Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचियो

शनिबार, २२ फागुन २०७२

काठमाडौँ, २२ फागुन । शिक्षकको कुटाइबाट ललितपुर कालेश्वरको बागभैरव उच्च माध्यमिक विद्यालयका आठ कक्षाका ६ विद्यार्थी घाइते भएका छन् ।  माध्यमिक तहका सामाजिक विषयका शिक्षक उपेन्द्र घिमिरेले पाइपले हिर्काउदा सात जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी बृत चापागाउका प्रहरी नायव उपरिक्षक गोविन्द अचार्यले शिक्षकको कुटाईबाट घाइते भएका विद्यार्थीको पाटन अस्पतालमा उपचार भइरहेको बताए ।  विद्यार्थीलाई सजाय दिने शिक्षकलाई पक्राउ गर्न टोली परिचालन भइसकेको उनले बताए । ‘शिक्षकको कुटाइबाट एक जनाको हात भाँचिएको खबर आएको छ,’उनले भने । 

शिक्षकको कुटाइबाट रुपेश दाहाल, दीपक दाहाल, सुमन सिंतान, कुलचन्द्र गौतम, दिपेन्द्र दुलाल, उत्तम दाहाल घाइते भएको भएको कालेश्वरका स्थानीयबासी एवं रुपेशका काका माधवप्रसाद दाहालले बताए । सबैको जिउभरी निलडाम छ ।  शुक्रबार बिहान साढे दशदेखि साढे १२ बजेसम्म पाइपले विद्यार्थीलाई कुटेको स्थानीय गोविन्द दाहालले बताए । 

बिहीबार अन्तिम पिरियडमा सबै जना एकै पटक शौचालय गएको भन्दै विद्यार्थीलाई कुटेको उनले बताए । ‘एकैपटक शौचालय गएको कुटेपनि जाँडरक्सी, भाङ, चुरोट खाएको कागज बनाएर विद्यार्थी कुटेका हुन्,’गोविन्दले टेलिफोनमा भने, ‘विद्यार्थीलाई मरणासन्न हुने गरी कुट्दा पनि अरु शिक्षक हेरिबसेका थिए ।’ 

ललितपुरका शिक्षा अधिकारी दिलनाथ पुरीले विद्यार्थीलाई सजाय दिने शिक्षकलाई घटनाको प्रकृति हेरेर कारबाही हुने बताए । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया