Edukhabar
सोमबार, २४ बैशाख २०८१
खबर/फिचर

शिक्षा मन्त्रालयबारे शिर्ष नेताहरुको निर्णय, पौडेल नै शिक्षा मन्त्री

विहीबार, ०९ भदौ २०७३

- श्रीधर पौडेल / काठमाडौं - शिक्षा मन्त्रालय माओवादी केन्द्रकै भागमा राख्न सत्ता साझेदार दुई दलका शिर्ष नेताहरु पुनः सहमत भएका छन् । केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवा बिच यस्तो सहमती भएको हो । बिहीबारको यो सहमतीसंगै विना विभागीय मन्त्री डीआर पौडेल शिक्षा मन्त्री हुने बाटो खुलेको छ ।

'यस अघिकै सहमती अनुसार शिक्षा मन्त्रालय आफूहरुलाई छाडेर अरु मन्त्रीको नाम सिफारिस गर्न प्रधानमन्त्रीले भन्नु भएको छ' प्रधानमन्त्री निकट श्रोतले भन्यो, 'यस अघिनै हाम्रो भागमा परेको शिक्षा मन्त्रालयमा मन्त्री चयन गरेर पनि काँग्रेसका कारण रोकिएको थियो, संभवत शुक्रवार पद बहाली हुन्छ ।' 

सत्ता साझेदारीकै बेला भएको सहमती अनुसार शिक्षा मन्त्रालय माओवादीको भागमा परेको थियो ।

पढ्नुहोस् : नयाँ शिक्षा मन्त्री पौडेल, मन्त्री चयन ढिलो हुनुका भित्रि कुरा

प्रधानमन्त्री भएको १० दिन पछि गत साउन ३० गते भएको तेश्रो पटकको मन्त्रीमण्डल विस्तारमा माओवादीले पौडेललाई शिक्षा मन्त्रीका रुपमा चयन गरेको थियो । तर, काँग्रेस भित्रको किचलोले पौडेलले विना विभागीय मन्त्रीका रुपमा सपथ खाएका थिए ।

प्रधानमन्त्री चयनकै दिन साउन २० गते सपथको तयारी भएर पनि 'सम्मानजनक सहभागिता' नपाएको भन्दै नगएका काँग्रेस नेता अर्जुन नरसिंह केसीको नाम शिक्षा मन्त्रीका रुपमा चर्चामा आएको थियो ।
तर, दुई नेता विचको बिहीबारको बैठकले त्यो अन्यौल हटाएको छ ।

आफ्नो दल भित्रका विभिन्न गुटलाई मिलाउन नसक्दा देउवाले मन्त्रीको नामावली बुझाउन ढिलो भएको हो । पौडेल पक्षलाई ५ जना मन्त्री दिने आन्तरिक सहमती गरेसँगै सरकारले पूर्णता पाउने भएको हो । पौडेल पक्षबाट सितादेवी यादव, नविन्द्रराज जोशी, दिपक गिरी, हृदयराम थानी र रोमी गौचन थकाली मन्त्री हुने भएका छन् ।

देउवा पक्षबाट केसी सहित प्रकाशशरण महत, बालकृष्ण खाँड र जीवनबहादुर शाही मन्त्री हुने पक्का भएको छ । बाँकी एक जनाको निर्णय हुन नसकेको श्रोतले जनाएको छ । १३ मन्त्रालय पाएको कांग्रेसका तर्फबाट विमलेन्द्र निधि र रमेश लेखक सहभागी भइसकेका छन् । 

काँग्रेसले नाम पठाएको खण्डमा सार्वजनिक विदा भएपनि बिहीबार नै सपथ गर्ने प्रधानमन्त्री कार्यालयको तयारी थियो । तर काँग्रेसबाट नाम नआएका कारण रोकियो ।

काँग्रेस सभापति देउवा मन्त्रीको सपथ सकेर शुक्रबार नै उपचारका लागि विदेश जाने कार्यक्रम तय भईसकेको छ ।

प्रकाशित मिति २०७३ भदौ ९ गते

प्रतिक्रिया