर्को ठूलो आकारको छ, यसलाई गणितको भन्दा ठूलो र भन्दा सानो भन्ने पाठमा प्रयोग गर्न सकिन्छ ।’

त्यस लगत्तै सँगै बसेर उनलाई साथ दिइरहेकी शोभा दथेपुथेले भटमास र चनालाई पनि गणित विषयका विभिन्न पाठहरुमध्ये ‘गणना’ भन्ने पाठका लागि सिकाइ सामग्रीका रुपमा उपयोग गर्न सकिने बताइन् ।

‘सानासाना बाबुनानीहरुलाई गन्ती सिकाउँदा, जोड, घटाउ, गुणन, भाग सिकाउँदा औंलामा गन्न भ्याउँदैनन्, त्यो बेलामा चना, भटमास, मकैलाई पनि प्रयोग गर्न सकिन्छ ।’

छालिङको श्रीगणेश माविको कक्षा २ मा छोरा पढाइरहेका लागेजू र कक्षा १ र ३ मा नानी पढाइ रहेकी दथेपुथेले आफूले प्रदर्शनीमा राखेका सामग्रीको प्रयोगको तरिकाबारे बताउँदा सहभागी शिक्षकहरुले बालबालिकाको सिकाइका लागि अभिभावकलाई पनि समावेश गर्न सकिने प्रतिक्रिया दिए ।

प्रदर्शनीमा सहभागी कोहीले आलु, कोहीले च्याम्पटी, कोहीले भट्मास, कोहीले मकै, कोहीले चना, कोहीले सिन्काका टुक्रा, कुनै अभिभावकले बरफका सिन्का, कुनै अभिभावकले पेस्ताको बोक्रा, कोहीले कागज र काठबाट बनाएको तराजु, कोहीले चम्चा प्लेट, थैली, कागजको घडी, कलम आदिलाई प्रदर्शन गर्दै त्यसलाई सिकाइ सामग्रीका रुपमा प्रयोग गर्न सकिने तरिका सुनाएका थिए ।

‘यो सिन्कालाई हामी विभिन्न ज्यामितीय आकारहरुबारे विद्यार्थीलाई अवधारणा सिकाउन प्रयोग गर्न सक्छौं’, सोही प्रदर्शनीमा सहभागी दुवाकोटको सरस्वती आधारभूत विद्यालयकी शिक्षक कमला वाग्लेले बताइन् ।

गणित विषयमा विद्यार्थीको सिकाइ क्षमता सुदृढ बनाउनका लागि नगरपालिकामा  ‘आधारभूत शिक्षाको गुणस्तर सुधार परियोजना’ (आइमिन) को प्राविधिक सहयोगमा सो प्रदर्शनी गरिएको थियो । कक्षा १ देखि कक्षा ३ सम्मको गणित शिक्षणका लागि आवश्यक विभिन्न शैक्षिक तथा सिकाइ सामग्रीको प्रदर्शनीमा नगरपालिका वडा नंं १ देखि ५ सम्मका विद्यालयहरुको सहभागिता रहेको थियो ।

विद्यार्थीको सिकाइका लागि शिक्षकको भूमिका मात्र नभई अभिभावकको पनि सहभागिता र भूमिका हुने यथार्थलाई बुझाउन र विद्यार्थीको सिकाइका लागि अभिभावकको सहभागिता बढाउन सकिने सीप र उपायको आदानप्रदान गर्न सो प्रदर्शनी गरिएको आयोजकले जनाएको छ । जाइकाको सहयोगमा नगरपालिकामा लागू भएको परियोजना अन्तर्गत गरिएको प्रदर्शनीमा अभिभावकले आफ्नो दैनिक जीवनमा प्रयोग हुने विभिन्न वस्तु र सामग्रीलाई गणित सिकाइसँग जोड्न सकिने उदारहणको प्रदर्शनी गरेको नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख वीरबहादुर खड्काले बताए ।

आइमिनका संयोजक टोमोमीले स्थानीय स्रोत, घरायसी सामान र वस्तुको प्रयोग गरी विद्यालयमा मात्र नभई घरमा पनि अभिभावकले विद्यार्थीलाई सिकाइमा जोड्न सकिने बताए । घरमा अभिभावकले सिकाएको ज्ञान प्रभावकारी र व्यवहारिक हुने उनले बताए ।

आइमिनका भक्तपुर जिल्ला संयोजक लक्ष्मी पाण्डेले गणित विषयलाई गाह्रो विषयका रुपमा लिइरहेका शिक्षक, अभिभावक र विद्यार्थीका लागि सो प्रदर्शनी फलदायी भएको बताइन् । उनले सानो उमेरदेखि नै गणित विषयको व्यवहारपरक सिकाइ गर्न जरुरी रहेको जनाइन् ।

प्रदर्शनी हेर्दै गणेश माविका प्रधानाध्यापक इन्द्र फोजूँले विद्यार्थीको उज्ज्वल भविष्यका लागि शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय भूमिका रहने भएकाले अभिभावकलाई पनि विद्यार्थीको पढाइमा जोड्ने तरिका अवलम्बन गर्न जरुरी रहेको बताए ।

गणित विशेषज्ञ शिक्षक एवं प्रशिक्षकद्वय कृष्ण गोसाइँ र एनबी खाताखोले प्रदर्शनीको क्रममा अभिभावकलाई पनि विद्यार्थीको सिकाइसँग जोड्न सके मात्र सिकाइ दीगो रहने बताउँदै नगरपालिकाले गणित सिकाइका लागि गरेको प्रयास अनुकरणीय रहेको बताए ।

सो प्रकृतिको प्रदर्शनी नेपालमै पहिलोपटक गरिएको आयोजकको दावी छ ।

प्रदर्शनीमा श्रीगणेश प्रथम

नगरपालिकाले आयोजना गरेको सिकाइ सामग्री प्रदर्शनी तथा प्रतियोगितामा छालिङको गुडीस्थित गणेश मावि प्रथम भएको छ । 

१७ वटा विभिन्न विद्यालयमा आफ्ना छोराछोरी पढाइरहेका अभिभावकहरुले शिक्षकसँगै आआफ्ना शैक्षिक सामग्री अघि राखी ती सामग्रीको प्रयोगको तरिकाबारे गरिएको प्रदर्शनीमा झौखेलको आजाद मावि द्वितीय, चाँगुको दोलागिरि मावि तृतीय र सुन्दरथलीस्थित यापीभैरब आधारभूत विद्यालयको प्रस्तुतिले सान्त्वना स्थान पाएको थियो ।

दुई चरणमा सम्पन्न हुने सो प्रदर्शनीको पहिलो चरणमा गुडीस्थित सो विद्यालयका शिक्षक तथा अभिभावकहरुले प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया