Edukhabar
सोमबार, १७ बैशाख २०८१
गतिविधि

तीन विश्वविद्यालयमा उपकुलपति नियुक्ति

उपकुलपतिको छनोट प्रक्रिया रोकेर निमित्त उपकुलपति नियुक्ति गरिएको हो ।

शुक्रबार, २५ फागुन २०८०

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहालले तीन विश्वविद्यालयमा दैनिक कार्य सञ्चालन गर्नको लागि निमित्त उपकुलपति नियुक्ति गरेका छन् ।

फागुन १८ देखि रिक्त रहेको पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा प्रतिस्पर्धाबाट नयाँ उपकुलपति छनोट नभएसम्म दैनिक काम चलाउनको लागि निमित्त उपकुलपति नियुक्ति गरिएको हो । उपकुलपतिको छनोट प्रक्रिया रोकेर निमित्त उपकुलपति नियुक्ति गरिएको  हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार पूर्वाञ्चल विश्वविद्यालयमा चिकित्सा संकायका डीन शैलेषमणि पोखरेललाई नियुक्ति गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा कानुनका डीन कर्णबहादुर थापा र मध्यपश्चिम विश्वविद्यालयका केशरसिंह रानालाई नियुक्त गरिएको हो । उनी विश्वविद्यालयका साइन्स एन्ड टेक्नोलोजीका प्राध्यापक हुन् । सेवा आयोगका पूर्व सदस्य एवं डीन भइसकेका रानालाई नयाँ उपकुलपति नआएसम्म दैनिक प्रशासन सञ्चालन गर्ने जिम्मेवारी दिएको हो । 

विश्वविद्यालयको ऐन अनुसार उपकुलपति रिक्त भएमा तीन महिनासम्म अर्को व्यक्तिलाई जिम्मेवारी दिन सक्ने व्यवस्था छ । सहकुलपति एवं निवर्तमान शिक्षामन्त्री अशोक राईले निमित्त उपकुलपतिको लागि कुलपति एवं प्रधानमन्त्री दाहाललाई सिफारिस गरेका थिए । 

मन्त्रिपरिषद्को कार्यालयले तीन वटै विश्वविद्यालयको उपकुलपति छनोटको लागि सिफारिस समिति गठन गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयको छनोट अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । पूर्वाञ्चलमा उपकुलपति बन्नको लागि १८ जनाले आवेदन दिएका छन् । सर्टलिष्ट निकाल्ने अन्तिम तयारीमा रहेको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयमा भने प्राध्यापक संघ संगठनको विरोधले प्रक्रिया नै रोकिएको छ । दुवै विश्वविद्यालयको उपकुलपति हुन ९ /९ जनाले दर्खास्त दिएका छन् । 
फागुन ६ मा सूचना निकालेर छनोट समितिले स्थगित गरेको हो । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको संयोजकत्वमा दुवै विश्वविद्यालयको उपकुलपति छनोट समिति बनेको छ । त्रिवि र पूर्वाञ्चलमा जस्तै अनुसन्धानलाई कम अंक हुनु पर्ने र अन्तर्वार्ता, ४ वर्षे बिजनेस प्लान प्रस्तुतिमा बढी नम्बर हुने त्रिविको जस्तै छनोट कार्यविधि हुनु पर्ने माग राखेर प्राध्यापकहरूले विरोध गरेका छन् । 

 

 

 

 

 

प्रतिक्रिया