Edukhabar
आइतबार, ०६ जेठ २०८१
खबर/फिचर

योग्य मध्ये ८३ प्रतिशत विद्यार्थी सहभागि नगराउँदा पनि वर्ल्ड रेकर्ड !

विदेशी एनजिओले दिएको वर्ल्ड रेकर्डको प्रमाणपत्रमा रमाउने कि यहाँ अवसर नपाएर विदेश जान वाध्य विद्यार्थीको मन जित्ने रोजगार मुलक शिक्षाको थालनी गर्ने ? दीक्षित हुन योग्य ७३ हजार ७ सय ४९ विद्यार्थी मध्ये १६ प्रतिशत अर्थात् १२ हजार ४ सय १५ विद्यार्थी मात्रै उपस्थित गराउँदा पनि विश्वविद्यालयका पदाधिकारी खुसी

सोमबार, ०२ पुस २०८०

काठमाडौं - देशकै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति बिना नै सोमबार ४९ औं दीक्षान्त समारोह सकिएको छ । धर्मकान्त बाँस्कोटाको चार वर्षे कार्यकाल गत कातिक १६ मा सकिएपछि विश्वविद्यालयमा उपकुलपति पद रिक्त छ । उनी पदबाट बाहिरिए पछि सरकारले कातिक १७ देखि लागू हुने गरी शिक्षाध्यक्ष शिवलाल भुषाललाई तीन महिनाका लागि निमित्त उपकुलपतिमा नियुक्ति गरेको छ । निमित्त उपकुलपतिको भरमा ६१ औं ग्रेस लिष्टको ४९ औं दीक्षान्तमा ०७९ असार १ देखि ०८० जेठ मसान्तसम्म ट्रान्सकिप्ट लिएका ७३ हजार ७ सय ४९ विद्यार्थी सोमबार दीक्षित भएका हुन् । 

‘विश्वविद्यालयको उपकुलपति बिनै दीक्षान्त हुनु दुर्भाग्य हो’ त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले भने ‘कार्यकाल सकिनु अघि नै नयाँ भीसीको खोजी गरेर नियुक्ति गरिसक्नु पथ्र्यो । विदाई हुने भीसीले नयाँलाई हस्तान्तरण गर्नु पथ्र्यो  तर, हाम्रोमा रिक्त भएको २ महिनासम्म नियुक्तिको प्रक्रिया समेत अघि बढाउन सकेको छैन ।’

माथेमा पछि उपकुलपति भएका कमलकृष्ण जोशी पनि उपकुलपति बिना दीक्षान्त समारोह हुनु बेठिक भएको बताउँछन् । 

‘बेलैमा योग्य व्यक्तिलाई भीसी नियुक्ति गर्न नसक्नु सरकारको कमजोरी हो’ उनले भने ‘सरकारले गल्ती गर्यो भन्दैमा नियमित प्रक्रियामा रहेको कन्भोकेशन रोक्ने कुरा त हुदैन । जसरी भएपनि गर्नै पर्ने हुन्छ । यसपाली भीसी बिनै भयो । तर यो राम्रो होइन ।’

भुषालले उपकुलपतिको हैसियतले दीक्षान्तलाई सम्बोधन गरेका थिए । 

‘दीक्षान्तलाई फोटो सेसन गर्ने अवसरको रुपमा मात्रै नभई विश्वविद्यालयले आर्जन गरेको शैक्षिक तथा प्राज्ञिक सफलता उजागर  गर्ने र आफ्ना ग्राजुयटहरुलाई भावी प्राज्ञिक तथा पेशागत जीवनका लागि दीक्षित गर्ने बिशेष अवसर पनि हो’ उनले भने,‘हामी सामु यतिबेला चुनौतीका पहाडहरू छन् । चुनौतीलाई सम्बोधन गर्दै अवसरहरूलाई मूर्त रूप दिन हामी विश्वविद्यालयलाई व्यवस्थित एवं पारदर्शी बनाउँदै सुधारका लागि प्रयत्नशील छौं ।’ 

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले समेत विश्वविद्यालयमा पछिल्लो समय प्राज्ञिक र भौतिक क्षेत्रमा सुधार गरेको भन्दै प्रशंसा गरे । अफिसियल वर्ल्ड रेकर्ड नामक गैर सरकारी संस्थाले प्रदान गरेको प्रमाणपत्रलाई ठुलो उपलब्धी भन्दै प्रधानमन्त्री दाहालले खुसी व्यक्त समेत गरे । 

उनले भने ‘आजको दीक्षान्त समारोह नेपालको इतिहासमा मात्रै नभई विश्व इतिहासमा तमाम श्रृखलाहरुको रेकर्ड ब्रेकिङ बन्यो । ऐतिहासिक रेकर्ड ब्रेक गर्ने दीक्षान्त समारोहमा आउन पाउँदा अन्त्यन्त खुसी छु ।’ 

युरोपियन युनियनमा आवद्ध एउटा गैर सरकारी संस्थाले दिएको रेडर्कमा प्रधानमन्त्री, उपलकुलपति जति खुसी भए पनि विद्यार्थी र अभिावकमा भने खुसी देखिएन । विश्वविद्यालयले  १२ हजार ४ सय १५ विद्यार्थी र तिनका अभिभावक सहित २६ हजारलाई सहभागी गराएर दीक्षान्त समारोह गरेकोमा गौरव गरेको छ । दीक्षित हुन योग्य ६१ हजार ३ सय ३४ विद्यार्थी दीक्षान्तमा भाग लिनै नचाहनुलाई समान्य रुपमा लिईएको छ । उसले दीक्षित हुन योग्य मध्ये १६ दशमलब ८३ प्रतिशत विद्यार्थी मात्रै दशरथ रंगशालामा उपस्थित गराएमा गौरव गरेको छ । 

दीक्षित हुन योग्य कुल विद्यार्थी, कुन संकायमा कति 

व्यवस्थापन २७८५९
शिक्षा १६७८९
मानविकी १४०२२
विज्ञान तथा प्रविधि ७०३३
इञ्जिनियरिङ २८५९
कानून २२२९
चिकित्साशास्त्र २०१०
कृषि पशु विज्ञान ६३९
वन विज्ञान ३००

अफिसियल वर्ल्ड रेकर्डले धेरै विद्यार्थी र अभिभावकको भौतिक उपस्थितिमा दीक्षान्त समारोहका लागि प्रमाणपत्र दिएको हो । जब कि दीक्षित हुन योग्य ६१ हजार ३ सय ३४ अर्थात् ८३ दशमलब १७ प्रतिशत विद्यार्थी अनुपस्थित भए ।

उनीहरुले दीक्षित हुन विश्वविद्यालयमा फारम नै भरेका छैनन् । योग्य मध्येका १६ प्रतिशत विद्यार्थीलाई सहभागि गराएकैमा रेकर्ड कायम गरेको प्रमाणपत्र पाएर विश्वविद्यालयका पदाधिकारी मख्ख परे पनि दीक्षित भएकै विद्यार्थी भने निरास छन् । 

‘दीक्षित भएपनि कामको अवसर छैन । अवसरको खोजीमा विदेश जानुको विकल्प देख्दिन’ अंग्रेजी साहित्य तर्फ स्नातकोत्तरमा सर्वप्रथम भएर डा. मोहनप्रसाद लाखे स्वर्ण पदक पाएकी पलिस्था रञ्जितकारले भनिन ‘मुलुकमै रोजगारी पाउने शिक्षाको खाँचो छ । डिग्रीले मात्रै केही हुदैन ।’ 

त्रिभुवन विश्वविद्यालय प्राध्यपाक संघ शहिद उप–प्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक पाएका एमफिलका सार्वेत्कृष्ट किशोरकुमार गौतम विश्वद्यिालय सुधार्न राजनीतिक हस्तक्षेप बन्द हुनु पर्ने र योग्य व्यक्तिलाई विश्वविद्यालयमा अवसर दिनु पर्ने बताउँछन् । ‘अवसरको खोजी गर्दै स्वदेशका शिक्षण संस्था छाडेर विदेश जाने क्रम बढेको छ । यसलाई रोक्न शैक्षिक संस्थामा राजनीतिक भागवण्डा रोक्नु पर्छ’ उनले भने ‘विदेशमा गएकालाई स्वदेशमा फर्काउने वातावरण बनाउन सक्नु पर्छ ।’ 

विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा राजनीतिक भागवण्डा गर्ने परम्पराको अन्त्य त्रिभुवन विश्वविद्यालयबाटै सुरु गर्न लागेको बताए । 
‘अब दलीय भागवण्डाबाट भीसीको नियुक्ति हुँदैन । योग्य व्यक्तिको छनौट गरेर मेरिटको आधारमा नियुक्ति गर्ने प्रतिवद्धता गर्दछु’ दीक्षान्त समारोहमा उनले भने ‘देश भित्र र विश्वभरीमा रहेका योग्य नेपालीलाई भीसीको लागि आव्हान गर्दछु ।’ 

त्रिविको नेतृत्वले विश्वविद्यालय भित्र भौतिक एवम् शैक्षिक सुधार गर्नुका साथै विद्यार्थी कल्याण सम्बन्धी धेरै कार्य गर्दै विश्वमा अन्य प्रतिष्ठित विश्वविद्यालयसंग सहकार्य गरेर स्तरोन्नतिमा सुधार ल्याउने प्रयास गरिरहेको दाहालले दावी गरे । 

दीक्षान्तको परम्परा र त्रिवि

गुरुकुलीय शिक्षा प्रणालीदेखि नै दीक्षान्तको परम्परा रही आएको छ । शिष्यहरुले गुरुसँग शिक्षा दीक्षा प्राप्त गरेपछि दीक्षित हुने पौराणिक कथाहरुमा पनि वर्णन गरिएको छ । एक तहसम्मको शिक्षा दीक्षा पूर्ण भएपछि आफूले आर्जन गरेको शिक्षा एवं ज्ञानलाई व्यवहारिक जीवनमा कसरी उपयोगी बनाउन सकिन्छ भन्ने गुरुबाट दिइने अर्ति र दीक्षाका लागि दीक्षान्त समारोहको आयोजन गरिन्थ्यो । 

२०१६ असार ३० गते स्थापना भएको नेपालको पहिलो विश्वविद्यालयको पहिलो दीक्षान्त ०१७  चैत्र ९ गते भएको थियो ।  कुनै पनि विश्वविद्यालयको लागि दीक्षान्त समारोह महत्वपूर्ण अवसर मानिन्छ । त्यसबाट विश्वविद्यालयको शैक्षिक प्रगति र स्तरको मापन हुने गर्दछ । 

दीक्षान्त समारोहले विश्वविद्यालयको गरिमालाई बढाउने काम गरेको हुन्छ । दीक्षित हुने मध्ये अधिकाँश विद्यार्थी उपस्थित हुँदैनन भने गरिमा बढाउँछ कि घटाउँछ ? सम्बन्धित विद्यार्थी नै अनुपस्थित हुने दीक्षान्तलाई कुनै विदेशी एनजिओले दिएको वर्ल्ड रेकर्डको प्रमाणपत्र धेरै विद्यार्थी अनुपस्थित गराए बापत कि कम उपस्थित गराए बापत !

प्रतिक्रिया