Edukhabar
बुधबार, ०४ असार २०८२
गतिविधि

डेढ अर्बमा विद्यालय भवनको ठेक्का लिएर ठेकेदार बेपत्ता, निर्माणधिन भवनमा पढाउँदा विद्यार्थी दुर्घटनामा

तीन वर्ष भित्र काम पुरा गर्ने सर्त, तर, ठेक्का लगाएको साढे चार वर्ष हुदाँ पनि भएन काम पुरा । एउटै ठेकेदारलाई यति धेरै विद्यालयको ठेक्का दिनु नै गलत भएको प्राविधिकहरु बताउँछन्

बुधबार, ०४ असार २०८२

काठमाडौं - एसियाली विकास बैक एडिबीको ऋणमा निर्माण भइरहेका २५ वटा विद्यालयका भवन ठेकेदार कम्पनिले कामै नगरे पछि अलपत्र परेका छन् । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (सीएलपीआइयू) ले एउटै ठेकेदार कम्पनिलाई सात जिल्लाका २५ वटा विद्यालयका भवन निर्माण गर्न ठेक्का दिएको थियो । एक अर्ब ६१ करोड ६७ लाखको उक्त ठेक्का अनुसार तीन वर्ष भित्र काम पुरा गर्ने सर्त तोकिएको थियो । तर, ठेक्का लगाएको साढे चार वर्ष हुदाँ पनि काम पुरा हुन सकेको छैन । 

काठमाडौं, भक्तपुर र ललितपुरका ११ वटा भवन गत असोजमै निर्माण पुरा गरेर हस्तान्तरण भइसक्नु पर्नेमा भवन निर्माण नै पुरा भएको छैन । रामेछाप, सिन्धली, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा १४ वटा विद्यालयको भवन माघमै सक्नु पर्ने भए पनि कतिपय भवनमा निर्माण ५० प्रतिशत पनि काम भएको छैन । 

१४ वटा विद्यालय भवन बनाउन एक अर्ब दुई करोड ५३ लाख ३८ हजार तीन सय र काठमाडौं उपत्यकाको ११ वटा भवन निर्माण गर्न ५९ करोड १३ लाख ६१ हजार सात सय ४३ रुपैयाँको ठेक्का आशिष निर्माण सेवाले पाएको थियो । 

‘सबै भवन ठेक्का अवधि भित्र पुरा नभए पछि ठेकेदारलाई कारबाहीको सिफारिस गरेका छौँ’ आयोजनाका उपनिर्देशक अशोक अधिकारीले भने, ‘असोजमा निर्माण पुरा गर्नु पर्ने ११ वटा भवनको काम असार भित्र सकिए पनि १४ वटा बाँकी नै रहने देखियो ।’ 

काभ्रेका केही विद्यालयको त ५० प्रतिशत मात्रै काम भएको उनले बताए । उनले भने,‘काम पुरा नभएकोले पेनाल्टीको सिफारिस गरेका हौँ ।’  

ADB_11

एउटै ठेकेदारलाई यति धेरै विद्यालयको ठेक्का दिनु नै गलत भएको प्राविधिकहरु बताउँछन् । कम रकममा ठेक्का स्वीकार गरेपछि आयोजनाले एउटै ठेकेदारलाई दिनु पर्ने बाध्यता भए पनि उसलाई काम लगाउन नसक्नु आयोजनाको कमजोरी भएको विज्ञहरु बताउँछन् । 

‘यति धेरै विद्यालय निर्माणको ठेक्का एउटैलाई दिनु नै गलत भयो,’एकाइमा यसअघि काम गरिसकेका एक इञ्जिनियरले भने‘विद्यालय भवन अलपत्र पार्ने ठेकेदारलाई काम लगाउन नसक्नु एकाइ र कन्सल्टेन्सीको पनि कमजोरी हो ।’ ठेक्का जसले पाएको हो उसले काम नगर्ने, अर्कोलाई पेटी ठेक्का दिने गरेका  कारण यस्ता समस्या आउने ती इञ्जिनियरले बताए ।  

‘३०, ३२ प्रतिशत कममा ठेक्का लिएको हुन्छ । जसले ठेक्का लिएको उसले सिधै काम गर्दैन । मुल ठेकेदारले लिएको काम तीन/चार लेयरसम्म कमिशन लिएर अर्को ठेकेदारलाई जिम्मेवारी दिने काम हुन्छ’ एकाइमा काम गरेका ती इञ्जिनियर भन्छन् ‘हरेक तहमा कमिशन खाँदै लिएको काममा न कामदारले पैसा पाउँछन् न त, बेलैमा काम सकिन्छ ।’ 

ती इञ्जिनियरले भनेजस्तै दुई वर्ष अघि मुलुककै उत्कृष्ट विद्यालयको पुरस्कार प्राप्त गरेको सिन्धुलीको दुधौली नगरपालिका मैनीको कमला माध्यमिक विद्यालयको भवन निर्माण गर्ने कामदारले ज्याला नपाएपछि रुँदै घर गएको शिक्षकहरु बताउँछन् । 

‘होलीको बेला थियो । कामदारले होली मनाउन ज्याला माग्दा नदिएपछि घर (भारत) गए’ विद्यालयका एक शिक्षकले भने,‘उनीहरु नआए पछि अर्को ग्रुपलाई काम लगायो तर, उनीहरुले पनि ज्याला नभएको गुनासो थियो ।’ 

ठेकेदारले कामदारलाई ज्याला नै नदिने, दिए पनि न्यून दिने भएपछि विद्यालय भवन निर्माण बेलैमा निर्माण हुन नसकेको शिक्षकहरु बताउँछन् । 

टिएलसी हावाले उडाएपछि बन्दै गरेको भवनमा कक्षा 

०७२ को भुकम्पले कुनै क्षति बनाएको थिएन । जस्ताले छाएको संरचना थियो । चार कोठे एउटा पक्की भवन थियो । काठको संरचना र जस्ताले छाएको संरचनामा ०७८ कातिक १६ मा शिक्षा मन्त्रालयको एकाइले १२÷१२ कोठामा पक्की संरचना बनाउने ठेक्का सम्झौता गर्‍यो । ०८१ माघ १८ मा निर्माण सकिने भएपछि अस्थायी संरचनामा बसेर पढ्न र पढाउन शिक्षक विद्यार्थी तम्तयार नै भए । ०८० मा शिक्षा मन्त्रालयले देशकै उत्कृष्ट विद्यालय घोषणा गरेको कमला माध्यमिक विद्यालय मैनीको नयाँ भवनको संरचनाले आकार लिइसकेको थियो । नियमति पढाई सडक छेउको अस्थायी संरचनामा चलिरहेको थियो । हावाहुरी आउँदा जस्ता उठाएर कहिले कमला नदी छेउ पु-याउँथ्यो त कहिले वरीपरीको बस्तीमा । 

school_ADB_sindhuli

‘जस्ता उडाएपछि बाँसमात्रै टिङ्ग्रिङ्ग हुन्थ्यो । छाना खोज्दै हिड्यौँ । जोडजाम पारेर फेरी पढाउथ्यौँ’ प्रधानाध्यापक सूर्यनाथ दास भन्छन् ‘यसवर्ष पनि त्यसैगरी उडायो । हामीले बनाउन सकेनौँ । त्यसैले निर्माणाधिन भवनमा पढाई सुरु गरेका छौँ ।’ 

आशिष निर्माण कम्पनिले बनाएको यो भवन ठेक्का सम्झौता अनुसार  तीन वर्ष भित्र पुरा गरिसक्नु पथ्र्यो । भवनको संरचनामा प्लाष्टर भएको छ । झ्याल ढोका हालिसकेको छ । 

‘अब रंगरोग, वायरिङ र डेक्स बेञ्च बाँकी छ ’प्रधानाध्यापक दास भन्छन् ‘चैतदेखि त ठेकेदार र कामदार फर्केर पनि आएका छैनन् ।’ 

कमला नदी नजिकै २४ कोठे दुई वटा पक्की भवन देखेर अभिभावक र विद्यार्थी दंग पर्छन् तर, बेलैमा भवन निर्माण नसकेपछि दुःखी भएका छन् । ‘अब त सुविधा सम्पन्न भवनमा पढाउन पाइन्छ भन्ने जुन सपना थियो । त्यो ठेकेदारका कारणले पुरा हुन सकेको छैन’ विद्यालयका शिक्षक लेखनाथ बराल भन्छन् ‘बेलैमा भवन नबन्दा हाम्रो शैक्षिक अवस्था कमजोर भयो । गतवर्ष विद्यालयको नतिजा कमजोर हुनुको एउटा कारण हाम्रो भौतिक संरचना पनि हो ।’

ADB_sindhuli

नयाँ भवन बनाउने भए पछि अस्थायी सिकाइ केन्द्र बनाइएको थियो । हावाहुरी चलेको बेला छाना उडाउने भए पछि पढाउँदा पढाउँदै चार कोठाको पक्की भवन जहाँ प्रशासनिक काम हुन्छ त्यहाँ ओत लाग्न जानु पर्ने वाध्यता रहेको उनले बताए । यही वाध्यताबाट छुटकारा पाउन विद्यालयले यो नयाँ शैक्षिक सत्रदेखि निर्माणधिन भवनमै पढाउने निधो गरेको उनले बताए ।

अस्थायी सिकाइ केन्द्रको डेक्स बेञ्च नयाँ भवनमै सारिएको छ । ठेकेदार कम्पनिले उपलब्ध गराउनु पर्ने डेक्स बेञ्च उपलब्ध भएको छैन । रंगरोगन र वाइरिङ समेत नभएको भवनमा पढाई नियमित हुन थालेको छ । भवन भित्र कस्तो संरचना बनेको छ ? भन्ने विद्यालय प्रशासनलाई ठेकेदारले कुनै जानकारी दिएको थिएन । 

‘कुन ठाउँमा कस्तो संरचना बनेको छ भन्ने पनि ठेकेदारले हामीलाई जानकारी गराएको थिएन । एउटा कक्षाको छेउमा प्वाल रहेछ । खेल्दा खेल्दै पाँच कक्षाको छात्रा त्यही प्वालबाट छिरेर अर्को तलामा खसिन्’ प्रधानाध्यापक दासले भने,‘माथिबाट सिधै खस्दा खुटा टेकेकै अवस्थामा भएकोले कुनै अप्रिय घटना हुन भने पाएन ।’ 

अस्थायी सिकाइ केन्द्र हावाहुरीले भत्काएपछि नयाँ भवनमा विद्यार्थी दुर्घटनामा परेको भए पनि त्यही पढाउनुको विकल्प नभएको उनले बताए ।  

‘दुधौलीको गर्मी कति हुन्छ सबैलाई थाहै छ । यस्तो बेला बिना फ्यानको कक्षाकोठामा कसरी विद्यार्थीले पढिरहेका छन् ? शिक्षकले कसरी पढाइरहेको होला ?’ प्रधानाध्यापक दासले भने ‘यो भवन त हाम्रो लागि पुरानो उखान, नखाउँ भने दिनभरीको शिकार, खाउँ भने के को अनुहार भनेजस्तो भइरहेको छ ।’ 

कक्षाकोठामा झ्याल ढोका त हालेको छ । तर, कब्जा उप्किसकेको छ । तीन महिना अघि राखेको ढोका नै निस्किसकेको उनले बताए । 

6

‘भवन रंगरोगन गरेर हस्तान्तरण गरिसक्नु पर्ने बेलामा ठेकेदार नै दुई महिनादेखि बेपत्ता छ’ प्रधानाध्यापक दास भन्छन् ‘कामदारहरुले काम पनि गर्छन् तर, ज्याला नपाएपछि उनीहरु पनि काम गर्नै आउँदैनन् ।’ 
कमला माविको जस्तो भद्रगोल नभए पनि भवन निर्माण अधुरै रहेको सिन्धुली कमलामाई नगरपालिकाको गौमती माध्यमिक विद्यालयले पनि निर्माणाधिन भवनमै कक्षा चलाउन सुरु गरेको छ । जिल्लाकै धेरै विद्यार्थी भएको सामुदायिक विद्यालयको भवन निर्माण पुरा नभए पनि अधुरै भवनमा पढाई सुरु गरेको प्रधानाध्यापक दिपक बुढाथोकीले बताए । शौचालय, खानेपानी, वाइरिङको काम नभए पनि भर्ना भएका विद्यार्थी पढाउन बन्दै गरेको भवनमा पढाउनु परेको उनले बताए । ठेकेदारले तोकिएको अवधिमा काम नसकेपछि विद्यालयले स्रोतको जोहो गरेर भवन निर्माण गर्दा थुप्रिएको फोहर हटाउने, विद्यालय प्रवेश गर्ने बाटो र विद्यार्थी खेल्ने ठाउँ बनाउने काम भइरहेको उनले छ । 

भवनको माथिल्लो तलामा निर्माणको काम चलिरहेको भए पनि तल्लो तलामा नियमित कक्षा चलिरहेको छ । साढे १३ करोडको तीन वटा भवन मध्ये दुई वटामा झ्याल ढोका हाले पनि एउटामा अधुरै छ । भवनको अघिल्लो खाली ठाउँ हिलाम्मे छ । 

‘भवनसम्म सहजै पुग्न पनि गाह्रो भए पछि स्रोत जुटाएर विद्यालय आफैले डोजर लगाएर खुला ठाउँ सम्याउने काम भइरहेको छ’ प्रधानाध्यापक बुढाथोकीले भने ‘ठेकेदार कम्पनिले उपलब्ध गराएको डेक्स बेञ्च र  स्टिलको रेलिङ कमसल प्रयोग भएको छ ।’ 

ठेकेदारले निर्माण ढिलाई मात्रै होइन कि विद्यालयको बिजुली प्रयोग गरे बापतको महसुल समेत भुक्तानी नगरेको विद्यालय प्रशासनले जनाएको छ । ठेकेदारसँग बिजुलीको दुई लाख रुपैयाँ महसुल बापतको शुल्क लिन बाँकी रहेको प्रधानाध्यापक बुढाथोकीले बताए । 

ADB_10

कमला, गौमती जस्तै सिन्धुलीको मात्रै १० वटा भवनको निर्माण अधुरै छ । एकै दिन ०७८ कातिक १६ मा ठेक्का लागेको रामेछापको तीन वटा (चिसापानीको भिमेश्वर, प्रितीको चण्डेश्वरी, साँघुटारको हिमगंगा) को काम पनि पुरा भएको छैन । त्यस्तै सिन्धुली बालुवाको देविस्थान, चपौलीको जल कन्या, हरिहरपुर गढीको जनता, साल्मे भञ्ज्याङको फिक्कल, मझुवा दोभानको श्री माध्यमिक विद्यालय, काभ्रे महाभारतको गोकुले मावि, जनकल्याण, कालिदेवी र सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी माविको भवन पनि अधुरै छ । 

असोजमा सक्नु पर्ने ११ भवन पनि हस्तान्तरण भएकै छैन

सिन्धुली, रामेछाप, काभ्रे र सिन्धुपाल्चोकको १४ वटा विद्यालय मात्रै होइन संघीय राजधानी काठमाडौंको ११ वटा विद्यालय भवन आशिष निर्माण सेवाले नै अलपत्र पारेको छ । यो ११ वटा विद्यालयको भवन गत असोजमै सक्नु पर्ने थियो । सिन्धुली, रामेछाप र सिन्धुलीको १४ वटा भवन निर्माणको काम आशिषले टीडीआई जेभीसँग मिलेर गरेको हो भने काठमाडौं उपत्यकाको ११ वटा आशिष एक्लैको ठेक्का हो । केन्द्रीय आयोजना कार्यक्रम कार्यान्वयन एकाइका अनुसार आशिषले काठमाडौं कागेश्वरी मनोहरा गागलको बाल उद्धार, गागलफेदीको सिद्धि गणेश मावि, डिल्ली बजारको बिजय मेमोरियल, धुम्बाराहीको धुम्ब बराह मावि, रामकोटको जनउद्धार, किर्तिपुरको किर्तिपुर मावि, मनमैजुको मानसिंह, पुरानो गुहेश्वरी, टोखाको सरस्वती, भक्तपुर सिपाडोलको गणेश, ललितपुर महालक्ष्मीको महेन्द्रग्राम विद्यालयको भवन असोजमै पुरा गर्नु पर्ने ठेक्का सम्झौता छ । 

रंगरोगन समेत भइसकेको काठमाडौं गागलफेदीको सिद्धिगणेश माध्यमिक विद्यालयको संरचना कमजोर भएको व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापाले बताए । तोकिएको समय भित्रै काम गराउन बारम्बार ताकेता गर्दा सीएलपीआईयू र ठेकेदार कम्पनिले बेवास्ता गरेको उनको गुनासो छ ।  प्रधानाध्यापक रोशन अधिकारीले विद्यालयको कम्पाउण्ड, ग्राउण्डमा ब्लक बिछ्याउने, रंगरोगन, शौचालयको काम पनि अधुरै रहेको बताए । 

siddhiganesh_ADB

‘नयाँ शैक्षिक सत्रमा नयाँ विद्यार्थी संख्या बढाउन हामीले बेलैमा काम सक्दिनु पर्‍यो भनेर सबैतिर हार गुहार गर्‍यौँ तर, कतैबाट पनि सहयोग भएन,’उनले भने । 

सीएलपीआइयूमा ठेकेदारले काममा ढिलाई गरेको जानकारी गराउँदा कारबाही गर्ने प्रक्रियामा लगेको भन्दै झुट बोलेर टार्ने गरेको अध्यक्ष थापाले बताए । ‘काम बेलैमा भएन भनेर सीएलपीआईयूमा धेरैपटक गयौँ । कहिले तपाईको विद्यालयको काम ढिला गर्ने ठेकेदारलाई कारबाही प्रक्रिया अघि बढाएको छ भन्छन् कहिले कारबाही भएर दिनको ५० हजार भन्दा बढी जरिवाना लगाइरहेको छ भन्छन्’ थापाले भने,‘भएको के हो स्पष्ट रुपमा जानकारी समेत दिँदैनन्। हाम्रो विद्यालय बनिरहेको छ । ठेकेदारले हामीसँग समन्वय पनि गरेको छैन । विद्यालयको बत्ती प्रयोग भएको छ तर, तिर्न आएको पनि छैन ।’ 
विद्यालयमा जे संरचना बनेको छ त्यो गुणस्तरहिन भएकोले छानविन गर्नु पर्ने उनले बताए । 

‘आल्मुनियमको झ्याल हालिएको छ । ढोका पुरानो प्लाईको छ,’उनले भने,‘एडिबीको सहयोगमा बनेको बिगतको भवन जति राम्रो थियो । अहिलेको संरचना कमसल छ । यस विषयमा छानविन हुनु जरुरी छ ।’

#विद्यालय #ADB #निर्माण

प्रतिक्रिया