Edukhabar
आइतबार, ०६ पुस २०८२
गतिविधि

हरित विद्यालय अवधारणा : पाठ्यक्रममै समावेश गर्न जोड

हरित विद्यालय अवधारणाले विद्यार्थीमा उद्यमशीलता विकास, सीपमूलक शिक्षामार्फत रोजगारीसँग जोडिने सम्भावना समेत बढाउने

आइतबार, ०६ पुस २०८२

ललितपुर - शिक्षा क्षेत्रका सरोकारवाला तथा नागरिक समाजले हरित विद्यालय अवधारणालाई विद्यालय पाठ्यक्रममै समावेश गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएका छन् । हरित विद्यालय सञ्चालन सम्बन्धी अवधारणा पत्र २०८१ लाई अन्तिम रूप दिने तयारी भईरहेको सन्दर्भमा उक्त सुझाव दिईएको हो ।

विद्यालयहरु पर्यावरणीय रुपमा स्वच्छ र हरीयाली युक्त वातावरणमा हुने पर्ने मूल मर्र्म सहित गिरिराजमणि पोखरेल शिक्षा मन्त्री भएका बेला सरकारले हरित विद्यालय सम्बन्धी कार्यविधि २०७५ जारी गरेको थियो । 

वन्यजन्तु संरक्षण संघ (डब्ल्युसीएन) र कारखाना समूहको आयोजनामा भएको  कार्यक्रममा सहभागी वक्ताहरूले उक्त सुझाव दिएका हुन् । विद्यार्थी र आम जनसमुदायमा वातावरणमैत्री व्यवहार विकास, शैक्षिक संस्था तथा वरपरका क्षेत्रमा हरियाली विस्तार, पारिस्थितिक सन्तुलन कायम गर्दै भावी पुस्तालाई स्वच्छ एवं हरित पृथ्वी हस्तान्तरण गर्नु आजको प्रमुख आवश्यकता भएको उनीहरुको भनाई छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका ०७५ जारी गरी शैक्षिक सत्र २०७५ देखि ‘एक विद्यालय, एक बगैचा तथा बृहत् हरित क्षेत्र निर्माण कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । निर्देशिका अनुसार विद्यालयको परिसर वा सेवा क्षेत्रभित्र रहेको खाली, सार्वजनिक वा बुट्यान क्षेत्रलाई विद्यालय र समुदायको एकीकृत योजना तथा सहकार्यमा वृक्षारोपण गरी विकास गरिएको हरियालीयुक्त क्षेत्रलाई हरित विद्यालयका रूपमा परिभाषित गरिएको छ । त्यसको कार्यान्वयनमा देखिएको समस्यालाई निराकरण गर्न संघले प्रयास गरिरहेको निर्देशक तथा वातावरणविद् सञ्जिवनी योञ्जन श्रेष्ठले बताईन् । 

वातावरण शिक्षामात्र नभएर अन्य विषय र क्षेत्रको अध्यापन सहज र सरल नभएको उल्लेख गर्दै उनले हरित विद्यालय बनाउने काममा शिक्षक, विद्यार्थी, अभिभावक, प्रधानाध्यापक, विव्यसका साथै स्थानीय तहको सरकारको पनि भूमिका रहने बताइन् । 

‘बालबालिका र प्रकृतिबीच दूरी बढेको छ । यसले बालबालिकामा शारीरिक, मानसिक स्वास्थ्य समस्या देखिएको छ । बालबालिकामा पर्यावरणीय चेतनाको कमी भएको छ’ उनले भनिन्, ‘यति सम्मकी कतिपय बालबालिकाहरूमा बायोफोबिया समेत देखिन थालेको छ ।’

कार्यक्रममा संघका कार्यक्रम अधिकृत सुवास खरेलले हाल विद्यार्थीमा देखिँदै आएको मानसिक, शारीरिक तथा संवेगात्मक समस्या, बढ्दो डिजिटल लत, कमजोर बन्दै गएको सामाजिकीकरण र पर्यावरणीय चेतनाको अभाव जस्ता चुनौतीलाई सम्बोधन गर्न हरित विद्यालय अवधारणा अत्यन्त सहयोगी हुने बताए । साथै, जलवायु परिवर्तनका बढ्दो असरहरूसँग जुध्न आवश्यक व्यवहारिक सीप विकास मा पनि यसले योगदान पुर्याउने उल्लेख गरे ।

हरित विद्यालय अवधारणा अनुसार विद्यालयहरूले आफ्नो आवश्यकता, चाहना र क्षमताका आधारमा विभिन्न क्रियाकलाप सञ्चालन गर्न सक्ने निर्देशिकामा उल्लेख छ । यसमा नवीकरणीय प्राकृतिक स्रोतको प्रयोग, सौर्य ऊर्जा लगायत वैकल्पिक ऊर्जाको उपयोग, वर्षाको पानी संकलन र प्रयोग, करेसाबारी तथा बगैचामा रासायनिक मल र विषादीको सट्टा जैविक विधि, तथा फोहोर न्यूनिकरण, पुनःप्रयोग र पुनःचक्रण प्रणालीको विकास समावेश भए पनि अधिकांश विद्यालयले हरित विद्यालयको अवधारणालाई प्राथमिकता नदिएको सरोकारवालाको ठहर छ ।

निर्देशिकामा विद्यालय परिसरमा बाल उद्यान, करेसाबारी, फूलबारी, जैविक घेराबार निर्माण गरी तिनलाई शिक्षण सिकाइको स्रोतका रूपमा प्रयोग गर्नुपर्ने तथा शिक्षक, विद्यार्थी र अभिभावकको सहभागितामा हरित क्लब गठन गरी हरित विद्यालय निर्माणमा प्रोत्साहन गर्नुपर्ने भए पनि हरित विद्यालय कार्यक्रम राजनीतिको छायामा परेकामा कार्यक्रममा चिन्ता समेत व्यक्त गरियो ।

कारखाना समूहका कार्यक्रम व्यवस्थापक मोहन बुर्जा मगरले हरित विद्यालय निर्माणका लागि समूहले कर्णाली र मधेश प्रदेशका विद्यालयमा काम गरिरहेको जानकारी दिए । विद्यार्थीमा उद्यमशीलता विकास, सीपमूलक शिक्षा मार्फत रोजगारीसँग जोडिने सम्भावना समेत हरित विद्यालय विस्तार गर्ने अपेक्षा गरिएको छ । कारखाना समूहका कार्यक्रम व्यवस्थापक बुर्जा मगरले हरित विद्यालय अवधारणाले विद्यार्थीमा उद्यमशीलता विकास, सीपमूलक शिक्षामार्फत रोजगारीसँग जोडिने सम्भावना समेत बढाउने उल्लेख गरे ।

डब्ल्युसीएन (वल्र्ड कन्जरभेशन नेपाल) ले हरित विद्यालय प्रवद्र्धनका लागि सम्बन्धित सरोकारवाला निकायसँग वकालत, नीति निर्माणमा सहयोग तथा कार्यक्रमगत सहकार्य गर्दै आएको जानकारी गराएको छ । हरित विद्यालय अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुर्याउने उद्देश्यले तयार गरिएको हरित विद्यालय स्रोत पुस्तिका नेपाल भरका विद्यालयका लागि उपयोगी मार्गदर्शक हुने आयोजकको दावी छ ।

यसले  जलवायु परिवर्तनका असरहरूसँग जुध्ने व्यवहारिक सीप विकास गर्ने, प्रकृतिसँगको सम्बन्ध बलियो बनाउने, स्वस्थ जीवनशैली र सामूहिक गतिविधि तर्फ प्रेरित गर्ने उद्देश्य राख्ने सरोकारवालाहरूको भनाइ छ ।  

हरित विद्यालयले विद्यालयको बाहिरी मात्र नभई शैक्षिक वातावरणलाई समेत रमणीय, जीवन्त र सिकाइ मैत्री बनाउने हुँदा शिक्षा क्षेत्रमा दिगोपन, व्यवहारिक सिकाइ र विद्यार्थीको सर्वाङ्गीण विकासका लागि हरित विद्यालय अवधारणालाई पाठ्यक्रममै समावेश गर्नु अपरिहार्य भइसकेको सरोकारवालाहरूको निष्कर्ष छ ।

प्रतिक्रिया