Edukhabar
विहीबार, २७ बैशाख २०८१
खबर/फिचर

एसईई खारेज नगर्ने लविगंमा परीक्षा बोर्ड [भिडियो सहित]

४९ बर्ष शिक्षामा काम गरेको व्यक्ति भएको दलिल पेश गर्दै परीक्षा बोर्डका अध्यक्ष कक्षा १० को अन्तिममा लिने परीक्षाको साविककै शैलीको आवश्यकता पुष्टि गर्ने प्रयासमा

विहीबार, २६ पुस २०८०

काठमाडौ - राष्ट्रिय परीक्षा बोर्ड एसईई खारेज नगर्ने लविगंमा लागेको छ । विद्यालय शिक्षा विधेयकका बारेमा संसदीय समितिले बिहीबार राखेको छलफलमा सहभागी बोर्डका अध्यक्ष महाश्रम शर्माले विना अनुसन्धान एसईई परीक्षा 'क्यान्सिल' गर्न नहुने तर्क राखेका छन् । 

विद्यालयको संरचना बदलिएको ८ बर्ष सम्म साविकको एसएलसीकै शैलीमा कक्षा १० को अन्तिम परीक्षा लिदैं आएको भन्दै आलोचना खेपिरहेको बेला बोर्डका अध्यक्ष शर्माले सांसदहरुलाई एसएलसीको ईतिहास स्मरण गर्न आग्रह गरे । आफू ४९ बर्ष शिक्षामा काम गरेको व्यक्ति भएको दलिल पेश गर्दै उनले कक्षा १० को परीक्षाको आवश्यकता पुष्टि गर्ने प्रयास गरे । 

'कुनै रिसर्च विना त्यत्तिकै हटाईदिउँ भनेर कसरी हुन्छ ?' प्रश्न गर्दै उनले भने '४९ बर्ष शिक्षामा काम गरेको व्यक्ति हुँ, अनुभवले पनि भन्दै छु ,१९९० सालबाट शुरु भएको एसएलसी परीक्षाको ईतिहास छ ।'  

कक्षा ८ पछि एकै पटक कक्षा १२ को परीक्षा मात्रै बोर्डले लिदाँ विद्यार्थीले नपढ्ने तर्क गर्दै उनले भने -'कक्षा १० मा परीक्षा लिएनौं भने विद्यार्थी विदेशिन्छन् । अहिले त १० मा फेल भए पछि पनि पढ्छन्, १२ फेल भए पछि पढ्दैनन् ।' 

२०७३ साल असार १५ गते प्रमाणिकरण भएको शिक्षा ऐनको आठौं संशोधनले विद्यालय शिक्षाको संरचना बदलेर कक्षा १२ लाई विद्यालय तहको अन्तिम कक्षा हुने व्यवस्था गरेको छ । उक्त व्यवस्था अनुसार कार्यान्वयन गर्न पर्नेमा बोर्डले कक्षा १० को परीक्षा साविककै एसएलसीको धँङधँङिको शैलीमा जारी राखेको भन्दै बोर्ड र शिक्षा मन्त्रालयको आलोचना हुँदै आएको छ । 

संसदीय समितिमा शर्माले चीन, बेलायत, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान जस्ता देशमा पनि प्राथमिक र माध्यमिक तहको परीक्षा राष्ट्रिय बोर्डबाट हुने गरेको उदाहरण दिदैं नयाँ तरिकाले परीक्षा लिदाँ राम्रो हुन्छ भन्ने आफूलाई विश्वास नभएको बताए ।  

कोभिड महामारकिा बेला कक्षा ११ को परीक्षा विद्यालयलाई नै गर्न दिदाँ  नतिजा स्मरण गर्न आग्रह गर्दै उनले भने - 'कक्षा ११ मा सत प्रतिशत विद्यार्थी पास भएका छन्, १२ मा आधा फेल हुन्छन् भने के भएको हो भन्ने हेर्नु पर्ने छ ।' 

अहिले नेपाल फिनल्याण्ड नबनेको भन्दै उनले त्यहाँ सम्म पुग्न धेरै मेहनत गर्न बाँकी रहेको पनि बताए । 

 

यी सामग्री पनि पढ्नुहोस् :

शिक्षा मन्त्रालय र परीक्षा बोर्डको खटपट संसदीय समितिमा छरपस्ट
 

 शिक्षा मन्त्रालयको सामुन्ने आएको अपजस मेटाउने मौका

एसईईको नतिजा : निजी 'प्लस टु' सञ्चालकको स्वार्थ पुरा गर्दै परीक्षा बोर्ड

एसईई नतिजा : परीक्षा बोर्डको 'मनमौजि कृत्य' 

प्रतिक्रिया