Edukhabar
सोमबार, १६ असार २०८२
खबर/फिचर

सांसदको प्रश्न : प्रारम्भिक बालविकासमा पुरुष राखि हेरौँ त कति टिक्छ ?

बाल शिक्षामा कन्जुस्याईँ गर्नु पर्ने कुनै कारण नभएको तर्क

आइतबार, १५ असार २०८२

काठमाडौं - प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आईतबारको बैठकमा सत्ताधारी दल नेकपा एमालेकी सांसद इश्वरी घर्तिले गरेको प्रश्नले बैठकमा उपस्थित शिक्षामन्त्री, सांसद, शिक्षाका कर्मचारी र सञ्चारकर्मीको ध्यान खिच्यो । उनको प्रश्न प्रारम्भिक बालकक्षाका सहजकर्ताका पक्षमा थियो ।  

'प्रारम्भिक बालविकासमा कार्यरत जनशक्तिलाई शिक्षकका रुपमा व्यवस्था नगर्नुको कारण के हो ?' उनको प्रश्न थियो । 

'बालबच्चालाई आमाका रुपमा स्यहार गरेका छन् । उनीहरुलाई इसीडीमा सावा अक्षर सिकाएको कसले हो ?' सांसद हुनु अघि प्रारम्भिक बाल कक्षामा कार्यरत रोल्पाबाट सांसद भएकी घर्तिले सोधिन् प्रारम्भिक बालविकासमा पुरुष भर्ना गरेर हेरौँ त । कति टिक्छ ? काम मात्रै लगाउने तर शिक्षक नभन्ने ?'

राज्यलाई व्यभार पर्छ भन्ने नाममा बालबालिकाको भविष्य माथि खेलवाड गर्न नहुने बताउँदै उनले बाल शिक्षामा कन्जुस्याईँ गर्नु पर्ने कुनै कारण नभएको तर्क गरिन् । 

'यो त तह हो कार्यक्रम होइन है, अब तह हो' उनले भनिन् 'एउटा व्यक्तिले कति जना हेर्ने भन्ने मापदण्ड पनि बनाउनु पर्छ ।' 

सरकारले ल्याएको विधेयकमा कार्यकर्ताको परिभाषा गरिएको छ भने उपसमितिले सहजकर्ताको प्रस्ताव गरेको छ । माओवादीले सुरुदेखि नै बालशिक्षक हुनु पर्ने माग राख्दै आएको थियो । आईतबारको समिति बैठकमा काँग्रेस, एमाले सांसदले पनि इसीइडी कार्यकर्तालाई शिक्षक को रुपमा पहिचान दिनु पर्ने माग गरेका छन् ।  

एमाले सांसद विद्या भट्टराई, दिपा शर्माले पनि शिक्षक हुनु पर्ने माग गरेका छ । त्यस्तै कांग्रेस सांसद डिगबहादुर लिम्बुले पनि इसीइडी कार्यकर्तालाई शिक्षकको रुपमा मान्यता दिनु पर्ने बताए ।  

प्रतिक्रिया