Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

त्रिविमा एक घण्टा बढी काम गर्दा ३० प्रतिशत प्रोत्साहन भत्ता

बिहान ९ बजे हाजिर हुने अनि दिउँसो व्यक्तिगत काममा निस्कने बेलुका फेरी बन्द हुने बेलामा भत्ताकै लागि हाजिर गर्न टुप्लुक्क पुग्ने क्रमलाई लाई निरुत्साहित गर्न दिएको सुझावको वेवास्ता गर्दै निर्णय  गरिएको हो ।

शुक्रबार, ०२ चैत्र २०८०

काठमाडौं - त्रिभुवन विश्वविद्यालयका काम चलाउ उपकुलपति शिवलाल भुसालले दैनिक एक घण्टा बढी काम गरेमा ३० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गराएका छन् । तत्कालिन उपकुलपति प्रा.डा. धर्मकान्त बास्काटाको कार्यकाल सकिए पछि सरकारले उनलाई उपकुलपतिको कामकाज गर्ने गरी जिम्मा दिएको थियो । सोही अवधिमा उनले उक्त निर्णय गराएका हुन् । 

गत फागुन १ मा बसेको कार्यकारी परिषद्ले त्रिवि केन्द्रीय कार्यालयमा काम गर्ने कर्मचारीलाई २० प्रतिशत र पदाधिकारीको सचिवालयमा काम गर्नेलाई ३० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । विश्वविद्यालयको आर्थिक दायित्व कम गर्न व्यवस्थापन संकायका पूर्व प्रमुख प्रा. डा.भोजराज अर्यालको संयोजकत्वमा उच्चस्तरीय सुविधा पुनरावलोकन कार्यदल बनेको थियो । कार्यदलले काम गर्नेलाई मात्रै सुविधा दिनु पर्ने सुझाव दिएको थियो । तर, त्रिवि कार्यकारी परिषद्ले हाजिर गर्ने सबैलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । 

‘बिहान ९ बजे हाजिर हुने अनि दिउँसो व्यक्तिगत काममा निस्कने बेलुका फेरी बन्द हुने बेलामा हाजिर गर्न टुप्लुक्क पुग्ने गरेको पाइए पछि काम गर्नेलाई मात्रै रजिष्टारको सिफारिसमा सुविधा दिनु पर्ने सुझाव हामीले दिएका थियौँ’ एक सदस्यले भने । 

कार्यदलले दिएको प्रतिवेदन विपरीत काम चलाउ उपकुलपति भुसालले ३० प्रतिशतसम्म भत्ता दिने निर्णय गरेका हुन् । 

फागुन १ गते बसेको कार्यकारी परिषद्को बैठकको निर्णय नम्बर २४९० मा भत्ता सम्बन्धी विषय उल्लेख छ । 

‘निकायगत कार्यहरु तोकिएकै समयमा सम्पादन गर्न निकाय प्रमुखले कार्यालय समयमा १ घण्टा थप गरी काममा लगाउन सक्नेछ’ निर्णयमा भनिएको छ, ‘यसरी काममा खटिई कार्य सम्पादन गर्ने शिक्षक (केन्द्रीय कार्यालयको हकमा), कर्मचारीहरुलाई कर्मचारी स्वयंले विदा लिएको दिनको कट्टा गरी विद्युतीय हाजिरीको आधारमा मात्र मासिक तलवको अनुपातमा अधिकतम २० (बीस) प्रतिशतसम्म प्रोत्साहन पारिश्रमिक उपलब्ध गराउने ।’ 

त्यस्तै उपकूलपति, शिक्षाध्यक्ष, रजिष्ट्रारको सचिवालय एवं कार्यकारी परिषद्को सचिवालयमा कार्यरत कर्मचारीहरुलाई ३० प्रतिशत उपलब्ध गराउने निर्णय गरिएको छ । 

‘विदा लिएको दिनको नपाउने गरी विद्युतीय हाजिरीको आधारमा मात्र मासिक तलबको अनुपातमा ३० (तीस) प्रतिशत प्रोत्साहन पारिश्रमिक उपलब्ध गराउने,’ निर्णयमा भनिएको छ । यो निर्णयलाई नवनियुक्त उपकुलपति केशरजंग बरालले बिहीवारदेखि  कार्यान्वयनमा लैजाने निर्णय गरेका छन् ।  

महालेखा परिक्षकको कार्यालयका प्रवक्ता भन्छन् - राज्यको आर्थिक अवस्था मजबुत भएको बेला तलब र अरु जस्तोसुकै भत्ता दिन सकिए पनि यस्तो अवस्थामा थप सुविधा दिनु उचित हैन । 

त्रिवि केन्द्रीय कार्यालयको कार्यालय समयमा १ घण्टा थप गरी कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म र माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय कायम गरेर प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । 

काम चलाउ पूर्व उपकुपति भुसालले असारसम्म केन्द्रीय कार्यालयका कर्मचारीले ३० प्रतिशत भत्ता लिने गरेकामा यसलाई आर्थिक मितव्ययी बनाउन २० प्रतिशतमा झारेको बताए । असारसम्म भत्ता दिने गरेकोमा कार्यकारी परिषद्ले भत्ता नदिर्ने निर्णय गरेको थियो । भुसालले पदबाट जाँदै गर्दा फुकुवा गरिदिएका हुन् । 

‘मैले पहिलाको भन्दा घटाएर दिने निर्णय गरिदिएको हुँ’ उनले भने । 

महालेखा परिक्षकको कार्यालयका प्रवक्ता बैकुण्ठ बहादुर अर्यालले मुलुकको आर्थिक अवस्था कमजोर भएपछि अन्यत्र कुनै पनि कार्यालयमा प्रोत्साहन भत्ताको व्यवस्था नभएको बताए । अर्थ मन्त्रालयले आर्थिक मितव्ययिता अपनाउन कर्मचारीलाई दिने प्रोत्साहन भत्ता हटाएको उनले बताए । 

‘कुनै काम यस्तो हुनसक्छ राज्यलाई आर्थिक लाभ हुने हुँदा अबेर सम्म गर्नु पर्ने हुन्छ । त्यस्तो ठाउँमा बिशेष निर्णय गरेर सुविधा दिन सकिन्छ,’उनले भने,‘त्रिविको हकमा के भएको हो ? अर्को वर्ष लेखा परिक्षण गर्दा हेर्न सकिन्छ ।’ 

राज्यको आर्थिक अवस्था मजबुत भएको बेला तलब र अरु जस्तोसुकै भत्ता दिन सकिए पनि यस्तो अवस्थामा थप सुविधा दिनु उचित नभएको उनले बताए । 

‘सरकारको आम्दानी बढ्दै जाँदा जे दिँदा पनि भयो नि । राज्यको प्रथमिकता एकातिर छ, राज्यको नीति विपरीत जानु गलत हुन्छ,’उनले भने । 

त्रिविले भत्तामा मात्रै बार्षिक १ अर्ब १० करोड रुपैंया खर्च गर्ने गरेपछि त्रिविका तत्कालिन उपकुलपति बास्कोटाले प्रोत्साहन र अन्य भत्ता व्यवस्थापन गर्न सुझाव दिने गरी अर्याल नेतृत्वमा कार्यदल गठन गरेका थिए । 

प्रतिक्रिया