Edukhabar
मंगलबार, १८ बैशाख २०८१
खबर/फिचर

शिक्षामन्त्री र उपकुलपतिको जीत

शुक्रबार, ३० चैत्र २०८०

काठमाडौँ–त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले सिफारिस गरेको १५ दिनमा विश्वविद्यालयले रेक्टर र रजिस्ट्रार पाएको छ ।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार रेक्टर (शिक्षाध्यक्ष) मा प्रा.डा.खड्ग केसी र रजिस्ट्रारमा प्रा.डा.केदार रिजाल नियुक्त गरेका छन् । केसी र रिजालले शुक्रवार नै नियुक्ति पत्र बुझेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले पार्टी निकट प्राध्यापकलाई नियुक्ति गर्न दबाब दिएकै कारण दुई सातादेखि उपकुलपतिको सिफारिस प्रधानमन्त्री कार्यालयमा रोकिएको थियो । प्रधानमन्त्री कार्यालयले सिफारिस भएको फाइल रोके पछि सहकुलपति एवं शिक्षामन्त्री सुमना श्रेष्ठ र उपकुलपति बरालले पदबाट संयुक्त राजीनामा दिनेसम्मको योजना बुनेका थिए । 

प्रधानमन्त्रीसँगको भेटमा मात्रै नभई केपी ओली सहितको बैठकमा पनि उनीहरूले आफ्नो टिम आफै बनाउनु पर्ने अडान कायमै राखेका थिए । ओलीले दुवै पदमा भागबन्डा गर्न लागेको भन्दै चौतर्फी विरोध समेत भएको थियो । अध्यक्ष ओलीले उपकुलपतिले गरेको सिफारिस सच्याउन दबाब दिइरहेका थिए । ओलीकै कारण नियुक्तिमा ढिलाइ भएको थियो । 

प्रधानमन्त्री दाहालले शुक्रवार ओलीसँगको छलफलपछि उपकुलपति बरालले सिफारिस गरेकै व्यक्तिलाई नियुक्ति गरेका हुन । आफूले रोजकै व्यक्तिलाई प्रधानमन्त्रीले नियुक्त गरेकोमा उपकुलपति बराल खुसी भएका छन् । ‘मैले नियुक्ति लिँदा नै आफ्नो टिम आफैले बनाउन पाउनु पर्ने सर्त राखेका थिए,’बरालले भने,‘मैले जसलाई सिफारिस गरेको थिए त्यही व्यक्ति नियुक्ति हुँदा सबैभन्दा खुसी मै छु ।’ आफ्नो टिम पाएकोले योजना पुरा गर्न सहज भएको उनले बताए । ‘मैले उपकुलपति हुन जुन योजना पेस गरेको छु । यसलाई कार्यान्वयन गर्न अब काम गरेर देखाउँछु,’उनले भने । 

त्यस्तै शिक्षामन्त्री श्रेष्ठले रेक्टर र रजिस्ट्रारमा राजनीतिक हस्तक्षेप बिना नियुक्ति सम्भव भएकोले त्रिवि सुधारको सुरुवात भएको बताइन । ‘त्रिवि सुधारको सुरुवात भयो । विश्वविद्यालय सुधार गर्नु पर्ने धेरै छन्,’उनले भनिन,‘अब विश्वविद्यालयको परीक्षा सुधार भयो ।’ वातावरण विज्ञानका प्राध्यापक रिजाल नेपाल खुला विश्वविद्यालय विज्ञान, स्वास्थ्य र प्रविधि संकायका डिन हुन् । त्यस्तै केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्राध्यापक हुन । जापानको नागासाकी विश्वविद्यालयबाट उनले अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन् । 

 

 

 

प्रतिक्रिया