Edukhabar
सोमबार, ०३ बैशाख २०८१
खबर/फिचर

शिक्षा मन्त्रालयमा प्रशिक्षार्थी कर्मचारी !

शिक्षा मन्त्रालयमा अनुसन्धान, लेखन, डेटा भिज्युलाइजेसन, सञ्चारयोग्य सामाग्री निर्माण, दैनिक सेवा प्रवाह चुस्त पार्न प्रशिक्षार्थी कर्मचारी लिने कानूनी आधार बिहीबार स्वीकृत

शुक्रबार, १६ चैत्र २०८०

काठमाडौँ– शिक्षा मन्त्रालयमा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीले प्रशिक्षार्थी कर्मचारीको रूपमा काम गर्न पाउने भएका छन् । मन्त्रालय र मातहतको कार्यालयको काम चुस्त र दुरुस्त पार्न भन्दै प्रशिक्षार्थी कामदार लिन लागिएको हो । शिक्षा उत्प्रेरक (एजुकेसन क्याटलिष्ट) नाममा प्रशिक्षार्थी कर्मचारी लिन लागेको छ । 

Screenshot 2024-03-29 at 05.37.47अध्ययन गरिरहेकै बेला मुलुकको शासकीय व्यवस्थाको  जानकारी दिन, सेवा प्रवाहमा सहयोग पुर्‍याउन, तथ्य संकलनको सहजीकरण गर्न युवा जनशक्तिलाई परिचालन गर्ने गरी मन्त्रालयले छुट्टै कार्यविधि समेत बनाएको छ । यो कार्यविधि बिहीबार मन्त्री स्तरीय निर्णयबाट स्वीकृत समेत भइसकेको छ । स्नातक र स्नातकोत्तर तह अध्ययन गरिरहेका विद्यार्थीलाई यसरी सरकारी निकायमा ‘इन्टर्न’ को रूपमा परिचालन गर्दा स्वदेशकै सेवा गर्न प्रेरित हुने कार्यविधिमा उल्लेख छ । 

विश्वविद्यालय, प्रतिष्ठान, संस्थान, स्कुल, क्याम्पसमा स्नातक वा सो भन्दा माथिका तहमा अध्ययन गर्ने नेपाली विद्यार्थीलाई प्रशिक्षार्थी कर्मचारीको रूपमा प्रयोग गर्न सकिने गरी कार्यविधि स्वीकृत भएको हो । मन्त्रालयको कामलाई अभ्यस्त, तथ्यगत र अनुसन्धानमा आधारित बनाउन युवाहरूको ज्ञान, सीप सदुपयोग गर्न लागेको शिक्षा मन्त्री सुमना श्रेष्ठले स्वीकृत गरेको कार्यविधिमा उल्लेख छ । 

मन्त्रालयको महाशाखागत कार्य चाप, विषयगत क्षेत्र, प्रशिक्षार्थीको रुचि, मन्त्रालयको आवश्यकताको आधारमा परिचालन गर्न खोजिएको छ । अनुसन्धान, लेखन तथा डेटा भिज्युलाइजेसन, सञ्चारयोग्य सामाग्री निर्माणका लागि खटाउन सक्ने कार्यविधिमा उल्लेख छ ।

प्रशिक्षार्थी छनोट गर्न मन्त्रालयका सचिव संयोजक रहने छनोट तथा सिफारिस समिति गठन गरिने छ । समितिमा योजना तथा अनुगमन महाशाखाका सहसचिव, एक जना विज्ञ सदस्य र जनशक्ति तथा विकास शाखाका उपसचिव सदस्य सचिव हुनेछ । 

मन्त्रालयले प्रशिक्षार्थीको रूपमा काम गर्न इच्छुक व्यक्तिबाट निवेदन आव्हान गर्ने भएको छ । यसको लागि मन्त्रालयको वेबसाइट र सामाजिक सञ्जालमा सूचना जारी हुनेछ । निवेदन दिने सबैलाई प्रशिक्षार्थीमा सहभागी नगराई सर्टलिष्ट निकालेर छनोट गर्ने कार्यविधिमा उल्लेख छ । 

समालोचनात्मक र विश्लेषणात्मक क्षमता भई छिटो छरितो तथ्यमा खोज अनुसन्धान गर्न सक्ने, समस्याको पहिचान गरी त्यसको कारण र सम्भावित समाधान खोज्न सक्ने, अंग्रेजी र नेपाली भाषामा ज्ञान भएको, प्रविधिमैत्री, सृजनशील, नवीन सोच तथा परियोजनाको स्वतन्त्र रूपमा नेतृत्व र समूहमा काम गर्न सक्ने व्यक्तिलाई प्राथमिकतामा राखेर प्रशिक्षार्थीको छनोट गरिने कार्यविधिमा उल्लेख छ । 

प्रशिक्षार्थी बन्न चाहनेले मन्त्रालयमा दिने निवेदनमा व्यक्तिगत विवरण, कभर लेटर, मन्त्रालयको छनोट समितिले तयार गरेको लिखित प्रश्नावलीको जवाफ पेस गर्नु पर्ने हुन्छ । कार्यविधि अनुसार निवेदन दिएपछि मन्त्रालयले सर्टलिष्ट सार्वजनिक गर्नेछ । सर्टलिष्टमा परेका निवेदकलाई कम्तीमा दुई दिन मन्त्रालयमा अभ्यास कार्यमा लगाई व्यवहारिक ज्ञानको जानकारी लिने कार्यविधिमा उल्लेख छ । दुई दिनको कार्य क्षमताको आधारमा प्रशिक्षार्थी छनोट गर्ने आधार तय गरिएको छ । 

प्रशिक्षार्थीको परीक्षण अवधि दुई साताको हुने र त्यसपछि कार्य क्षमताको आधारमा समय निर्धारण हुने कार्यविधिमा उल्लेख छ । यसरी प्रशिक्षार्थी कर्मचारी भएर काम गरेका युवालाई प्रशिक्षण अवधि सकिएपछि प्रमाणपत्र दिने व्यवस्था उल्लेख छ । 

अस्थायी, करार तथा ज्यालादारी लगायतका वर्गमा कर्मचारी नियुक्ति गर्ने विगतको शैलीले सार्वजनिक सेवा प्रवाहमा नकारात्मक प्रभाव पारेको छ । शुरुमा जसरी नियुक्त भए पनि अन्तिममा स्थायी हुनै पर्ने दवावका कारण शिक्षा क्षेत्र पनि आक्रान्त बनेको छ । आउँदा दिनमा प्रशिक्षार्थी कर्मचारीको व्यवस्थापन त्यस्तै उल्झनमा त पर्दैन ? मन्त्रालयले समयमै हेक्का राख्न जरुरी छ । 

प्रतिक्रिया