Edukhabar
बुधबार, १३ साउन २०८३
गतिविधि

बालबालिकाको आधारभूत सिकाइ अवस्था चिन्ताजनक

विद्यालय भर्ना हुनु मात्र पर्याप्त हुदैँन, विद्यालयमा सिकाइको सुनिश्चितता हुनुपर्छ भन्ने अध्ययनको निष्कर्श

बुधबार, १३ साउन २०८३

काठमाडौ - नेपालका ५ देखि १६ वर्ष उमेर समूहका बालबालिकाको आधारभूत सिकाइ स्तर निकै चिन्ताजनक रहेको एक अध्ययनले निष्कर्श निकालेको छ । गणित र पढाइ (साक्षरता) को अवस्था मापन गर्ने उद्देश्यले तीन हजार आठ सय २० घरधुरीका उक्त उमेर समूहका चार हजार छ सय ९४ बालबालिकामा सञ्चालन गरिएको अनुुसन्धान (International Common Assessement of Numeracy-ICAN and Reading –ICARE) ले उक्त तथ्य सार्वजनिक गरेको हो । 

बुधबार सार्वजनिक अध्ययन प्रतिवेदनले विशेषगरी विद्यालयको पहुँच र भर्ना दरमा वृद्धि भए पनि कक्षाकोठा भित्र बालबालिकाको वास्तविक सिकाइस्तर कमजोर रहेको र भाषा तथा भूगोलका आधारमा गम्भीर असमानताहरू विद्यमान रहेको औंल्याएको छ । प्रतिवेदनले अन्तर्राष्ट्रिय तुलना र नेपालको शैक्षिक यथार्थलाई प्रतिबिम्बित गर्न उक्त उमेर समूहका बालबालिकामा अध्ययन गरेको थियो । दिगो विकास लक्ष्यको सूचक 4.1.1 (a)  अनुसार १० वर्षको उमेर र कक्षा ४ मा अध्ययन गर्ने बालबालिकालाई मुख्य आधार मानेर अध्ययन गरिएको हो । 

युुनेस्कोले निर्धारण गरेको न्यूनतम सिकाइस्तर (Minimum Proficiency Level-MPL) का आधारमा उमेर र कक्षा अनुसार विश्लेषण गरिएको तथ्याकं अनुसार १० वर्षका बालबालिका मध्ये ६० दशमलब ७८ प्रतिशतले मात्र गणितमा न्यूनतम दक्षता हासिल गरेका छन् । पढाइको क्षेत्रमा भने यो अवस्था झनै कमजोर छ । जहाँ ४० दशमलब २० प्रतिशतले न्यूनतम दक्षता हासिल गरेका छन् । गणित र पढाइ दुबै विषयमा न्यूनतम दक्षता हासिल गर्ने १० वर्षका बालबालिकाको संख्या केवल ३४ दशमलब ३५ प्रतिशत रहेको छ । कक्षा ४ मा अध्ययनरत बालबालिका मध्ये गणितमा ५४ दशमलब ८ प्रतिशत र पढाइमा ३५ दशमलब १३ प्रतिशतले मात्र न्यूनतम दक्षता हासिल गरेका छन् । दुवै विषयमा न्यूनतम दक्षता हासिल गर्ने कक्षा ४ का विद्यार्थी २८ दशमलब ४० प्रतिशत छन् । समग्रमा, पढाइ भन्दा गणितमा बालबालिकाको नतिजा तुलनात्मक रूपमा राम्रो देखिएको छ ।

पहुँचले मात्रै सिकाइको सुनिश्चितता नगर्ने प्रतिवेदनको निष्कर्श छ । त्यसो त, अध्ययन प्रतिबेदन अनुसार विद्यालय भर्ना भएका बालबालिकाहरूले भर्ना नभएकाहरू भन्दा राम्रो प्रदर्शन गरेका छन् । तर, विद्यालय भर्ना भएकामध्ये पनि जम्मा ३६ दशमलब ८४ प्रतिशतले मात्र दुबै विषयमा न्यूनतम दक्षता हासिल गरेका छन् । जसमा गणितमा ५६ दशमलब १ प्रतिशत र पढाइमा ४१ दशमलब २ प्रतिशत उत्तीर्ण छन् । यसले विद्यालय जाँदैमा सिकाइ हुन्छ भन्ने निश्चित नहुने कुरालाई स्पष्ट पारेको छ ।

घरमा नेपाली भाषा नबोल्ने बालबालिकाहरू न्यूनतम दक्षता हासिल गर्नबाट निकै पछाडि परेका छन् । विशेषगरी पढाइमा यस्तो समस्या बढी देखिएको छ, जसले प्रारम्भिक सिकाइमा भाषिक अवरोध मुख्य कारक रहेको औंल्याएको छ । ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रका बालबालिकाको सिकाइ स्तर केही राम्रो पाइएको छ । त्यस्तै, लैङ्गिक रूपमा हेर्दा छात्रहरू गणितमा थोरै अगाडि छन् भने छात्राहरू पढाइमा सीमान्त रूपले अगाडि देखिएका छन् । यद्यपि समग्र दक्षता स्तर भने उस्तै छ ।

यो प्रतिवेदनले नेपालको आधारभूत सिकाइलाई बलियो बनाउन केही महत्वपूर्ण सुझावहरू अघि सारेको छ । पढाइमा देखिएको निरन्तर कमजोरीलाई मध्यनजर गर्दै प्रारम्भिक कक्षाको साक्षरतालाई उच्च प्राथमिकतामा राख्नु पर्ने, सिकाइमा पछि पर्ने क्रमलाई रोक्न प्रारम्भिक वर्षहरूमा नै सिकाइलाई तीव्रता दिनु पर्ने, बहुभाषिक र भाषा संवेदनशील दृष्टिकोणहरू अपनाएर बालबालिकाले भोगिरहेका भाषिक अवरोधहरूलाई सम्बोधन गर्नु पर्ने प्रतिवेदनको सुझाव छ । यसैगरी केवल विद्यालय भर्नामा मात्र नभई विद्यार्थीको वास्तविक सिकाइमा ध्यान केन्द्रित गर्नु पर्ने अध्ययनको सुझाव छ । 

ग्रामीण क्षेत्रका र गैर नेपाली भाषी बालबालिकालाई लक्षित गरी विशेष कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने प्रतिवेदनको सुझाव छ । शिक्षामा पहुँच विस्तार भए पनि बालबालिकालाई सही समयमा आवश्यक साक्षरता र गणितीय सीप प्रदान गर्नु नै नेपालको शिक्षा प्रणालीको सबैभन्दा गम्भीर चुनौती रहेको प्रतिवेदनको निष्कर्ष छ । संवेदनशील र बहुभाषिक शिक्षण नीतिलाई कक्षाकोठा तहसम्मै अनिवार्य र प्रभावकारी बनाउनुपर्ने, विद्यालयको पहुँच र भर्ना दर बढाउने नीतिभन्दा माथि उठेर विद्यार्थीको वास्तविक सिकाइ सुनिश्चित गर्ने संयन्त्रहरूको विकास गर्नुपर्ने प्रतिवेदनको निष्कर्ष छ ।

दक्षिण एसियाका नेपाल, बंगलादेश र पकिस्तान सहित १२ देशका १६ भाषामा गरिने यो अध्ययन नेपालमा काठमाडौ विश्वविद्यालय स्कुल अफ एजुुकेसन, असर नेपाल र पिपुल एक्सन फर लर्निङले संयुक्त रुपमा गरेका हुन् ।   

अध्ययनको नमूनामा परेका घरधुुरीमा गएर एक एकजना विद्यार्थीमा गरिएको उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्रा.डा. जयराज अवस्थीले सिकाइका लागि सबै भन्दा महत्वपूर्ण पक्ष पाठ्यक्रम र शिक्षण सिकाइको विधि भएपनि शिक्षक सक्षम र गम्भिर नभए सम्म सिकाइ सक्षमता वृद्धि नहुने बताए । यसका लागि सरकार, शिक्षामा काम गर्ने संघ संस्था सहितका सरोकारवालाहरुले आआफ्ना क्षेत्रबाट कार्य गर्नु पर्ने उनले बताए ।

काठमाडौ विश्वविद्यालय शिक्षा शास्त्र संकायका डीन प्रा.डा. बालचन्द्र लुईटेलले प्रारम्भिक शिक्षा क्षेत्रमा सबै भन्दा धेरै लगानी नगरे सम्म बालबालिकाको सिकाइ सक्षमता बढोत्तरी नहुने दावी गरे । प्रारम्भिक बाल विकासमा विना लगानी गरिने आर्थिक समृद्धीको कुरा कोरा हुने उनको निष्कर्श छ ।

विश्वविद्यालयका सहायक डीन डा. विनोद पन्तले सानो कक्षाको सिकाइ सुधार नगरी एकै पटक कक्षा १० को अन्तिम नतिजामा भएको वृद्धिदर हेरेर खुसी हुनुको अर्थ नभएको उल्लेख गरे । सानो कक्षा देखि नै सिकाइ कमजोर भएको तथ्यलाई आत्मसात गरेर सुधारमा केन्द्रित नभए सम्म बालकालिकाको सिकाइ सक्षमताको अवस्था सुधार नहुने उनको निष्कर्श छ । 

प्रतिवेदन माथि टिप्पणी गर्दै विश्वविद्यालयका विद्यावारिधि फेलो देवीराम आचार्यले बालबालिकाको सिकाइ सुधारका लागि गर्नु पर्ने काम नभएको बारे प्रतिवेदनले छर्लङ चित्र देखाएको उल्लेख गरे । साना कक्षामा सुधार नगरी एकैपटक कक्षा १० वा १२ को अन्तिम नतिजाको तथ्याङ्क हेरेर मात्र शैक्षिक सुधारका विषयमा वहस गर्नुको औचित्य नभएको उनको भनाई छ । सिकाइलाई प्रभाव पार्ने तत्व सयौं हुन सक्ने, तर कुन तत्वको प्रभाव बढी छ र त्यो तत्वको प्रभाव कसरी कम गर्न सकिन्छ भन्नेमा विद्यालयले विशेष ध्यान दिनु पर्ने उनले बताए ।  

कार्यक्रममा शैक्षिक गुणस्तर परीक्षण केन्द्रका महानिर्देशक जयराम अधिकारी, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले सिकाइ सुधारका लागि राज्यका तर्फबाट भईरहेका कामका बारेमा चर्चा गरे । असर नेपालका राजिव तिमिल्सिना र गुञ्जन झाले अध्ययनको चरण र प्रतिवेदन तयारी सम्मका प्रकृयाका बारेमा चर्चा गरेका थिए । कमजोर नतिजालाई आधार बनाई सुधारका कार्यक्रम तय गर्नेबारेमा कार्यक्रमका अन्य वक्ता र सहभागीले जोड दिएका छन् ।  

प्रतिक्रिया