Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तर्वार्ता

नेताको पछि लागेर र विद्यार्थीलाई पढ्न नदिएर नेता भईँदैन : अखिलका पूर्व अध्यक्ष अधिकारी

विहीबार, २८ माघ २०७२

विद्यार्थी राजनीति शैक्षिक मुद्धा र शैक्षिक सुधारमा केन्द्रित हुनु पर्नेमा दलगत राजनीतिक गतिविधिमा केन्द्रित हुँदै गएको भन्दै आलोचना गरिन्छ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २२ औं महाधिवेशनको सन्दर्भमा अखिलका पूर्व अध्यक्ष (२०५६–०५८, १५ औं अध्यक्ष) रविन्द्र अधिकारीसंग विष्णु विवेकले गरेको कुराकानी :

- विद्यार्थी राजनीति पहिले र अहिलेमा कति फरक छ ?

विद्यार्थी राजनीति पहिला जुन किसिमको मर्यादा, एजेण्डा, विद्यार्थीको हक र हितका लागी हुने गथ्र्यो, अहिले त्यो छैन । क्याम्पसमा तोडफोड, झडप, कुटपिटमा विद्यार्थी राजनीति गएको छ । आफ्नै संगठन बिचमा पनि गुट उपगुटले यसलाई थप डरलाग्दो बनाएको छ । आफ्ना माग पुरा गर्नैका लागि पहिला चरणबद्ध रुपमा विद्यालय तथा क्याम्पस प्रमुखहरुसंग गम्भिर छलफल र बहस हुने गथ्र्यो । तर अहिले सिधै तालाबन्दी कक्षाकोठामा शिक्षकलाई पढाउन नदिएर माग सम्बोधन गर्न लगाइन्छ । यो पटक्कै पनि विद्यार्थीको हक र हितमा छैन । यसले विद्यार्थीको अहिलेको राजनीतिमा गम्भिर चिन्ता ल्याएको छ ।

- मर्यादा र एजेण्डाको कुरा गर्नुभो । आफुले चाहेको जस्तो भएन भने  विद्यार्थीलाई क्याम्पसमा राजनीतिका नाममा तोडफोड तालाबन्दी गर्न केन्द्रिय नेताहरुले नै उक्साउँछन् भन्ने आरोप छ । तपाई त अहिले पार्टिको नेता सांसद पनि हुनुहुन्छ पार्टीहरुले नै विद्यार्थीलाई यस्ता कुरामा प्रेरित गरिरहेको लाग्दैन ?

हो । केही हदसम्म त्यो होला । तर सबै क्याम्पसमा केन्द्रिय नेताहरुकै निर्देशन र बोलवाला चल्छ र तालाबन्दी एवंम तोडफोड हुन्छ भन्नेमा म सहमत छैन । तर समग्र रुपमा राजनीतिक पार्टीका विद्यार्थी भातृ संगठनका रुपमा स्थापित विद्यार्थी संघ सगंठनहरुलाई पार्टीले व्यवस्थापन र सही परिचालन गर्न नसक्नु कमजोरी हो । पार्टीको एजेण्डा र विद्यार्थी संघ संगठनले उठाएको एजेण्डा एउटै हुने भए पनि यहाँ न पार्टीले शिक्षाको एजेण्डा लागु गर्छ न त विद्यार्थीले नै आफ्ना एजेण्डा स्थापित गर्छन् । त्यसैले अहिलेको शिक्षालाई व्यवसायिक र गुणस्तरीय बनाउन नसक्नुमा कहीँ न कहीँ राजनीतिक पार्टीहरु नै चुकेका छन् ।

- विद्यालय वा क्याम्पसमा पढ्न छाडेर नेताका पछि लाग्ने विद्यार्थी राजनीतिको गलत प्रवृत्तिले नै शिक्षाको गुणस्तर विगारेको हो पनि भन्छन् नि ?

एउटा सत्य यो पनि हो । विद्यार्थीले पहिलो कुरा आफुले पढ्ने हो । अहिलेका विद्यार्थी नेताहरु क्याम्पसमा पढ्न भन्दा बढी हो हल्ला गर्न जान्छन् । फेरी सबै त्यस्ता छन् म भन्दिन । पहिलो कुरा विद्यार्थी नेताले नेताको पछि लाग्ने होइन । विद्यालय वा क्याम्पसमा के हुनुपर्ने के भएको छ ? के अपुग छ ? विद्यार्थीका समस्या के छन् ? त्यसलाई समाधान गर्न आफैले नेतृत्व गरेर विद्यालय प्रशासनसंग मिलेर त्यो आवश्यकता पुरा गर्न सक्नु पर्छ । तर यो अहिलेका विद्यार्थी नेतामा खासै पाइदैँन । यही विद्यार्थी राजनीतिको दुखद् पक्ष हो । पार्टी कार्यालय धाएर, नेताहरुको घर घर चहारेर विद्यार्थी नेताहरु आफुलाई संगठनको नेतृत्वमा स्थापित गर्ने शैली हाम्रो निकै विग्रिएको छ ।

अनि अर्को कुरा विद्यार्थीले अरुको प्रशिक्षण, भाषण र निर्देशन भन्दा पनि विषयवस्तुका बारेमा पर्याप्त ज्ञान आफैले राख्नुपर्छ । त्यो आफुले पढ्ने पाठ्यक्रम र बाहिरी पाठ्यपुस्तकको पनि । तर अहिलेका नेताहरुमा त्यो प्रवृति छैन । मुख्य गरी आफुले नपढ्ने र नपढेरै नेताका पछि मात्र लागेर जे मन लाग्यो त्यै गर्नाले अहिलेको विद्यार्थी राजनीति र विद्यार्थी नेताहरु केही हदसम्म विग्रिएकै हुन् । यसलाई सुधार्न जरुरी छ ।

- तपाई आफैं विद्यार्थी संगठनको अध्यक्ष भएको मान्छे, माग पुरा गर्ने नाममा विद्यालय वा क्याम्पसमा तालाबन्दी गर्ने, कक्षा कोठामा हो हल्ला गर्ने, तोडफोड गर्ने विद्यार्थीको पढ्ने वातावरण विगारिदिने जस्ता गलत कुराको शुरुवात त तपाईहरुले गर्नु भएको हैन र ? 

मैले नै शुरु गरेँ त म भन्दिन । मैले पोखरा क्याम्पस पढ्दा र काठमाडौंकै विभिन्न क्याम्पस पढ्दा पनि मैले तालाबन्दी र तोडफोड चाँही कहिल्यै गरिन । बरु विद्यालय र क्याम्पस प्रशासनलाई विद्यार्थीका समस्या समाधान गर्न दवावमुलक कामहरु गथ्र्यौ । तर जुन तोडफोड गर्ने, विद्यार्थीको पढ्ने वातावरण अलि धुमिल बनाउने प्रवृत्ति पहिल्यैका नेताहरुले शुरु गरेर नै अहिलेका विद्यार्थी नेताहरुले माग पुरा गराउन त्यसैलाई भरपर्दो विकल्प मानेको चाँही सत्य हो । तर यो गलत छ । पहिलो कुरा त राजनीतिक पार्टीहरुले ने त्यस किसिमका गतिविधि गर्न गराउन आफ्ना विद्यार्थी नेताहरुलाई रोक लगाउनु पर्यो ।

अर्को क्याम्पस प्रशासनले पनि विद्यार्थीका समस्या समयमै बुझेर समाधान गरिदिनु पर्छ । सुनेजस्तो गर्ने तर वास्तै नगर्ने प्रवृत्तिले पनि विद्यार्थी उग्र भएका हुन् । यसलाई क्याम्पस प्रशासन, विद्यार्थी नेता र राजनीतिक पार्टीहरुले पनि गम्भिर रुपमा लिनुपर्छ ।

- अहिलेको विद्यार्थी राजनीति शैक्षिक मुद्धा भन्दा पार्टीका एजेण्डा त्यसमा पनि विश्वविद्यालय, क्याम्पस र विद्यालयमा पदाधिकारी नियुक्त गर्दा गर्ने चलखेलमा केन्द्रित भईरहेको देखिन्छ । यसलाई कसरी समाधान गर्ने ?

शैक्षिक संस्थाहरुमा पदाधिकारी नियुक्त गर्दा राम्रा भन्दा पनि हाम्रा रोजिन्छ । पहिलो कुरा यही ठूलो समस्या छ । राजनीतिक भागबण्डा भनिने हाम्रालाई दिइने प्राथमिकता हटाउनु पर्छ । तर यो मैले एक्लैले भनेर हुदैन । मुख्यतः हाम्रालाई छाडेर राम्रालाई मात्रै नियुक्त गर्ने र काम गर्न दिने हो भने अहिलेको गलत विद्यार्थी राजनीति आफै सल्टिन्छ । पहिलो कुरा सबैले यसमा गम्भिर किसिमको छलफल गर्न जरुरी छ । दोश्रोमा पार्टीले राम्रा काम  भन्दा हाम्रा मान्छे भन्दै गलत गर्नेलाई पनि काखी च्याप्नु झन् दुखद् हो ।

यसले गर्दा समग्र नेपालको शैक्षिक क्षेत्रमा ठुलो दरार उत्पन्न गरेको छ । योग्यता र क्षमतालाई उचित स्थान नदिए सम्म हामी हाम्रो शिक्षालाई सुधार्न सक्दैनौँ । यसलाई सबैले गम्भिर ढंगले बुझ्न जरुरी छ । अर्को भनेको शैक्षिक संस्थामा राजनीति होइन, नयाँ निति र कार्यक्रम चाहिन्छ । सबैले आ आफ्नो विद्यालय वा क्याम्पसमा नयाँ नीति र कार्यक्रम ल्याए धेरै कुराको समाधान त्यसैबाट हुन्छ । 

- दैनिक १५ सय युवा कामको खोजिमा विदेशिन बाध्य छन् । हाम्रो शैक्षिक प्रणाली र यसमा गर्नु पर्ने सुधारका बारेमा यस्ता संगठनहरु कृयाशिल नहुँदा यो समस्या आएको जस्तो लाग्दैन ?

युवाहरु पर्याप्त अवसर नपाएर बाहिरिएका हुन् । यसमा पनि हामी राजनीतिक पार्टीका नेताहरु जिम्मेवार हुनुपर्छ । किनकी हामीले शिक्षा प्रणाली कस्तो अपनायौँ । विद्यार्थीलाई कसरी पढायौँ । उसले यही बसेर किन काम गर्न सकेन ? उनीहरुलाई कस्तो वातावरणको खाँचो छ ? यी सबै कुराको गहिरो अनुसन्धान र मुल्यांकन गर्न सबै पार्टीहरु चुकेका छन् । यो कुरालाई विशेष प्राथमिकता दिएर स्वदेशमा नै रोजगारीका अवसरहरु सिर्जना गर्नुपर्छ । त्यसका लागी शिक्षा प्रणाली प्रमाणपत्रमा होइन विद्यार्थीको क्षमता अभिबृद्धि गर्न सक्ने अपनाउनु पर्यो । त्यो भनेको विद्यार्थीलाई पढाएर मात्र होइन उसले पढेको कुराको प्रयोगात्मक परीक्षण र उपयोग गर्न सक्ने बनाउनु पर्यो । तर विद्यार्थीले जति गम्भिर भएर पढ्न पर्ने हो त्यसरी नपढिदिने अनि शिक्षकले पनि त्यसरी विद्यार्थीलाई नपढाईदिनाले समस्या बल्झिएको छ । यसलाई सबै मिलेर समाधान गर्नुपर्छ । यो कुनै दल विशेषको अथवा मेरो मात्र होइन् हामी सबैको भनेर लाग्नुपर्छ ।

- विद्यार्थी राजनीतिलाई सुधार गर्न र शैक्षिक क्षेत्रको गुणस्तर सुधार तथा विकास गर्न के गर्नुपर्ला ?

विद्यार्थी राजनीतिलाई पद र पार्टीभन्दा पनि विद्यार्थीमुखी बनाउनुपर्यो । यसमा विद्यार्थी नेताहरुले ध्यान दिए भने यो कुराको समाधान हुन्छ । अर्को शैक्षिक क्षेत्रको गुणस्तर सुधारका लागी शिक्षाका नीतिलाई कडाईका साथ लागु गर्नुपर्यो । शैक्षिक क्षेत्रमा नियुक्ती गर्ने पदाधिकारीहरु हाम्रा भन्दा राम्रा र क्षमतावान नै हुनुपर्ने पद्धति बसाल्नुपर्यो । अर्को महत्वपूर्ण कुरा भनेको विद्यार्थी आफैले पनि राम्रोसंग पढ्नुपर्यो । कोही कसैको पछि नलागेर, सबै कुराको अध्ययन गरेर अगाडी बढ्यो भने  नेपालमै धेरै गर्न सकिन्छ । विदेश गएर हुदैन ।

विदेशमा गएर पनि नेपाली विद्यार्थीले नाम त चलाएकै छन् नि । त्यसैले विद्यार्थीले सही गलत के हो ? त्यो आफैले छुट्याउनुपर्छ । अनि शैक्षिक क्षेत्रका सबै सरोकारवालाहरु पनि जिम्मेवार हुनुपर्छ । अहिले आफ्नो काम र जिम्मेवारी भन्दा पनि पार्टीको मान्छे बन्ने प्रवृत्ति छ । यसलाई सुधार गरेर जाने हो भने पढ्न नेपालीहरु विदेश जाने होइन यति सुन्दर सबै कुराको धनी हाम्रो देश नेपालमा विदेशी विद्यार्थीहरु ल्याउन सकिन्छ ।

यो पनि पढ्नुहोस् :

विचार र विवेक छाड्दै अखिल

प्रकाशित मिति २०७२ माघ २८ गते

प्रतिक्रिया